घोराही, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले जनताले दिएको अवसरलाई वर्तमान सरकारले उपयोग गर्न नसकेको बताएका छन् । उनले सरकारले अवसर उपयोग गर्न नसक्दा सफलतातर्फ गइरहेको आरोप लगाए ।
राप्रपा संयुक्त दाङले आइतबार घोराहीमा गरेको कार्यक्रममा अध्यक्ष जबराले दुई तिहाई बहुमतको सरकारले जनताका आशालाई निराशामा परिणत गरेको बताए ।
‘सरकारले जनताले दिएको दुई तिहाई मतको दुरुपयोग गरेको छ, सत्तामोहका कारण जनतालाई निराशा बनाएको छ’, उनले भने ‘सरकारले गरेका गतिला काम खोज्न एक महिना लाग्ला तर भ्रष्टाचार र कुुशासन खोज्यो भने एक सेकेन्डमै देखिन्छ ।’
वाईडबडी विमान खरिदमा व्यापक घोटाला भएको सार्वजनिक भइरहदा पनि सरकार मौन हुनु दुखद् भएको जबराले बताए । उनले भने ‘भ्रष्टाचारीलाई प्रश्रय दिने काम सरकारले गरिरहेको छ, यसको उदाहरण वाइडबडी पनि हो ।
सरकार भ्रष्टाचारले डुङडुङ्ती गन्हाएको छ, जनताले नाक थुनेर हिड्ने बेला आईसकेको छ’ उनले भने ‘केन्द्र तहदेखि तल्लो तहसम्म भ्रष्टाचार मौलाउँदै गएको छ ।’
उनले भ्रष्टाचारलाई विकेन्द्रीकरण गर्न सरकार लिफ्त भएको आरोप लगाए । राप्रपा संयुुक्त दाङका अध्यक्ष नरेशजंग राणाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष जबराले सरकारका गलत कामको खबरदारीका लागि पार्टीले सबै तहमा संगठन सुदृढीकरणमा लागेको बताए ।
‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राप्रपा संयुक्तका नेता तथा कार्यकर्ता एकताबद्ध भएर सरकारका नराम्रा कामका भण्डारफोर गर्नेछन्’ उनले भने । एक अर्को फरक प्रसंगमा अध्यक्ष जबराले नेकपाको विप्लव समूहले हत्या, हिंसाको राजनीति छोडेर शान्तिपूर्ण राजनीति गर्नुपर्ने बताए ।
सरकारले सिके राउतसँग सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै उनले विप्लव समूहसँग वार्ता र छलफलको माध्यमबाट समस्या समाधान खोज्नुपर्ने उल्लेख गरे । उनले काँग्रेस र कम्युुनिष्ट मिलेर धर्मनिरपेक्ष राष्ट्र बनाउनु गलत भएको टिप्पणी गरे ।
कार्यक्रममा राप्रपा संयुक्तका नेता डा.प्रकाशचन्द्र लोहनीले दुई तिहाई बहुमतको दम्वका कारण सरकारले अशालाग्दा काम गर्न नसकेको बताए ।
उनले सरकारले स्रोत र साधनको सदुपयोगभन्दा पनि दुरुपयोग गरेको भन्दै प्रजातन्त्रको नाममा अधिनायकवाद लाद्न खोजेको बताए । कामभन्दा कुरामा सरकार व्यस्त छ, कुराले समृद्धि हुँदैन, समृद्धिका लागि काम गर्नुपर्छ उनले भने ‘कामको मूल्याङ्कन जनताले गरिसकेका छन् ।’
लोहनीले कमल थापाले हलो चुनाव चिन्ह माने भोलि नै पार्टी एकता गर्न तयार रहेको बताए । उनले कमल थापाको दम्भ र घमण्डसँगै सत्तालोलुप सबैलाई स्पष्टरुपमा थाहा भइसकेको भन्दै अब पनि जनतालाई झुक्याएर एक्लै अगाडि बढ्न खोजे कसैले नपत्याउने समेत दाबी गरे ।
निरंकुशता साेंचले पार्टी नचल्ने भन्दै राप्रपा संयुक्तसँगको एकताको आधार मोडेल रहेको हलो चुनाव चिन्ह मानेमा जसरी पनि एकता गर्न आफूहरु तयार रहेको पनि लोहनीले सुनाए ।