सरकारकै कारण भ्रष्टाचार मौलायोः चौधरी

मुख्य खबर राजनीति

रुपन्देही, २७ जेठ । पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले वर्तमान सरकारकै कारण भष्ट्राचार र अनियमितता बढेको बताएका छन् ।
प्रदेश नम्बर ५ का सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेको चौधरीले यस्तो बताएका हुन् । उनले अहिलेको हरेक दिनको अवस्था हेर्दा यहि देखिएको भन्दै यहि कारणले ओली सरकारको दिनगन्ती समेत सुरु हुन सक्ने बताए ।
हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस भन्ने नाराका साथ बैशाख २५ गतेदेखि सुरु भएको पहिलो राष्ट्रिय जागरण अभियानको शनिबार भैरहवामा आयोजित समारोहलाई सम्बोधन गर्दै चौधरीले अहिले देशमा ओली नेतृत्वको सरकारकै कारण भ्रष्टाचार मौलाएको आरोप लगाए ।
उनले वर्तमान सरकारले किसानलाई मल र बिउ उपलब्ध गराउन नसकेको बताए । चौधरीले नेपाली कांग्रेस अगाडि बढेर सरकारलाई सडकबाटै फाल्नुपर्ने समेत बताए ।
चौधरीले जनताबाट कर उठाएर भ्रष्टाचार गर्नेलाई कांग्रेसले सत्तामा बस्न नदिने बताए । उनले प्रेसलाई निमोठ्ने, नियन्त्रण गर्न खोज्ने सरकारविरुद्ध आन्दोलनको विकल्प नरहेको उल्लेख गरे ।
सुकुम्बासीको नाममा राजनीति गरेर बालुवाटारको जग्गा किन्ने र भ्रष्टाचार गर्ने दुस्साहस गर्ने विष्णु पौडेलको दुर्दशा रुपन्देहीबाट सुरु भएको उनले बताए ।
उनले कार्यक्रममा संसद ओलीले चलाएको कि महराले भन्दै प्रश्न गरे । कांग्रेसको जागरण अभियानबाट सबैको मेलमिलाप सुरु भएको उनको भनाइ थियो । कांग्रेसले एक अर्कालाई हराउन होइन, एक अर्कालाई जिताउन लागौं, एकअर्काको कुरा काट्न होइन, एक अर्कासँगै हिड्ने बानी बसालौं, उनले भने ।
समारोहमा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले सरकारले लोकतन्त्र, संविधान, संघीयता, जनताको सार्वभौमसत्ता नमानेको आरोप लगाए ।
उनले लोकतन्त्रको नारा दिने दुईतिहाईको सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । लोकतन्त्र तथा संविधान विरोध गतिविधि गरेर सरकार अधिनायकवादउन्मुख भएको रज्जाकले बताए ।
नेपाली कांग्रेसले चाहे जुनसुकै सरकारलाई सडकबाटै ढाल्न सक्छ, तर हामी मुलुकमा स्थिरता चाहन्छौं, कांग्रेसको नेतृत्वमा मुलुकले लोकतान्त्रिक संविधान पाएको छ, तसर्थ संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *