घोराही, ३ चैत । राप्ती साहित्य परिषद्ले गठन गरेको प्रतिभा छनौट समितिको बैठकले कृति प्रकाशनको सूचि पठाउन आह्वान गरेको छ । समितिको शनिबार घोराहीमा बसेको बैठकले २०७५ का लागि विभिन्न पुरस्कार वितरण गर्नुपरेको भन्दै सबै जिल्ला शाखालाई प्रकाशन गरेका कृति र स्रष्टाहरूको नामको सूचि पठाउन आह्वान गरेको हो ।
यस्तै राप्ती सिर्जना पुरस्कारका लागि २०७४ सालमा प्रकाशित आफ्ना कृतिहरू २०७५ चैत २५ गतेभित्र मूल्यांकनका लागि राप्ती साहित्य परिषद् केन्द्रीय कार्यालय दाङमा आइपुग्ने गरी पठाउन सबै शाखा, विभिन्न संघसंस्था तथा स्रष्टाहरूलाई अनुरोध गरेको छ ।
साहित्यकार उत्तमकृष्ण मजगैयाँको संयोजकत्व तथा टीकाराम उदासी, सुशील गौतम, कमलमणि देवकोटा र शारदा शर्मा सदस्य रहेको पाँच सदस्यीय छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । पुरस्कार तथा सम्मान २०७५ बैशाख २० र २१ गते दाङ घोराहीमा हुने राप्ती साहित्य परिषद्को बार्षिक साहित्यिक समारोहमा वितरण गरिने परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
