सहकारी दिवसमा वक्तृत्वकला

समाज

घोराही, १९ चैत । ६२औँ राष्ट्रिय सहकारी दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जिल्ला सहकारी संघको आयोजनामा दशवटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा सोमबार घोराहीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता घोराहीमा गरिएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कून फिल्ड व्यवस्थापन समितिका सदस्य अञ्जनकुमार पौडेलको अध्यक्षता तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा ज्ञानदीप कलेज तुलसीपुरका तेज कुमार डाँगी प्रथम, अम्बिकेश्वरी कलेज घोराहीका दीपेन्द्र भण्डारी द्वितीय तथा यूएन कलेज दाङका खगिन्द्र बिष्ट तृतीय भएका थिए ।
नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुरेन्द्रबहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ दाङकी अध्यक्ष पद्मा आचार्य, पद्मोदय क्याम्पसका प्रमुख निश्चल आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुपबहादुर खत्रीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेफ्स्कून फिल्ड कार्यालय दाङका शाखा प्रमुख वेदप्रसाद भट्टराईले गरेका थिए । यसैबीच ६२औँ सहकारी दिवस मनाउने कार्यक्रमलाई ब्यवस्थित गर्न राप्ती गाउँपालिकामा छलफल भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *