सुन्दरता, कला र संस्कृतिको धनी सल्यान

फिचर मुख्य खबर समाज

कर्णाली प्रदेशको एक पहाडी जिल्ला सल्यान हो । संघीय संचरना अनुसार तीन नगरपालिका र सात गाउँपालिकासहित दश स्थानीय तह रहेको सल्यान प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । परम्परागत कृषि पेशामा आधारित सल्यानको आर्थिक प्रणाली सुधारोन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि पछिल्लो समय परिवर्तन देखिन थालेका छन् ।
कलकल बग्ने शारदा नदी, कुपिण्डे दह र खैरावाङ मन्दिर सल्यान जिल्लाको पहिचान र परिचय हो । साथै छत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रुपले प्रसिद्व रहेका छन् । पर्यटकीय एवं धार्मिक स्थलहरुले धनी सल्यानमा अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रापालन व्यवसाय कृषि व्यवसाय नै यस जिल्लाको प्रमुख व्यवसायको रुपमा रहेको पाईन्छ ।
कपुरकोटको तरकारी र माल्नेटाको अदुवाले परिचित सल्यानका अधिकांश नागरिक कृषि पेशामा आवद्ध रहेका छन् । परम्परागत कृषि पेशाबाट विस्तारै आधुनिक खेतीतर्फ युवाहरु आकर्षित हुन थालेका छन् । नेपाललगायत भारतमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ, अदुवा खासगरी फागुन, चैत्र र बैशाख महिनामा रोपिन्छ । यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ । सल्यान सुन्तला, मौसमीलगायत कागतीको राम्रो उत्पादन हुने जिल्ला पनि हो ।
सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर र छत्रेश्वरी देवी मन्दिर, शंखमुल, फलावाङको पुतली दरबार सल्यानका ऐतिहासिक धरोहर हुन् । खुकुरीका लागि प्रसिद्ध सल्यान जिल्ला अदुवाको पकेट क्षेत्रको रुपमा पनि चिनिन्छ ।

परम्परागत कृषि पेशामा आधारित सल्यानको आर्थिक प्रणाली सुधारोन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि पछिल्लो समय परिवर्तन देखिन थालेका छन् ।


कपुरकोटको तरकारी

कपुरकोटको तरकारीले पछिल्लो समय सल्यानलाई चिनाएको छ । दाङ, नेपालगंज, बुटवल, नारायणघाट तथा कालिमाटी काठमाडौँसम्म कपुरकोटको तरकारी जाने गरेको छ । कपुरकोटमा हाटबजार सञ्चालनमा आएसँगै त्यस आसपासका क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उत्पादनले सहजरुपमा बजार पाउन थालेपछि स्थानीयको जीवनस्तर सहज बन्दै गएको छ ।
कृषकहरुको सहजका लागि कपुरकोटमा हाटबजार सञ्चालन भएपनि तरकारी भण्डारण गर्ने शित भण्डारको अझै पनि व्यवस्था हुन भने सकेको छैन् । कपुरकोट गाउँपालिका र छिमेकी जिल्ला रोल्पाको तरकारीसमेत कपुरकोटमा आउने गरेको छ । पछिल्लो समय तरकारीले बजार पाउन थालेपछि यस क्षेत्रका किसान पनि कृषि पेशामा आकर्षित हुन थालेका छन् ।
कपुरकोट, श्रीनगर, सल्लीबजार, थारमारे, बाङ्गेलाखुरीलगायतका बजार सल्यानका ब्यापारिक केन्द्रका रुपमा चिनिन्छ । सल्यानको माल्नेटा अदुवाको प्रख्यात ठाउँ मानिन्छ । माल्नेटको अदुवाले बजारमा राम्रो भाउ पाउने गरेको छ । .

प्रमुख पर्यटकीय स्थल

कुपिण्डे दह, खैरावाङको मन्दिर, छायाँक्षेत्र मन्दिरलगायतका धार्मिक तथा पर्यटकीयस्थल सल्यानका धरोहर हुन् । खैरावाङको मन्दिरमा घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ र मन्दिरमा पूजा गर्दा मनले चिताएको कुरा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । छायाँक्षेत्र मन्दिर नेपालका सबै शक्ति पीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ मानिन्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको स्थल हो । सल्यानको शंखमुलबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडामा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ । सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिण पूर्वमा पर्ने छत्रेश्वरीदेवी मन्दिर शारदा नदीको पूर्वतिर रहेको छ । मन्दिरमा पुग्ने जो कोहीलाई छायाँक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । मन्दिरको दर्शनका लागि दैनिक रुपमा टाढा–टाढाबाट मानिसहरु आउने गरेका छन् भने शिवरात्रीमा ठूलो मेला लाग्ने गरेको छ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ भने सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती रहेको छ । पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको पौराणिक भनाई छ ।

कला, संस्कृति

सल्यान जिल्लामा झ्याउरे नाच, टप्पा, सेरेङ्गे नाच, सोरठी, लाखे नाच प्रचलित छ । पुरुषले महिलाको कपडा लगाएर मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारित गीतहरू गाएर सोरठी नाच आजभोलि कमै सुनिन थालेको छ । त्यस्तै टप्पा सल्यान जिल्लाको प्रचलित गीत भएर होला, यसलाई सल्यानी टप्पा पनि भनिन्छ । सोरठी लोक साहित्यको सल्यान जिल्ला परिचित जिल्ला हो ।
लोक नाचहरूमा दुर्वोधता पाइँदैन, दिक्क लाग्दो र उराठिलो भावना जाग्दैन । यही नै यसको विशेषता हो । त्यस्तै सल्यान लाखे नाच लाखेको मुकुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यानका विभिन्न ठाउँमा कृष्ण जन्माष्टमीको अवसरमा नाच्ने गरिन्छ ।
रिम, मोखला, फलावाङको पुतली दरबार, लुहामलगायतका ठाउँमा खासगरी कृष्णाजन्मष्टमीको दिन नाचिने गर्दछ । कृष्णले कंशमाथि बिजय प्राप्त गरेको कथालाई लिएर यो नाच नाचिन्छ । यसको सुरूवात कृष्णजन्मष्टमीको एक महिना अगाडि विधिपूर्वक पूजा गरी सुरू गरिन्छ र कृष्णजन्मष्टमीका दिन अन्त्य गरिन्छ । बहुसाँस्कृतिक र विभिन्न कला र परम्पराले भरिपूर्ण सल्यान कर्णाली प्रदेशको पडाडी जिल्ला हो । प्रशस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचित उपयोगसहित जिल्लाको चौतर्फी विकासमा नीति निर्माण तहमा बसेका सरोकारवालाले प्रमुख भूमिका खेल्न सक्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *