सामाजिक सुरक्षा प्रभावकारीः महरा

मुख्य खबर राजनीति समाज

घोराही, २२ मंसिर । सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी रहेको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड समेत दिए ।
आगामी फागुनसम्म कानून संशोधन गरिसक्नुपर्ने चुनौती रहेको बताउँदै सभामुख महराले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशनसम्ममा संशोधन नभए स्वतः खारेज हुने बताए । उनले समाजमा भएका घटनाको विश्लेषण गरी लेखिएका पुस्तकले इतिहासको पाटो पनि पूरा गर्ने बताए ।
यस्तै घोराही तेस्रो साना शहरी खानेपानी आयोजनाको शुक्रबार सभामुख महराले उद्घाटन गरे । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा निर्माण सम्पन्न भएको आयोजनाको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् । यो सँगै घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तेस्रो साना शहरी खानेपानी आयोजना सञ्चालनमा ल्याएको हो । साढे ४ लाख लिटर पानी अट्ने ओभरहेड ट्यांकी निर्माणका लागि तेस्रो साना शहरी खानेपानी आयोजनाको करिब २० करोड रुपैयाँ लगानी भएको छ । आयोजनाको पहिलो चरणमा १३ करोड १ लाख ८ हजार ९सय ६६ र थप आयोजनाको ६ करोड ५२ लाख ४ हजार ६ सय ३७ रुपैयाँको लागतमा खानेपानी आयोजना २ बर्षमै सञ्चालनमा आएको हो ।
खानेपानीको आयोजना सञ्चालनमा आएसँगै गुलरिया, रतनपुर, भरतपुर, जिल्ला प्रशासन आसपासलगायतका करिब १५ घरमा धारा जडान भएको संस्थाले जनाएको छ । सभामुख महराले त्यस अवसरमा दाङमा पानीको आपूर्तिका लागि रोल्पाको माडी नदीलाई डाइभर्सन गरेर ल्याउने योजना रहेको समेत बताए । उनले माडी नदीको पानीलाई डाईभर्सन गर्दै विद्युुत उत्पादन र दाङमा पानी ल्याएर अभाव हटाउने बताए । बढ्दो पानीको संकटलाई हटाउन माडीको पानीलाई दाङमा ल्याएर खानेपानी र सिंचाईको अभावलाई दीर्घकालिन रुपमा समाधान गर्ने उनले प्रतिवद्धतासमेत जनाए ।
सभामुख महराले छिट्टै प्रदेश नम्बर ५ का मुुख्य मन्त्री शंकर पोख्रेलसहित सिंचाई मन्त्री र दाङबाट प्रतिनिधित्व गर्ने सांसदले संयुक्तरुपमा माडी नदी डाईभर्सन गरेर दाङ ल्याउने घोषणा गर्ने तयारी भएको समेत जानकारी दिए ।
दाङमा बढ्दो जनसंख्यालाई खानेपानीको आपूर्तिका लागि सरकार गम्भीर रहेको र विकल्पहरुको खोजीमा रहेको भन्दै खानेपानी संस्थाले पनि आफ्ना योजनालाई अघि सार्नुुपर्ने सभामुख महराले धारणा राखे । माडी नदीको पानी दाङमा ल्याउन करिब १० वर्षभन्दा बढी लाग्ने उनको भनाई रहेको थियो । जनसंख्याको अनुुपातमा पानीको स्रोत नभएको भन्दै सभामुुख महराले स्रोत बढाउनतर्फ सबै लाग्नुुपर्नेमा जोड समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *