सम्बन्ध विच्छेद

सम्पादकीय

सम्बन्धलाई तोडने कार्य सम्बन्ध विच्छेद हो । सम्बन्ध विच्छेद बढी श्रीमान श्रीमतीको सम्बन्धलाई लिएर प्रयोग हुने गर्दछ । श्रीमान श्रीमती दुबैबीच एकता हुन नसक्ने अवस्थामा सम्बन्ध विच्छेद गरिन्छ । पहिले महिलाहरुको मात्रै प्रस्तावमा सम्बन्ध विच्छेद हुने र गर्ने कानुनी प्रावधान रहेको थियो अहिले त्यो प्रावधान संशोधन भएर अर्थात् मुलुकी ऐन संहिता नया आएपछि महिला पुरुष दुबैले सम्बन्ध विच्छेदको अधिकार पाएका छन् । कानुनी रुपमा यो अधिकार पाएपछि अहिले कानुनी रुपमा नै सम्बन्ध विच्छेद गर्नेहरु बढेका छन् । त्यो अधिकार महिला पुरुष सबैले प्रयोग गर्न सुरुसमेत गरेका छन् । दाङ जिल्ला अदालतको तथ्यांकमा सम्बन्ध विच्छेद माग्ने महिला पुरुषको संख्या हाराहारी मै रहेको छ ।
दाङमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै जाँदा परिवारमा विखण्डन पनि बढिरहेको देखिएको छ । एउटै घरमा एकै मन भएर बसेका दुबैजना एकअर्काबाट टाढा रहने गरी हुने सम्बन्ध विच्छेदले समाजमा नकारात्मक असर त पार्छ नै त्यसमा पनि परिवारमा विखण्डन बढाइरहेको छ । बस्नु भन्दा नबस्दा खुशी हुने अवस्थामा सम्बन्ध विच्छेद गरिनु स्वभाविक हो । तर कसैको लहलहैमा लागेर यो कार्य गरिनु उचित हैन र राम्रो पनि हुँदैन । पुरुषबाट महिलाहरु पीडित हुने विश्वास भइरहेका समयमा जिल्लामा महिलासँग पीडित भएको भन्दै सम्बन्ध विच्छेद गर्ने पुरुषहरु पनि बढी नै देखिएका छन् । कानुनले पुरुषलाई पनि त्यो अधिकार दिए पनि अहिले महिला र पुरुष अदालतमा सम्बन्ध विच्छेद गर्दै लिएर गइरहेको तथ्यांक सार्वजनिक हुँदै आएको छ । महिला, पुरुष दुबै सम्बन्ध विच्छेद गर्न थालेपछि जिल्लामा सम्बन्धको संख्या बढ्दै गएको हो । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने कानुनी व्यवस्था गरेपछि दाङमा यो अधिकार प्रयोग गर्नेको संख्या बढ्दै गएको हो । दाङ देउखुरी जिल्ला अदातलमा २ सय ९७ जना पुरुष तथा महिलाले सम्बन्ध विच्छेदका लागि मुुद्दा दर्ता गरेको तथ्यांक छ । अदालतमा सम्बन्ध विच्छेदका लागि १ सय २३ पुरुष र १ सय ७४ महिलाले मुद्दा दायर गरेको अवस्था छ । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह, अन्तरजातीय विवाह र मदिरा सेवन सम्बन्ध विच्छेदका कारण हुन् ।
सम्बन्धलाई बलियो र दीर्घकालिन बनाइनु पर्छ । साना गल्तीलाई कारण बनाएर भएको सम्बन्ध कसैले पनि तोड्ने काममा लाग्नु हँुदैन । सम्बन्ध सर्वश्रेष्ठ हुन्छ र बनाइनुपर्छ । सबैले सकारात्मक सोंचको विकास गरी विखण्डन हैन मेलमिलापको वातावरण बनाउन सके घर परिवार मात्रै हैन सिङ्गो राष्ट्र नै एकतामा बाँधिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *