समृद्धि उन्मुख दाङ

फिचर मुख्य खबर राजनीति समाज

विविध कारणले थलिएको दाङ क्रमिक रुपमा अहिले समृद्धि उन्मुख बन्न थालेको छ । जिल्लाको समृद्धिमा विभिन्न आधार र ढोकाहरु खुल्न थालेका छन् । तत्कालिन अस्वस्थामा १० वर्ष युद्धले थलिएको दाङ शान्तिप्रक्रिया सुरु भएको १० वर्षसम्म अस्थिरतामा रुमलियो । शान्ति प्रक्रियासँगै नयाँ संरचनामा गएको देशलाई साथ दिदै विस्तारै–विस्तारै समृद्धितर्फ दाङ हिडेको छ । तत्कालिन सशस्त्र युद्धकै उद्गमथलो बनेको राप्तीको आधार अहिले दाङ बन्दै छ । दाङ, रोल्पा, सल्यान, रुकुम, प्युठानको प्रमुख आधार भनेर पनि दाङलाई चित्रण गर्ने गरिएको छ । दाङ विकास भएमात्रै आसपासको क्षेत्रमा विकास र समृद्धिले गति लिने विश्वास हुनु सकारात्मक पक्ष हो । शान्ति प्रक्रियाको सुरुवात र पहिलो संविधानसभाको निर्वाचनसम्म दंगालीहरुले कुनै न कुनै बाहनामा पीडा भोगिरहनु पर्ने अवस्था रहिरह्यो । नेता, कार्यकर्ता हुँदै आम नागरिक र कर्मचारीसमेत पीडाबाट अछुतो रहन सकेनन् । जसले धेरैलाई विक्षप्त बनायो ।
सशस्त्र युद्धकै समयमा दाङका सर्वसाधारण नागरिकदेखि उच्चस्तरका कर्मचारी, सुरक्षाकर्मीले समेत ज्यान गुमाउनु प¥यो । कति घरवारविहीन भए भने कति अशक्त मै जीवनयापन गर्नुपरिरहेको छ । युद्धरत पक्ष होस् या सरकार पक्ष वा नागरिक नै किन नहोस् यो अवस्था सबैको रह्यो । देश शान्ति प्रक्रियामा जाँदै गर्दा पहिलो संविधानसभाको निर्वाचनपछि दाङको मुहार फेरिने संकेत देखियो । दाङ सशस्त्र द्वन्द्वमा १० वर्ष पुरापूर विकासमा निदाउनुप¥यो । १० वर्ष निदाएको र १० वर्ष अस्तिरतामा डुबेको दाङ अब विकासमा फर्कन थालेको छ । जिल्लाको समग्र विकासले गति लिन थालेको छ । विषयगत रुपमा जिल्लामा आवश्यकता अनुसार कुनै न कुनै विषयको केन्द्र बन्दै विकासमा फड्को मार्दै गएको छ । जिल्ला विभिन्न विषयमा विकास केन्द्रित हँुदै गएको छ । पुनर्मिलन, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, यातायात, शहरीकरण, सडक सञ्चाल, मिडियालगायतका विषयको केन्द्रका रुपमा दाङ चिनिन थालेको छ । यो अवस्था द्वन्द्व पछिमात्रै सिर्जना भएको हो । युद्धको दङदङी भएको दाङमा मुलुकको नयाँ संरचनासँगै समृद्धिका आधारहरु बढदै गएका छन् ।

सिमेन्ट “हव”

कुनै समयसम्म औद्योगिक विकासमा पछि परेको दाङ अहिले सिमेन्ट उत्पादनको केन्द्र बनेको छ । विस्तारै दाङ जिल्ला सिमेन्टको हवको रुपमा स्थापित हुँदैछ । दाङको पहाडी भेगमा रहेको चुुुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै जिल्लाको तराई क्षेत्रमा साना ठूलो सिमेन्ट उद्योगहरु खोल्ने र सञ्चालन हुने क्रम बढिरहेको छ भने दाङ सिमेन्टमय बन्दै गएको हो ।२०६५ सालदेखि दाङ मा स्थापना हुन लागेका सिमेन्ट उद्योगहरु हालसम्म आइपुुग्दा सात सिमेन्ट उद्योगहरु स्थापना भएका छन् । यि मध्ये केहिले उत्पादन समेत थालिसकेका छन् भने केहि उत्पादनको तयारीमा रहेका छन् । केहि ब्यवस्थापनको चरणमा रहेको पाइएको छ । यसरी जिल्लामा स्थापना भएका उद्योगहरु एक अर्बदेखि १३ अर्बसम्मको लगानीमा छन् । जिल्लामा सिमेन्ट उद्योगमा मात्रै हालसम्म ५८ अरबभन्दा माथिको लगानी भइसकेको छ । उद्योग मन्त्रालयमा पनि सोहि अनुसार लगानी पेश गरिएको छ ।
जिल्लामा स्थापना भएको घोराही सिमेन्ट, सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योगले आफ्नो उत्पादन केहि वर्ष अघिदेखि नै बजारमा ल्याइसेका छन् । केहि तयारी गरिरहेका छन् । त्यसैगरेर दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा स्थापना भएको शुुभश्री अग्नी सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जनाएको छ । भने रोल्पा सिमेन्टले पनि उत्पादन बजारमा ल्याएको छ । जिल्लामा स्थाापना भएका दाङ सिमेन्ट उद्योग, अरनिको आबुुखैरेनी सिमेन्ट उद्योग भने सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा सञ्चालन भएका सिमेन्ट उद्योगले जिल्लालाई सिमेन्टमा आत्मनिर्भर समेत बनाएको छ । रोल्पामा एड्भान्स ग्रुपले आफ्नो उत्पादन अघि बढाई रहेको छ भने दाङमा पनि उद्योग सञ्चालनको तयारी गरेको छ ।

जिल्लामा आफ्नो उत्पादन गरिरहेका उद्योगहरुले पनि स्थापनाको तुलनामा दोब्बर उत्पादन गर्न थालेका छन् भने लगानीसमेत दोब्बरजस्तै बढाएका छन् । चार अर्बबाट सुरु गरेको सोनापुर सिमेन्टले आफ्नो लगानी बढाएर अहिले १० अर्ब पुु¥याएको र उत्पादन पनि दैनिक ८ हजार बोराबाट बढाएर २० हजार बोरा पुु¥याएको उद्योगमा महाप्रबन्धक हरि पाठकले जानकारी दिए । त्यसै गरेर क्लिङ्कर उत्पादन पनि दोब्बर बढाएको पाठकको भनाइ छ । उद्योगमा १ हजार ५ सयजना व्यक्तिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगार पाएका छन् । त्यसैगरेर ६ अर्बबाट उत्पादन सुरु गरेको घोराही सिमेन्ट उद्योगले पनि आफ्नो स्थापनाभन्दा आफ्नो लगानी र उत्पादन बढाएको बताएको छ । उद्योगका जनसम्पर्क अधिकृत विकास शर्माले आयात प्रतिस्थापन गर्ने उद्देश्यले उद्योगले उत्पादन बढाइरहेको बताए । त्यसैगरेर क्लिङ्करको पनि उत्पादन बढाएको उनले जानकारी दिए । उद्योगको लगानी ६ सय करोड स्थिर पुँजी रहेको छ ।
त्यसैगरेर सम्राट सिमेन्ट उद्योगले पनि आधुनिक जर्मनी प्रविधि प्रयोग गरी गुुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको जनाएको छ । पहिलो चरणमा सिमेन्ट मिल मात्रै सञ्चालन गर्न लागेको सम्राटले झण्डै दुई अर्बको लगानी सिमेन्टमा गरेको छ भने ११ अर्बको लगानी क्लिङ्कर उत्पादनमा गरेको गरेको सञ्चालक करण शर्माले जानकारी दिए । दैनिक ४० हजार बोरा उत्पादन गर्ने क्षमता भएको उद्योगले पहिलो चरणमा ३० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । क्लिङ्कर उत्पादन पनि सुरु गरेको उनले बताए । यसका लागि ११ अर्ब रुपैयाँको लगानीमा क्लिङ्कर उत्पादन सुरु भएको शर्माले बताए ।
रोल्पा सिमेन्टले आफ्नो उत्पादनलाई अहिले नियमित गरेको छ । उद्योगका जनरल म्यानेजर दिपक घिमिरेले उद्योगको उत्पादन बढिरहेको र अहिले दैनिक तीन हजार बोरा सिमेन्ट उत्पादन भइरहेको जानकारी दिए । उनले उद्योगको उत्पादले राप्ती अञ्चलको मागलाई सम्बोधन गरिरहेको जानकारी दिए । अरुण सिमेन्ट उद्योग पनि लमही नगरपालिका क्षेत्रमा पूर्वाधार निर्माणको तयारीमा जुटेको उद्योगले जनाएको छ । अहिले उद्योग सञ्चालनको लागि जग्गा खरिद र ब्यवस्थापनको काम भइरकेको भन्दै केहि दिनभित्र उद्योगको लागि आवश्यक पूर्वाधारहरु निर्माणको काम सुरु हुने उद्योगका धिरेन्द्र मल्लिकले जानकारी दिए ।

प्रसस्त चुनढुंगा

दाङको उत्तर दक्षिण पहाड चुनढुंगामय छन् । यहाँको चुनढुंगाले अहिलेका उद्योगहरुलाई सयाँै वर्षसम्म धान्नसक्ने सर्वेले देखाएको छ । जिल्लामा रहेको एक उद्योगले प्रयोग गर्ने चुनढुंगा खानी कम्तीमा पनि पाँच सय वर्षलाई पुग्ने क्षेत्र रहेको सर्वेमा रहेका अधिकारीहरुले बताउने गरेका छन् । यसलाई देखेर पनि दाङमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढिरहेको छ । उद्योग स्थापना मात्रै हैन दर्ताको क्रम पनि त्यत्तिकै रहेको छ ।

आयात घट्यो

जिल्लामा सिमेन्ट उद्योगहरु बढ्दै गएपछि सिमेन्ट आयातसमेत घटेको छ । जिल्ला सिमेन्टमा आत्मनिर्भर भएको र जिल्लामा उत्पादन भएको सिमेन्ट अन्य जिल्लामा निकासी भइरहेको उद्योगहरुले बताएका छन् । उद्योग सञ्चालकहरुले उद्योग सञ्चालनमा सरकारी पूर्वाधार पूरा नहुँदा केही समस्या भएको समेत बताउँदै आएका छन् । विद्युत, खानीसम्म सडक नहुँदा उद्योग सञ्चालनमा केही समस्या आएको उद्योगले कठिनाई भोग्नुपरेको उनीहरुको भनाइ छ । लगानी बढे पनि लगानीको वातावरण अझै सहज र सरल बनन नसकेको सञ्चालकहरुको गुनासो छ ।

औद्योगिक केन्द्र

जतिबेला देशमा युद्ध चलिरहेको थियो, त्यतिबेलासम्म जिल्लामा कुनै पनि उद्योगधन्दा, कलकारखाना सञ्चालनमा आउन सकेनन् । पहिलेदेखि सञ्चालन भएका केही साना उद्योगहरुसमेत बन्द हुने अवस्थामा रहे । जसले दाङ औद्योगिक विकासमा पछि प¥यो । यो अवस्था धेरैले भने टिक्न सकेन । देशमा शान्तिप्रक्रिया सुरु भएसँगै जिल्लामा ठूला तथा साना उद्योगहरु स्थापना हुनथाले । जसले दाङलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरेको छ । २०६५ सालपछि जिल्लालाई समृद्ध बनाउने एउटा माध्यम औद्योगिक क्षेत्र पनि बनेको छ ।
यसले दाङ औद्योगिक केन्द्रको रुपमा विकास हुँदैछ । जिल्लामा घरेलु उद्योगको रुपमा २ हजार ५ सयको हाराहारीमा उद्योगहरु सञ्चालनमा छन् भने चार अर्ब लगानी गरिएको छ । द्वन्द्वपछिको समयमा औद्योगीकरण बढिरहेको तथा यसतर्फको आकर्षणसँगै औद्योगिक क्षेत्र फस्टाउँदै गएको घरेलु तथा साना उद्योग कार्यालयको दाबी छ । जिल्लामा साना तथा घरेलु उद्योगमा ५० हजारदेखि पाँच करोडसम्मको लगानीमा उद्योगहरु स्थापना हुँदै गएका छन् । जसका कारण दाङको औद्योगिक क्रान्तिको विकास तिव्र बन्दै गएको छ । भने महिलाहरु पनि औद्योगिक विकासतर्फ उन्मुख भएका छन् । पछिल्लो समयमा दाङमा उत्पादन मुलक, सेवामूलक, कृषि तथा वनजन्य उद्योग र पर्यटन उद्योगको विकास उदयमान अवस्थामा पुगेको छ । जसका कारण दाङको आर्थिक समृद्धि पनि उत्तिकै मात्रामा विकास हुँदै गएको छ । जिल्लाका उद्योग वाणिज्य संघले पनि जिल्ला औद्योगिक केन्द्रको रुपमा विकास हुदै गरेको बताएका छन् ।

स्वास्थ्य समृद्धि

स्वास्थ्य समृद्धिका लागि जिल्लामा स्वास्थ्य क्षेत्रको विकासले पनि तिव्रता पाएको छ । सरकारी स्तरबाट होस् या निजीस्तरबाट जिल्लामा स्वास्थ्य क्षेत्र पनि सुधारात्मक अवस्थामा देखिएको छ । सरकारीस्तरबाट ठूला पाँचवटा अस्पतालहरु सञ्चालनमा छन् भने निजीस्तरबाट १० वटा अस्पतालहरु सञ्चालनमा रहेका छन् ।
सरकारीस्तरका मध्यपश्चिम आयुर्वेदिक क्षेत्रीय अस्पताल दाङको विजौरीमा रहेको छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रहेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ । लमहीमा सरकारीस्तरको लमही अस्पताल सञ्चालनमा छ । निजीस्तरबाट पनि जिल्लाका विभिन्न स्थानहरुमा ठूला अस्पतालहरु सञ्चालनमा आएको छ । त्यस्तै बेलझुण्डीमा आयुर्वेद शिक्षक अस्पताल पनि सञ्चालनमै छ । जसले जिल्लाबासीहरुलाई मात्रै नभएर आसपासका जिल्ला र क्षेत्रलाई उपचारमा सहज बनाएको छ । पछिल्लो समय जिल्ला स्वास्थ्यको केन्द्र बन्दै गएको छ । स्वास्थ्य अध्ययनको थलोसमेत दाङ बनेको छ । निजीस्तरको मेडिकल कलेज, सरकारीस्तरको मेडिकल कलेज सञ्चालनको तयारीमा रहेको छ । भने सरकारीस्तरबाट विएएमएसको पढाइसमेत सुरु भएको छ । निजीस्तरका नर्सिङ कलेजहरु भने जिल्लामा सञ्चालन हुँदै आएका छन् । विगतमा सम्भावना नभएका उपचारहरुसमेत अहिले जिल्लामा सहजरुपमा सञ्चालन हुनु नै स्वास्थ्य समृद्धिको आधार हो ।

शैक्षिक समृद्धि

पछिल्लो समय जिल्ला शैक्षिक केन्द्रको रुपमा पनि विकास भएको छ । जिल्लामा विश्वविद्यालयदेखि मन्टेश्वरीसम्मका विद्यालयहरु स्थापना भएका छन् । आवश्यकता अनुसार विषयगत शिक्षण संस्थाहरुको धमाधम स्थापना भइरहेका छन् । संस्कृत शिक्षाको उद्गम थलोको रुपमा रहेको दाङमा नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय संरचना रहेको छ । विश्व विद्यालयको तीनवटा ठूला क्याम्पसहरु सञ्चालनमा रहेका छन् । भने त्रिविको आंगीक क्याम्पस छ । त्यसैगरेर विभिन्न स्थानमा दर्जन बढी सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसहरुको स्थापना भएको छ । जिल्ला शैक्षिक हवको रुपमा विकास हुँदै गर्दा शिक्षामा राम्रा अवसरहरु पनि जिल्लामा पाइन थालेको छ ।
विभिन्न विषयगत अध्ययनको लागि स्नाकोत्तरसम्मका क्याम्पसहरु सञ्चालनमा आएका छन् । जिल्लामा स्वाथ्य, कृषि, पर्यटन, पत्रकारिता, इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आयुर्वेद चिकित्सा (विएएमएस) आइटी, वन विज्ञान, धार्मिक शिक्षाका विषयहरुको अध्ययन थलो बनेको छ । यसले पनि यस क्षेत्रलाई शैक्षिक समृद्धिमा छ भन्ने देखाउँछ  । जिल्लामा माध्यमिक तहसम्मका विद्यालयहरु ६ सय ४४ रहेका छन् । निजीस्तरको शिक्षामा लगानी पनि बढिरहेको छ । दाङ शैक्षिक केन्द्रको रुपमा रहेको शिक्षाविद् तथा पूर्व सहसचिव विष्णुमार देवकोटा बताउँछन् । उनको दाङ सबै क्षेत्रको सम्भावना बोकेको जिल्ला भएकाले शिक्षामा फड्को मारेको तर्क छ । सबै प्रकृतिका शिक्षण संस्थाहरु जिल्लामा स्थापना हुँदा यसले शैक्षिक केन्द्रको रुपमा विकास गरेको छ ।

बढ्दो शहरीकरण

दाङका शहरहरु स्थापना भएको धेरै भएको छैन । ब्यवस्थित रुपमा २०२९ सालदेखि शहर ब्यवस्थित भएको देखिन्छ । राप्तीको अञ्चल सदरमुकाम तुलसीपुरका शहरीकरणको योजनासहित २०२९ सालमा तत्कालिन अञ्चलाधीश चन्द्रमान थकालीले तयार गरेका हुन् । पुरानो बजार केन्द्रको रुपमा रहेको मानपुर विस्तार हुन नसकेपछि त्यहाँको बजार तुलसीपुरमा राखिएको हो । जो अहिले शहर केन्द्रको रुपमा विकास भएको छ । त्यस्तै गरेर दाङको घोराही राणाकालमै शहरको रुपमा स्थापित भएको थियो । जहाँ जिल्लास्तरका २००७ सालमा तीनवटा सरकारी कार्यालय स्थापना गरी बजार क्षेत्रको संकेत दिइएको थियो । तुलसीपुर २०४८ सालमा नगरपालिकाको रुपमा विकास भएको थियो भने घोराही २०३५ सालमै त्रिभुवननगर नगरपालिकाको रुपमा स्थापित गरिएको थियो । अहिले दुबै उपमहानगरपालिका भएका छन् । जिल्लाका नागरिकहरुको मात्रै केन्द्र भएको शहर विस्तारको चरणमा छ । त्यो सँगसँगै अहिले विकेन्द्रीकरणको चरणमा पनि छ । जिल्लामा पुराना र नयाँ शहरहरुको विस्तार बढिरहेको छ ।
तुलसीपुर, घोराही, लमहीमा आवादी बढेको छ । भने नारायणपुर, भालुवाङ, विजौरी, हापुरे, गढवा, उदाउँदा शहरको रुपमा रहेका छन् । ठूला शरहहरुमा अहिले बढ्दो शहरीकरण छ । विभिन्न जिल्लाबाट नियमित रुपमा दाङमा बसाई सर्नेको संख्या अत्यधिक रहेको छ । जिल्लाको तथ्यांकलाई हेर्दा वार्षिक २० हजारको हाराहारीमा अन्य जिल्लाबाट बसाई सरेर दाङका शहरहरुमा आउने गरेको पाइएको छ । मानिसहरुको चापले दाङका शहरहरुमा शहरीकरण बढेको छ । बजार क्षेत्रमा आवादी बढ्दै गएको छ । सुविधा खोज्नेहरुले अहिले शहर केन्द्रित हुन थालेका छन् । खासगरेर, सल्यान, रुकुम, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मी, जाजरकोटबाट बसाई सरेर आउनेको संख्या बढी नै रहेको छ ।

यातायात समृद्धि

दाङ यातायात क्षेत्रको विकासमा छलाङ् मारेको छ । पश्चिम नेपालको यातायातको केन्द्र बनेको दाङ यातायातमा स्तरीय सेवा र सञ्चालनलाई तीव्र गतिमा विकास गरिरहेको छ । नेपाल भारत जोड्ने यातयात सेवा होस् या स्थानीयस्तरमा सञ्चालन भएका सेवा होस् अहिले स्तरीय बन्दै गएका छन् । जसका कारण यात्रुहरुले स्तरीय यातायात सेवा पाईरहेका छन् ।
विगतका वर्षमा आजित भएको यातायात क्षेत्र केहि वर्षदेखि उत्साहजनक रुपमा समृद्धिको बाटोमा गएको छ । जिल्लामा यातायात सञ्चालनका लागि समिति र प्रालिहरुले सेवालाई प्रतिस्पर्धात्मक रुपमा लिएका छन् । पछिल्लो समय यात्रुहरुको माग र आवश्यकतासँगै जिल्लामा स्तरीय यातायात क्षेत्रको सेवाको विकासलाई आत्मसात् गरिरहेको नेपाल यातायात व्यवसायी महासंघका सल्लाहकार तथा राप्ती अञ्चल सार्वजानिक बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल बताउँछन् ।
पछिल्लो समय दाङमा यातायात संघसंस्थाहरु खुल्ने क्रम पनि उत्तिकै बढेको छ । जसका कारण सेवाको प्रतिस्पर्धा पनि उत्तिनै छ । बर्षेनी सयौँ सार्वजानिक यातायातहरु भित्रिने क्रम बढ्दै गएको छ । अहिले जिल्लामा दर्जन यातायाताका संस्थाहरु ६ हजारको हाराहारीमा सार्वजनिक सवारीका साधनहरु रहेका छन् ।

राजधानीको खोज्दै दाङ

मुलुक संघीय संरचनामा गएको छ । संघीय संरचनाले नेपालमा सातवटा प्रान्त निर्माण गरिएको छ । संविधान जारी भएपछि यसको सुनिश्चिततासमेत बढेको छ । दाङ ५ नम्बर प्रदेशको मध्यविन्दुमा पर्छ । पूर्व परासीदेखि पश्चिम बर्दियासम्मको भूभाग यो प्रदेशमा भएकाले बीचमा रहेको दाङ प्रदेश राजधानीको आशमा बसिरहेको छ । यद्यपि अस्थायी राजधानी बुटवलमा तोकिएको छ ।
मध्यविन्दुमा रहेको दाङ राजधानी बनाउने संकेतमा स्थापना भएका संरचनाहरुले पनि अहिलेसम्म राजधानीको दावी गर्न दंगालीले छोडेका छैनन् । प्रदेश प्रहरी, उच्च अदालतको स्थापना, सरकारी मेडिकल कलेजको स्थापना, त्यसैगरेर विश्वविद्यालय, टरिगाउँ एयरपोर्ट यसका केही दाबीका आधार हुन् । राजनीतिक पहँुच तथा प्रदेशको सेन्टर भागमा रहेकाले पनि यसमा दाङ राजधानीको बलियो दाबेदार देखिएको छ । राजधानीका लागि उपयुक्त स्थान, खाली जग्गा, पूर्वाधार, खानेपानीको प्राप्तता राजधानीका लागि दाङका मुख्य स्तम्भ भएको स्थानीयस्तरमा ठहर छ ।

आर्थिक समृद्धि

जिल्लामा धमाधम ठूला उद्योगहरु सञ्चालन हुन थालेपछि जिल्लाको आर्थिक सवलीकरण पनि बढिरहेको छ । सामान्य र साना उद्योगले मात्रै टेकेको दाङ अहिले सिमेन्ट उद्योगले भरिभराउ भएको छ भने सिमेन्टकै लागि बाहिरिने अर्बाै रकम जिल्लामै रहेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङ आर्थिक सवलीकरणतर्फ गइरहेको बताए । उनले अहिले उद्योगहरु छरिएर रहेको भएपनि अब औद्योगिक क्षेत्रको स्थापना हुन थालेकोले अझ बलियो बन्ने बताए । चेम्वर अफ कमर्श दाङका अध्यक्ष दिपक सुवेदीले उद्योग कलकारखाना र ब्यवसायले अर्थतन्त्रमा टेवा पु¥याइरहेको बताए । आर्थिक रुपमा सम्पन्न बन्न उद्योग ब्यवसाय आवश्यक पर्छ । जिल्लामा त्यो बढिरहेको त उनले भने अब आर्थिक रुपमा पनि जिल्ला बलियो बन्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *