सवारी कारवाहीबाट ५६ लाख राजस्व

मुख्य खबर

सल्यान, २ साउन । सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष ०७५÷७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढी राजस्व उठाएको छ ।
नियम विपरीत सञ्चालन हुने सवारी साधनलाई कारवाही गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरीक्षक जगदिश ऐरले जानकारी दिए ।
उनका अनुसार २०७५ साउन देखि २०७६ असारसम्म सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन् । ३ हजार ४ सय ५० मोटरसाइकललाई कारवाही गर्दा १९ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको ऐरले जनाए ।
यस्तै १ हजार ६ सय ४१ ट्रक कारवाहीमा परेका छन् । जसबाट ९ लाख १९ हजार रुपैयाँ संकलन भएको छ । यस्तै १ हजार ३ सय २१ बसलाई कारवाही गर्दा ७ लाख ३५ हजार, २१५५ जीप तथा कारलाई कारवाही गर्दा एक लाख ४० हजार पाँच सय र १ हजार ३ सय ९१ ट्रेक्टरबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ संकलन भएको उनले जनाए ।
अघिल्लो आर्थिक वर्ष १० हजार तीन सय सवारी साधन कारवाहीमा परेकोमा आव ०७५÷७६ मा नौ हजार नौ सय ५८ यातायातका साधन कारवाहीमा परेका छन् ।
सबैभन्दा बढी असारमा १ हजार १ सय ८ सवारी साधन कारवाहीमा परेका छन् भने सबैभन्दा बढी राजस्व पुस महिनामा पाँच लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ ।
प्रसनि ऐरले जिल्लाको कपुरकोटबाट सबैभन्दा बढी राजस्व संकलन भएको जनाए । दोस्रोमा श्रीनगरबाट बढी राजस्व उठेको छ भने सबैभन्दा कम सल्लीबजारबाट राजस्व संकलन भएको छ ।
सवारी चलाउँदा मापसे गर्ने एक सय १८ जनालाई कारवाही गरिएको उनले बताए । तर कसैको पनि चालक अनुमतिपत्र प्वाल नपारिएको उनले जनाए ।

दुर्घटनामा १८ जनाको मृत्यु

यसैबीच गत साउनदेखि असारसम्म १८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने २० जनाले ज्यान गुमाएका थिए । आव
०७५÷७६ मा १३ जना पुरुष, ४ जना महिला र एकजना बालकले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साथै सवारी दुर्घटनामा २५ जना शक्त र १ सय ५३ जना सामान्य घाइते भएको प्रसनि ऐरले जनाए ।
यस आर्थिक वर्षमा दुर्घटना हुने सवारीको संख्यामा भने बृद्धि भएको छ । अघिल्लो आवमा ३७ वटा सवारी साधन दुर्घटनामा परेकोमा ०७५÷७६ मा १ सय १ सवारी दुर्घटना भएका छन् । ४५ वटा मोटरसाइकल, १९ वटा जीप, १७ वटा ट्रेक्टर, ११ वटा बस र ९ वटा ट्रक दुर्घटना भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *