समुदायका अगुवालाई नेतृत्व विकास तालिम

मुख्य खबर समाज

गढवा, २१ मंसिर । गढवा गाउँपालिकाका अल्पसंख्यक थारू कुमाल समुदायका अगुवाका लागि नेतृत्व विकास र आर्थिक अधिकार तथा श्रोत परिचालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा इको कोअपरेशन नेपालको प्राविधिक सहयोगमा सहकर्मी समाज वीरेन्द्रनगर सुर्खेतद्वारा बाँके र दाङमा सञ्चालित राइट टु अर्न–अ लिभिङ रियल प्रोजेक्टअन्तर्गत गढवा गाउँपालिकामा रहेका अल्पसंख्यक तथा सिमान्तकृत थारू कुमाल समुदायका अगुवालाई नेतृत्व विकास, आर्थिक अधिकार तथा श्रोत परिचालन सम्बन्धी तीनदिने तालिम दिइएको हो ।
सहकर्मी समाजद्वारा सञ्चालित उन्नति कृषक समूहका अध्यक्ष जगतबहादुर कुमालको सभापतित्व तथा सहकर्मी समाज नेपाल वीरेन्द्रनगर सुर्खेतका प्रमुख राजाराम गुप्ताको प्रमुख आतिथ्यमा तालिम भएको हो । उक्त तालिममा सहभागीहरूले तालिमबाट आफूमा सकारात्मक उर्जा थपिएको र समाज रूपान्तरणमा पहल गर्न सक्ने बताए ।
तीनदिने तालिममा नेतृत्व सीप, असल नेताका लागि आवश्यक सीप तथा गुण, सफल नेतृत्वको लागि आवश्यक पर्ने नियमहरूको बारेमा जानकारी, नेतृत्वशैली, अधिकार तथा मानव अधिकारको बारेमा, जानकारी महिला, बालबालिका तथा आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार, राजनीतिक तथा नागरिक अधिकारको बारेमा सहभागीहरूलाई सिकाइएको रियल प्रोजेक्टका कार्यक्रम संयोजक खड्गप्रसाद शर्माले बताए ।
तालिममा स्थानीय श्रोत तथा साधनमाथिको पहुँच बढाउन गरिने प्रयास तथा ध्यान दिनुपर्ने कुराहरू र योजना निर्माणको सात चरणको बारेमा सिकाइएको प्रशिक्षक दण्डप्रसाद चापागाईले बताए ।
तालिममा सहभागीहरूले गाउँघरमा पाइने तर पहिचान नभएको श्रोत साधनलाई प्रयोग गर्ने तरिका, प्राकृतिक रूपमा उपलब्ध रहेको श्रोतको सदुपयोग, स्थानीय श्रोतमाथि पहुँच हुन न सक्नुका कारण, समूह, समिति, उपसमितिभित्रको आन्तरिक श्रोतको पहिचान गर्ने तरिका तथा वैकल्पिक श्रोतको पहिचान र श्रोत प्राप्तिका क्रममा ध्यान दिनुपर्ने बारेमा जानकार भएको बताएका छन् ।
अब गाउँ टोलको योजना छनौट गर्नमा अहम् भूमिका निर्वाह गर्नसक्ने भएका सहकर्मी समाजका सहजकर्ता तथा वरिष्ठ संस्थागत क्षमता विकास संयोजक राजाराम गुप्ताले बताए ।
परियोजनाले गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ६ मा रहेका अल्पसंख्यक तथा सीमान्तकृत समुदाय थारू कुमालको दीगो जीविकोपार्जनको लागि कृषि, पशुपालन, क्षमता विकास, सीप विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको सहकर्मी समाजको वरिष्ठ सामाजिक परिचालक रामबहादुर चौधरीले बताए ।
कार्यक्रममा हरियाली कृषक समूह गढवाकी सिटुल कुमाल, उन्नति कृषक समूह गढवा–४ परस्पुरका उत्तमकुमार थारू कुमाल, दियाबाती कृषक समूह गढवा–३ खैराका अनुपा थारू कुमाल तथा रेडियो साझा आवाज गढवाका स्टेशन म्यानेजर दुखहरण यादवलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सहकर्मी समाजका वरिष्ठ सामाजिक परिचालक रामबहादुर चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *