सुपादेउराली पर्यटनको गन्तब्य

विचार

के.बि. मसाल

फुर्सदको समयमा अहिले जो कोही पनि विभिन्न जिल्लामा रहेका धार्मिक एवं प्राकृतिक सम्पदाको भ्रमणमा जाने सोंचको विकास हुन थालेको छ । यसरी हामीबीचमा निस्किएको सोंचलाई राम्रो मान्नु पर्दछ । एउटा जिल्लाको मानिस अर्को कुनै जिल्लामा ग्रामीण पर्यटन बनेर भ्रमणमा निस्कियो भने ऊ पुगेको जिल्लाबाट धेरै कुरा आफ्नो गाउँ ठाउँको विकासको लागि सिक्न सक्दछ ।
अर्घाखाँचीको नरपानी ग्रामीण पर्यटन क्षेत्रले मसिनाको लेक, सुपादेउराली मन्दिर, नृत्याञ्चल पर्वत, सितापुर, खाँचीकोट मन्दिरलगायतका ग्रामीण पर्यटकीय, ऐतिहासिक तथा धार्मिक क्षेत्र पर्दछ । नरपानी ग्रामीण पर्यटनस्थल ठाडा गोरुसिंगेदेखि ३५ किलोमीटरउत्तरको दूरीमा रहेको छ । गोरुसिंगेदेखि बस, जीप, मोटरसाइकलबाट एक घण्टाको समयमा ठाडा पुग्न सकिन्छ । पत्थरकोटबाट पहाडी उकालो सडक रमणीय वातावरणको दृष्य हेर्दै १७ किलोमीटर यात्रा गरेपछि चाक्ला भन्ने एक व्यापारिक केन्द्र आउँछ । त्यसपछि करिब चार किलोमीटरको दुरीमा नरपानी पर्यटन क्षेत्रको रमणीय ठाडा दहमा पुग्न सकिन्छ । ठाडा दहलाई डमरु दह नामले समेत चिनिन्छ । सडकको छेउँमै रहेको ठाडाको दह समुन्द्र सतहदेखि १३०० मीटर उचाईमा रहेको छ । ठाडाबाट बिहानको समयमा रमणीय हिमालको समेत अवलोकन गर्न सकिन्छ । सामान्य खान बस्नको लागि होटलहरुको समेत सुविधा रहेको ठाडा अर्घाखाचीको दक्षिण क्षेत्रको व्यापारिक केन्द्र पनि हो ।
ठाडाबाट करिब चार किलोमीटरको दूरीमा अर्को सानो व्यापारिक केन्द्र सीतापुर रहेको छ । सीताले धेरै पटक विहार, भ्रमण गरेकाले यस ठाउँका नाम सीतापुर रहन गएको हो । यसको नजिकमा रहेको रावणको शंख, सीताको चुलो, मरवाकोट पानी ऐतिहासिक महङ्खव छ । यसको दक्षिणमा वाणगंगाको उद्गम स्थल रहेको छ । यसस्थलबाट दक्षिणी सीमा कपिलवस्तुसँग जोडिएको छ । यो स्थल लुम्बिनीबाट गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा प्रवेश गर्ने द्वारका रुपमा रहेको छ । सुपादेउराली मन्दिरको नजिकै विशाल चौरसहितको नरपानीको पहाड रहेको छ । नरपानीबाट तराई तथा हिमाल अवलोकन गर्न सकिन्छ । नरपानीमा पानीको सुविधा, खुल्ला मैदान, यातायातको राम्रो सुविधा, शितल हावापानीको साथै होटल तथा अन्य पसलहरुको समेत राम्रो सुविधा भएकाले गर्मी मौसममा वनभोजका लागि धेरै मानिसहरु पुग्ने गर्दछन् । सुपादेउराली नजिक मसिनाको लेक रहेको छ । अर्घाखाचीको सबैभन्दा अग्लो यो लेक २५१५ मीटर उचाईमा पर्दछ । यो लेकको काखमा सेङलेङको दह छ । धन्चौरमा पर्ने यो दह वरपरबाट जिल्लाको धेरै भू–भाग र प्राकृतिक मनोरम दृश्य देख्न सकिन्छ । रावणले तपस्या गर्ने र नाचगान गर्ने भनिएको नर्तनाचल पर्वत पनि स्थलमा पर्दछ । नरपानीबाट १८ किलोमीटरको दूरीमा अर्घाखाची जिल्लाको सरदमुकाम सन्धिखर्क पर्दछ ।
अर्घाखाची जिल्लामा सुपादेउरालीको महङ्खव ग्रामीण पर्यटनको गन्तब्य बनेको छ । धार्मिक आस्थामा रहेका जिल्लाबासीहरुले सुपा–देउरालीलाई सर्वोपरी ठान्दछन् । दुःख परेको बेला भाकल गर्ने र भाकल पूरा भएपछि आफूले भनेको कुरा सुपादेउरालीलाई चढाउने परम्परा रहँदै आएको छ । प्राकृतिक दृष्टिकोणले अर्घाखाची रमाइलो मानिन्छ । तरेली परेका पहाड, पहाडको बीच खण्डमा बस्ती, खोला किनारमा खेतीयोग्य जमिन अर्घाखाचीको भू–वनोट हो । सुपादेउरालीको भावनामा स्थापना गरिएका अधिकांश पहाडको देउरालीमा राखिएको सुपादेउराली देवीको प्रतिमा र देउराली पार गर्ने मानिसहरुले चढाउने फूलपातीले अर्घाखाची जिल्लाका मानिसहरु सुपादेउरालीसँग कति धेरै भावनात्मक सम्बन्ध गाँसेका रहेछन् भन्ने कुरा थाहा हुन्छ ।
सुपादेउरालीको उत्पत्तिबारे रोचक प्रसङ्ग रहेको छ । बाइसे चौबिसे राजाहरुको पालामा खाँचीकोटका राजकुमार र भारत बलरामपुरको राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम गर्ने कुराको निर्णय भएछ । विवाहको लग्नको दिन वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दुलही लिएर अर्घाखाची फर्कने बेला बाटोमा जन्तीहरुलाई भोज खुवाउने कार्यक्रम भएछ । भोज खाने क्रममा जन्तीहरुबाट खाँचीकोटका राजाले झुक्याएर विवाह गरेका र दुलहीतर्फको जातको प्रसङ्ग निकाल्दा जन्तीहरु बीच विवाद उत्पन्न भएछ । भोजमा जे–जस्तो विवाद भएपनि दुलही खाँचीकोटसम्म पु¥याउनु पर्ने हुँदा जन्तीहरु बाटो लागेछन् । बाटोमा दुलही बोकेको तामदानबाट रगतको थोपा चुहिन थालेछ । जन्तीहरु आत्तिएर तामदानमा हेर्दा दुलही मृत अवस्थामा रहेको देखेछन् । दुलही नै मृत अवस्थामा देखेपछि सबै जन्तीहरु शोकाकुल हुन पुगेछन् । दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमग्न हुन पुगेछ । भोलिपल्टबाट गाउँमा रोगव्याधी उत्पन्न हुन थालेछ । कसैको गाई मर्ने, कसैको भैसी मर्ने र गाउँघरमा मानिसको समेत मृत्यु हुन थालेछ । सबै मानिसहरु आत्तिन थालेछन् । गाउँका धामी, झाँक्री र जोखाना हेर्ने जैसीहरुको समेत खैलाबैला भएछ । त्यसैबेला एकजना खनाल थर भएका झाँक्रीले विवाह गरेर ल्याएको राजकुमारी देवीको स्वरुप सुपादेउरालीमा उत्पन्न भएकोले उनको पूजाआजा नगर्दासम्म गाउँमा यस्तै भै रहने बताए ।
त्यसपछि गाउँलेहरु दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान सुपाखोलाको पश्चिम नरपानी र फलामे अग्लो महाभारत पर्वतको बीच भञ्ज्याङ्मा आएर सुपादेउरालीको प्रतिमा राखी पूजाआजा चलाउन थालेछन् । यो सुपादेउराली देवीको उत्पत्तीको किंवदन्ती कथा हो । यही कथामा लाहुरे पहराको पनि कथा जोडिएको छ । सुपादेउरालीको भाकल गरेपछि मनले चिताएको सबैकुरा पुग्ने जनविश्वास थियो । एकजना युवाले आफू लाहुरे बन्ने भाकल गरेछन् । भाकल गरेको केही समयपछि लाहुरे भएछन् । घर छुट्टीमा आउने बेला बाटोमा आफूले गरेको भाकल सम्झिएछन् । उनले भर्ती भै हालियो किन भाकल चढाउने भन्ने कुरा उब्जिएछ । सुपादेउराली नजिक आइपुग्दा बाटो छली खोलाको बाटो हिड्न खोज्दा उनको मृत्यु भएछ । जुन ठाउँलाई अहिले लाहुरे पहरा भन्ने गरिन्छ । त्यस पहरामा लाहुरेको आकृतिको चित्र टाँसिएर रहेको छ । अहिले सुपादेउराली पुग्ने ग्रामीण पर्यटनहरु त्यो दृष्य हेर्नको लागि लाहुरे पहरा पुग्ने गर्दछन् ।
सुपादेउराली आजभोलि धार्मिक ग्रामीण पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको छ । अर्घाखाची जिल्लाको मध्यभागमा रहेको सुपादेउरालीको मन्दिर सामुन्द्रिक सतहदेखि करिब चार हजार पाँचसय फिटको उचाइमा रहेको छ । गोरुसिंगे–सन्धिखर्क मोटरमार्ग किनारमा निर्माण गरिएको मन्दिर परिसरमा नवदुर्गा, महाकाली, महालक्ष्मी, शिवजी र गणेशलगायतका देवीदेवताको मूर्ति स्थापना गरिएको छ । जसले गर्दा आजभोलि सुपादेउरालीमा आफ्नो भाकल लिएर पुग्ने धार्मिक ग्रामीण पर्यटनहरुको भिड लाग्ने गर्दछ । एकादशी, औंसी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी, राम नवमी, महाशिवरात्री, श्रीपञ्चमी र अष्टतृतीयाका दिनहरुमा सुपादेउरालीको मन्दिरमा वली चढाइने गरिन्न । भाकलको वली चढाउने मानिसहरुले यी तिथिका दिन भने याद गर्नु पर्दछ । सुपादेउराली मन्दिर संरक्षण समितिले विभिन्न धार्मिक अनुष्ठानको लागि शुल्क लिने गरेको छ । सुपादेउरालीमा ग्रहशान्ति १५५, रुद्रीपूजा २५५, शुभ–विवाह २५५, लक्ष्यवर्तिका ५०५ र जोडी परेवा चडाउन ३० रुपैयाँ समितिमा बुझाउनु पर्दछ । यो बाहेक भक्तजनहरुले अर्पण गर्न चाहेका जिन्सी नगदको अभिलेख राखिने व्यवस्था गरिएको छ ।
सुपादेउराली मन्दिरमा सितापुरका खनाल थरका ब्राह्मणहरु मुल पुजारी रहेका छन् । दैनिक पूजाआजाको व्यवस्थापनमा दुईजना पुजारी दुईजना सहयोगी एकजना गरी जम्मा पाँचजना पूजाको काममा लागेका हुन्छन् । मन्दिरमा पूजा गर्न करिब २२ जना खनालहरु पालैपालो गरी जाने व्यवस्था छ । प्रत्येक वर्षको बैशाखी पूर्णिमाको दिन सुपादेउरालीमा ठूलो मेलासमेत लाग्ने गर्दछ । उक्त दिन ठकुरी र खड्का थरहरुको कुलायन पूजासमेत हुने हुँदा पहिला ठकुरीहरुद्वारा ल्याइएको वली पूजा नगरी अरु थरगोत्रहरुले ल्याएको वली नचढाउने प्रचलन पनि सुपादेउरालीमा छ ।
सुपादेउरालीको दर्शन मात्र होइन अर्घाखाची जिल्ला भाषाविद्हरुको लागि पनि महङ्खवपूर्ण मानिन्छ । संस्कृत भाषाको उत्पत्ती भएको पणेना लेख, अर्घा र खाचीकोटको महङ्खवको बारेमा अध्ययन, अनुसन्धान गर्ने ग्रामीण पर्यटनहरुको लागि प्राकृतिक सम्पदाहरु महङ्खवपूर्ण स्थान मानिन्छ । प्राचीन भाषा संस्कृत ब्याकरणको उत्पत्ति भएको र रचना भएको पणेना तपोभूमिमा समेत आजभोलि भाषाविद्हरु पुग्ने गरेका छन् । हजारौ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाचीको खिदिममा आएका पाणिनी ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषीले तपस्या गरेपछि भगवान शिव प्रशन्न भएर डमरु बजाउँदै अ,ई,उ,रि,लृ, ए,ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ । यस तपोभूमिवाट उत्तर फर्कदा हिमालयका हिम श्रृंखला, दक्षिण फर्कदा तराईका फाँटहरु अनि भारतीय भूमिसमेत देख्न पाइन्छ । पणेना लेक जानको लागि अर्घाखाचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो यात्रामा पणेना लेक पुग्न सकिन्छ ।

सुपादेउराली मन्दिरको नजिकै विशाल चौरसहितको नरपानीको पहाड रहेको छ । नरपानीबाट तराई तथा हिमाल अवलोकन गर्न सकिन्छ । नरपानीमा पानीको सुविधा, खुल्ला मैदान, यातायातको राम्रो सुविधा, शितल हावापानीको साथै होटल तथा अन्य पसलहरुको समेत राम्रो सुविधा भएकाले गर्मी मौसममा वनभोजका लागि धेरै मानिसहरु पुग्ने गर्दछन् । सुपादेउराली नजिक मसिनाको लेक रहेको छ । अर्घाखाचीको सबैभन्दा अग्लो यो लेक २५१५ मीटर उचाईमा पर्दछ ।


अर्घाखाची जिल्लामा सुपादेउराली बाहेक ऐतिहासिक महङ्खवका सम्प्रदा धेरै छन् । भुरे टाकुरे शासकहरुको पालादेखि कोट, मौला र शक्तिपीठमा नाचिने सराय नाच पनि अर्घाखाचीको यात्रामा देख्न सकिन्छ । तर सराय नाचको रोमाञ्च लिनको लागि भने विजया दशमीको भोलिपल्ट अर्थात एकादशीदेखि लिएर पूर्णिमाको दिनसम्मको अवधिमा आफ्नो यात्राको तय गर्नुपर्दछ । नेपालको लुम्बिनी अञ्चलको सेरोफेरो अर्घाखाची, गुल्मी, पाल्पा र राप्ती अञ्चलको प्यूठान जिल्लाको केही गाउँमा नाचिने सराय नाचले मनोरञ्जन समेत दिने गर्दछ । नौमती बाजासहित नाचिने सराय नाचमा कोट, मौला र शक्तिपीठमा राखिएका खुडा, तरवार, खुकुरी हातमा लिएर बाजाको तालमा वाख्खै… वाख्खै भन्दै खुडा जुधाएर यो नाच नाच्ने गरिन्छ । विशेषगरी बाइसे चौबिसे राजाहरुले स्थापना गरेका कोट र शक्तिपीठका मन्दिरहरु भएका गाउँ ठाउँमा यो नाचको महङ्खव मानिने गरिन्छ । अर्घाखाचीको अर्घा, खाचीजस्ता ऐतिहासिक कोटमा भएका मन्दिर र पश्चिम पाल्पाका ख्याहा, रैनादेवी छहरा, मुझुङ गुल्मी जिल्लाको चोयघा र आसपासका गाउँहरुमा यो नाचले ऐतिहासिक संस्कृतिलाई संरक्षण गरेको छ ।
अर्घाखाची जिल्लाको प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदा ग्रामीण पर्यटकहरु र विशेषगरी विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको लागि महङ्खवपूर्ण मानिन्छ । विद्यार्थीले पढ्नु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सूत्रहरु स्मरण गर्नु मात्र होइन । शैक्षिक भ्रमणबाट प्राप्त ज्ञान पनि शिक्षाको विकासका लागि महङ्खवपूर्ण कुरा हो । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न किताबी ज्ञानले मात्र सकिदैन । खासगरी प्राकृतिक स्रोत, भौगोलिक अध्ययन, मानव विकास अध्ययन, सामाजिक, आर्थिक पक्षको यथार्थ ज्ञान लिन सम्बन्धित क्षेत्रहरुको भ्रमण गर्नैपर्ने हुन्छ । जुनकुरा आजभोलि धेरै विद्यालयका विद्यार्थीहरुलाई अध्ययन, अनुसन्धानको स्थल अर्घाखाचीका प्राकृतिक सम्पदा बन्ने गरेका छन् । अर्घाखाचीमा धेरै स्थानमा ग्रामीण सडक निर्माण भएका छन् । पहाडी भू–भाग भएपनि गाउँपिच्छे सडक सञ्जालले छोएको छ । सबै गाउँमा यातायातको सुविधा पुगेको छ । अहिले आफ्नो साधन हुने ग्रामीण पर्यटकहरुले इच्छा भएमा एकैदिनमा सदरमुकाम सहित जिल्लाका धेरै ग्रामीण पर्यटकीय स्थल पुग्न सक्दछन ।
ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडि परेको ग्रामीण क्षेत्रको विकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिनसक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउँछन् । एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक सहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन् । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन् । विकसित देशका मात्र होइन ग्रामीण पर्यटकहरु पनि अधिकांशले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन् ।
हाम्रो आस्थाका केन्द्रविन्दुहरु आजभोलि ग्रामीण धार्मिक पर्यटनको गन्तब्य स्थलको रुपमा विकास हुन थालेको छ । पर्यटन विकास गर्नुपर्दछ भन्ने धारणा बढेको छ । तर यसलाई समग्र विकासको लागि जिल्ला र क्षेत्रको गुरुयोजना भने बन्न सकेको छैन । कुनै जिल्लाले कागजी रुपमा गुरुयोजना बनाए पनि बजेटको अभावमा पर्यटनहरुको लागि आवश्यक पर्ने विकास निर्माण हुन सकेको छैन । ग्रामीण अथवा वाह्य पर्यटकहरु दुरदराजका गाउँ र बस्ती अनि प्राकृतिक सम्पदामा पुग्नको लागि सडक, खानेपानी, स्वास्थ्य, बास बस्ने होटल अथवा होमस्टेको ब्यवस्था र सुरक्षाको ग्यारेन्टी सबै ठाउँमा छैन । ग्रामीण पर्यटकीय स्थलको विकास गर्नको लागि आधारभूत विकास हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *