सम्झौताको आधा समयमै निर्माण पूरा

मुख्य खबर समाज

तुलसीपुर, २५ भदौ । विकास निर्माणको काममा ढिलासुस्ती भएको खबर सार्वजनिक भइरहेको बेला दाङमा एउटा योजना निर्माण अवधिको आधा समय पहिलै सम्पन्न भएको छ । दुई वर्षको निर्माण समयावधि राखेर निर्माण सुरु भएको रावतगाउँ प्रगन्ना कुलो योजना एक वर्षमै पूरा भएको हो । दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको रावतगाउँ प्रगन्ना सिंचाई कुलो निर्माणको काम एक वर्षको अवधिमै सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण गरिसकिएको छ । ६ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कुलो लुम्बिनी जलजला जेवि निर्माण कम्पनीले जिम्मा लिएको थियो । १० करोड ५४ लाख बजेट विनियोजन भएको योजनाको निर्माण कम्पनीले घटी मुल्यमा ठेक्का लिदै ६ करोड ५१ लाख रुपैयाँमा काम पूरा गरेको सिंचाई डिभिजन कार्यालय दाङका प्रमुख केदार श्रेष्ठले जानकारी दिए । २०७४ साल असार २९ गतेदेखि २०७६ साल असारसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिएको योजना २०७५ असारमै सम्पन्न भएको छ । एक बर्ष अघि नै निर्माण सम्पन्न भएको नहरमा हेडबक्स, ईन्टेक, ड्राप २ वटा, ड्रेन टनेल १, पानी फ्याँक्ने २, सानो पुल ७ वटा, पानी बाँडफाँड गर्ने १, मुल नहर र शाखा नहर लाईनिङ पक्की ४४ सय ८० मिटर रहेको छ । तोकेको समय भन्दा एक वर्ष पहिले नै निर्माणको काम पूरा भएर हस्तान्तरण भएको श्रेष्ठले बताए । ४ सय ४१ हेक्टर जमिन सिंचाई गर्ने उद्देश्यले निर्माण गरेको योजनाले चारमौजाको खेतलाई सहज सिंचाई गरेको उपभोक्ता यमनारायण चौधरीले बताए ।

दंगीशरण गाउँपालिका–३ मा रहेको रावतगाउँ प्रगन्ना सिंचाई कुलो निर्माणको काम एक वर्षको अवधिमै सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण गरिसकिएको छ ।


बर्षाैसम्मको समस्या समाधान भएपछि स्थानीय किसानहरु पनि खुशी भएका छन् । खेतको सिंचाईको लागि पक्की कुलो र नहर बनेपछि यहाँका किसानहरु खुशी भएका हुन् । दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ३ का रावतगाउँ, चितनपुर, चखौरा र बिजुलीपुरको सिंचाई व्यवस्था गर्न रावतगाउँ प्रगन्ना सिंचाई कुलो पक्की गरिएको हो । दंगीशरणमा यस्तो उदाहरणीय काम भइरहदा दाङका अन्य स्थानमा भने बर्षाैदेखि निर्माणमा रहेको विकास निर्माणका कामहरु अलपत्र जस्तै बनेका छन् । निर्माण ब्यवसायीको चरम लापरबाहीका कारण तुलसीपुर– लमही सडकखण्डमा निर्माण थालिएका पुलहरु चार वर्षसम्ममा पनि पूरा हुन सकेको छैनन् । घोराही, तुलसीपुरमा निर्माण सुरु भएको फोरलेन सडकको पनि अवस्था त्यस्तै रहेको छ । कुलोको योजनालाई हेरेर भएपनि पुल र सडक निर्माणको जिम्मा लिएका निर्माण ब्यवसायीहरुले अब केही सोच्ने की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *