सहज पाठ्यपुस्तक

सम्पादकीय

धेरै वर्षपछि माध्यमिक तहका विद्यार्थीहरुले बैशाख महिनामै आफूले अध्ययन गर्ने पाठ्यपुस्तक सहजैरुपमा पाएका छन् । विगतका वर्षहरुमा पाठ्यपुस्तकका लागि आउने समस्या यस वर्ष समयमै समाधान भएको देखिएको छ ।
भर्ना अभियानसँगै विद्यार्थीले पाठ्यपुस्तक हात–हातमा पाउँदा यो शैक्षिक सत्रको पढाइ पनि व्यवस्थित हुने विश्वास गर्न सकिन्छ । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने माध्यमिक शिक्षासम्मको अध्ययन अन्तर्गत सरकारी विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई राज्यले नै निःशुल्क रुपमा पाठ्यपुस्तकको व्यवस्थापन गर्दै आएको छ ।
दाङमा यो वर्ष सबै सामुदायिक विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुका हातमा पुस्तक परेको छ । विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको महिनौ बित्दा पनि सहजरुपमा पाठ्यपुस्तक उपलब्ध हुन सक्ने अवस्था देखिएको थिएन । समयमा विद्यार्थीले आफूले अध्ययन गर्ने पुस्तक पाउन र राज्यले त्यसको सहज ब्यवस्थापन गर्नु सकारात्मक छ ।
सामुदायिक विद्यालयमा राज्यले ठूलो लगानी गरेको छ । राज्यको लगानी र व्यवस्थापन अनुसारको प्रतिफल भने सामुदायिक विद्यालयहरुमा देखिदैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको छ ।
यसको सुधारका लागि विद्यालयस्तरबाट प्रयासहरु भने भएको त्यति देखिदैन । यदाकदा कुनै विद्यालयहरुले राम्रो प्रयास गरेका छन् तर धेरैको अवस्था भने दयनीय नै देखिनुले राज्यले शिक्षामा गरेको लगानी फलदायी नभएको प्रष्ट रुपमा देखाउँछ ।
समयमा पाठ्यपुस्तक नपाउने अवस्थादेखि सुरु भएको सामुदायिक विद्यालयको शिक्षा परीक्षा दिदासम्म त्यहि अवस्था रहदा पनि सुधारले स्थान नपाएको देखिन्छ ।
विद्यार्थी र अभिभावकका सुरु देखिनै देखिने अभावलाई हटाउनेतर्फ राज्यले केही सोच्न सके राज्यले खोजेको जस्तो गुणस्तर र शैक्षिकस्तर सरकारी तथा सामुदायिक विद्यालयमा भेटिन सक्छ ।
लगानी गर्ने नियमन गर्नेतर्फ ध्यान नदिदा राज्यको लगानीमा सञ्चालन भएका सरकारी विद्यालयहरु सुधारउत्मुखभन्दा पनि गतिहीन बन्दै गएको देखिन्छ ।
शैक्षिक सत्रको सुरुवातमै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु खुशी देखिनु स्वभाविक हुन्छ । विगतका वर्षहरुमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नहुँदाको पीडा यस वर्ष बैशाखमै सकिनुले पनि उनीहरुमा सिकाइमा सुधार हुन सक्नुपर्छ ।
नेपालमा स्थापित भएका तीन सरकारअन्तर्गत स्थानीय सरकाले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा लिएको छ । त्यसलाई सुधार अभियानमा लिदै नियमन बढाउने र सुविधा पनि थप्दै गएर सामुदायिक विद्यालयको सुधार गर्नतर्फ लाग्नुपर्छ । समयमै पाठ्यपुस्तक उपलब्ध भएर मात्रै शिक्षा सुधार हुने हैन । सबै समयमै गर्नसके मात्रै सामुदायिक शिक्षाको सुधारमा मद्दत पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *