तुलसीपुर, २० साउन ।
सञ्चार माध्यमहरुले आफ्नो प्रकाशकीय र सम्पादकीय नीति स्पष्ट हुनुपर्ने यहाँका सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सञ्चार नीति मिडिया हाउसले बनाएर भिजनका साथ जानुपर्ने बताए । दाङबाट प्रकाशन भइरहेको गोरक्ष दैनिकले आफ्नो वार्षिकोत्सवको अवसरमा तुलसीपुरमा गरेको अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले पछिल्लो समय प्रकाशकीय र सम्पादकीय नीति सञ्चारगृहमा नदेखिएको भन्दै त्यो आवश्यक रहेको बताए । उनले स्पष्ट नीति नहुँदा र सो अनुसार चल्न नसक्दा सञ्चारगृहहरुको संस्थागत विकास हुन नसकेको बताए । उनले हरेक सञ्चारगृहले आफ्नो व्यवस्थापकीय पक्षलाई मजबुद बनाउन आवश्यक रहेको बताउँदै आग्रह पूर्वाग्रहभन्दा पनि हरेक समाचारमा स्रोत बलियो बनाउनुपर्ने बताए । उनले समाचारको पुष्टीको विषयलाई समेत ख्याल गर्न आवश्यक रहेको बताए । अब दाङबाट प्रकाशन एवं प्रशारण हुने सञ्चारगृहहरुले समृद्धि र विकासको कुरामा कलम चलाउन आवश्यक रहेको भन्दै प्रमुख पाण्डेले स्थानीय सरकारलाई जवाफदेही बनाउने कामसमेत पत्रकारहरुको भएको बताउँदै दाङलाई प्रदेश राजधानी बनाउने मुद्दा उठाउनुपर्ने बताए ।
जिल्लामा रहेको हवाई सेवा, स्वास्थ्य, शिक्षा, सडक तथा भ्रष्टचार न्यूनिकरण र अपराधिक क्रियाकलाप रोक्न मिडिया हाउस र पत्रकारहरु लाग्नुपर्ने बेला आएको बताए । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा अध्यक्षहरु वीरेन्द्र कुमार शाह, नवराज लामिछाने र घनश्याम ढकालले आउँदा दिनमा पत्रिकाले स्थानीय मुद्दाहरुलाई जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्यले पत्रिकामा प्रकाशन हुने समाचार र अन्य सामाग्रीहरु पाठक केन्द्रित बन्न सक्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले समाचारहरुलाई राजनीतिक रंग दिइरहेको भन्दै त्यो भन्दा माथि उठेर समाजमा भएका राम्रा कुराहरुलाई समेत प्रकाशन गर्न सुझाव दिए । समय अनुसार समाज परिर्वतन भएसँगै पत्रिका पनि परिवर्तन हुन आवश्यक रहेको बताए । पत्रिकाका प्रकाशक सुलोचना गौतमले आम पाठकको सुझावलाई ख्याल गर्दै भए गरेका कमि कमजोरीलाई सुधार गरेर लैजाने बताइन् । कार्यक्रममा नेपाली काँग्रेस दाङका जिल्ला सदस्य सुरेन्द्र खड्का, प्रेस युनियन दाङका अध्यक्ष सुशिल बस्नेत, सामाजिक अभियन्ता टोपबहादुर महतरा, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, तुलसीपुर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटा, उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल, नेविसंघका नेता एकराज खड्का, अरुण लहरे, पत्रकारहरु संगीत बस्याल, नारायण भण्डारी, ध्रुबराज न्यौपाने, शरद रेग्मीलगायतले विभिन्न सुझाव दिएका थिए । पत्रकार ईन्द्र विवश डिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर प्रमुख बालाराम खड्काले गरेका थिए ।