घोराही, १ भदौ । सरस्वती मावि भरतपुरले सिटिईभिटीबाट डिप्लोमा ईन ईन्फोमेसन टेक्नोलोजी विषय सञ्चालनको लागि अनुमति पाएको छ । यही वर्षदेखि सिटिईभिटी अन्तर्गत तीन वर्षीय सूचना प्रविधि (आईटि)मा डिप्लोमा कार्यक्रम सञ्चालनको लागि निर्णयसमेत भईसकेको विद्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
व्यवहारिक शिक्षालाई आत्मसात गर्दै यो कार्यक्रम सञ्चालन गरेको विद्यालयकी प्रधानाध्यापक बसन्ता पौडेलले बताइन् । दाङ जिल्लामा सामुदायिक विद्यालयमा पहिलो पटक सञ्चालन हुन लागेको सूचना प्रविधि कार्यक्रमले विश्व विकासमा सहयोगी बनेको सूचना प्रविधिको अहिले निजी तथा सरकारी क्षेत्रमा धेरै रोजगारीको सिर्जना गरेको बताइन् । उनका अनुसार इन्जिनियरिङ र सूचना प्रविधिसम्बन्धी रोजगारीको लागि बनाइएको कोर्ष ३ वर्षे (६ सेमेष्टर)को हुनेछ ।
प्रोजेक्टरबाट सिकाइ हुने, आईटीमा उपयोगी फिजिक्स, केमेस्ट्री, गणितको पढाइ हुने, भाषा सञ्चारलाई टेवा पु¥याउन अंग्रेजी र नेपालीको पनि पढाइ हुने, उद्यमशीलता तथा दक्षता विकासको पढाइ हुने, निम्न र मध्यम बर्गको लागि उच्चतम रोजगारीको सम्भावना भएको कोर्ष, सदाबहार स्कोप रहेको ईन्जिनियरिङ र सूचना प्रविधिको क्षेत्रमा उदयमान विषयमा रहेको उनले जानकारी गराएकी थिइन् । विद्यालयका सहायक प्रधानाध्यापक दिपक कुमार श्रेष्ठ पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए ।