सुरक्षा कोष कार्यान्वयनमा समस्या

फिचर मुख्य खबर समाज

तुलसीपुर, ३० असोज । सामाजिक सुरक्षा कोष योजना कार्यान्वयन गर्न नसकिने दाङका निजी विद्यालय सञ्चालकहरूले बताएका छन् । सरकारको नीति अनुसार निजी विद्यालयले आर्थिक भार खेप्न नसक्ने भन्दै उनीहरूले सरकारले १० प्रतिशत सहयोग गर्नुपर्ने बताएका छन् । अधिकांश निजी विद्यालयले न्यूनतम शुल्कमा अध्यापन गराइरहेको भन्दै सरकारले १० प्रतिशत उपलब्ध नगराउँदासम्म सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न नसकिने बताए ।
कोषको नीति अनुसार रोजगारदाताले २० प्रतिशत र स्वयम् रोजगारीमा संलग्न व्यक्तिले ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ।
निजी विद्यालयको छाता संगठन नेशनल प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले काठमाडौँका केही विद्यालयबाहेक अन्य ग्रामीण भेगका निजी विद्यालयले कोष कार्यान्वयन गर्न नसक्ने बताए । ‘कोष कार्यान्वयन गर्नका लागि सरकारको पनि सहयोग हुन आवश्यक छ’, उनले भने ‘अहिलेको स्थितिमा निजी विद्यालय बन्द गर्नुको विकल्प छैन् ।’
सामाजिक सुरक्षा कोष कार्यान्वयन र निजी विद्यालयमा पार्ने प्रभावबारे बुधबार तुलसीपुरमा भएको अन्तरक्रियामा निवर्तमान अध्यक्ष शाहीले आगामी शैक्षिक सत्रसम्म कार्यान्वयन अवस्था नरहेको बताए । ‘आगामी वर्षमा शैक्षिक शुल्क बढाउन सकिन्छ’ उनले भने ‘तर त्यो असम्भव छ ।’
नेशनल प्याब्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको अन्तरक्रियामा नेशनल प्याब्सनका प्रदेश नम्बर ५ प्रमुख सुवोध कुमार डाँगीले सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा निजी विद्यालयमात्र नभई निजीस्तरका सम्पूर्ण उद्योग, व्यवसायलाई समस्या रहेको बताए । ‘श्रमिक र रोजगादातालाई मात्र कोषमा राखेर सरकार अलग हुन खोजेको छ’, उनले भने– ‘कोष कार्यान्वयन गर्न सरकारले पनि सहयोग गर्नुपर्छ ।’
त्यस्तै केन्द्रीय सदस्य प्रकाश शर्मा, प्रदेश सदस्य नरेश आचार्य, टोपेन्द्र खनाललगायतले कोष कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक अनिवार्यता भएका भएकाले अहिलेको शुल्कले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न नसकिने बताए । यसैबीच निजी विद्यालयमा गुणस्तरीय शिक्षाका लागि एकदिने गोष्ठी बुधबार तुलसीपुरमा भएको छ । गोष्ठीमा प्रयोगात्मक शिक्षण शैलीका माध्यमबाट मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिनेमा जोड दिइएको छ ।
नेशनल प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले गुणस्तरीय शिक्षाका लागि प्रयोगात्मक शैली अपनाउनुपर्नेमा निजी विद्यालयका सञ्चालकलाई आग्रह गरेका छन् । निजी विद्यालयका सञ्चालकहरुलाई प्रशिक्षण दिँदै शाहीले अब सैद्धान्तिक शैलीबाट मात्रै शिक्षाका गुणस्तरीयता हासिल गर्न नसकिने बताए । कार्यक्रमको सहजीकरण सचिव ठाकुर डाँगीले गरेको जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *