सम्भावित घटनाको पहिचान

विचार

मंसिर १४ गते दाङसहित देशभर अहिले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ । दाङमा क्षेत्र नम्बर ३ को (२) मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका–१६ मा वडा अध्यक्षको पद गरी दुई पदमा लागि आगामी मंसिर १४ गते निर्वाचन गर्ने गरी तयारी तिब्र पारिएको दलहरू उम्मेदवार छनौटसँगै चुनावी गतिविधि सक्रिय बनाउँदै छन् भने सम्बन्धित कार्यालयहरूले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी थालेका छन् ।
उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रमा चुनावी सरगर्मी बढिसकेको छ । विशेषगरी दुई ठुला दल सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चुनावी गतिविधिलाई सक्रिय बनाएको छ भने अन्य साना दलहरूले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधि सक्रिय बनाउन थालेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायले चुनावलाई भव्य र सभ्य बनाउन विभिन्न योजना अघि सारेका छन् । मंसिर १४ को मिति नजिकिदै जाँदा सरोकारावाला निकायले चुनावलाई भव्य, सभ्य र सुरक्षित बनाउन के कस्ता योजना बनाएका छन् ? उपनिर्वाचनको तयारी के छ त ? लगायतका विषयमा सरोकारावाला निकायका प्रतिनिधिसँग टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप ।


विनोदबिक्रम शाह
प्रवक्ता
जिल्ला प्रहरी कार्यालय, दाङ

उपनिर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना तयारीमा छौँ तर अहिले नै यति भन्ने छैन् । हामीले दुई÷तीनभित्रै सुरक्षा योजना सार्वजनिक गछौँ । जिल्लामा उपनिर्वाचन हुन लागेकोे क्षेत्रमा नागरिकले भयरहित वातावरणमा निर्वाचन गर्न पाउनुहुन्छ ढुक्क हुनुस् ।
बिगतमा पनि दाङमा शान्तिपूर्ण रूपमा चुनाव भएको थियो । अहिले अब मंसिर १४ गते हुने उपनिर्वाचन पनि धाँधलीरहित हुनेछ । नागरिकले सोचेकै वातावरणमा चुनावमा भोट हाल्न पाउनेछन् । बिगतमा शान्तिपूर्ण भएपनि यसपालि सोही अवस्था नहुन सक्छ । त्यसैले सुरक्षा निकायबाट हुने सुरक्षा योजना सार्थक बनाउन हामी लाग्ने छौँ ।
अहिले विषेशगरी विप्लव निकट नेकपाले चुनावलाई केही भयवित बनाउन सक्ने भएकाले पनि विप्लव नेकपाका गतिविधिलाई नियन्त्रणका लागि अहिले सुरक्षा योजना बनाइरहेका छौँ । आसन्न चुनाव भयरहित वातावरणमा सम्पन्न गर्नका लागि हामीले सुरक्षा योजना बनाएका छौँ ।
त्यतिमात्र नभएर जिल्लामा अपराधिक गतिविधिमा संलग्नहरूको सूचि नै बनाएर ति समूहका गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा योजना बनाएका छौँ । चुनावको दिनमात्रै भन्दा पनि चुनाव अघि पनि हुन सक्ने क्रियाकलापको नियन्त्रणमा हामीहरू लाग्ने छौँ । चुनाव आफ्नो पक्षमा पार्नका लागि राजनैतिक दलका कार्यकर्ताबीच हुनसक्ने झडपलाई पनि मध्यनजर गरेका छौँ ।
गृह मन्त्रालयले उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा गरिसकेको छ । सबै मतदान केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी निर्वाचनमा खटिने छन् ।
निर्वाचन अस्वीकार गरिरहेको राजनीतिक शक्तिहरूले विरोध गर्ने र मनोनयन दर्तामा अवरोध गराउन सक्ने सम्भावनालाई मध्यनजर गरेर थप सुरक्षाकर्मी परिचालन गरिने छ ।
बिगतमा भएका कमजोरी र बदलिदो राजनीतिक परिस्थितिअनुसार सुरक्षा योजना निर्माण गरिएको छ । सुरक्षा स्थितिको विश्लेषणका आधारमा संवेदनशील क्षेत्रका रूपमा हेरिएको छ । सबै मतदान केन्द्रको छु्ट्टाछुट्टै सुरक्षा रणनीति तयार पारिसकेको छ ।
सामान्य, संवेदनशील र अति संवेदनशील भनेर छुट्याइएको मतदान केन्द्रमा त्यसैका आधारमा सुरक्षा रणनीति बनाइएको छ । उपनिर्वाचनलाई सुरक्षित बनाउने विषयमा गम्भीरताका साथ लागिरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु । छिट्पुट बाहेक अन्य कुनै पनि अवान्छित गतिविधि हुने छैनन् । भएका जति जनशक्ति परिचालन हुनेछन् ।
निर्वाचन क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन हुनेछन्, मोबाइल गस्ती पनि सञ्चालन गरिने छ ताकि हुन सक्ने गतिविधि नियन्त्रण गर्न सहज बनोस् र चुनाव शान्तपूर्ण होस भन्ने उद्देश्यका साथ काम गरिहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *