समितिको प्रतिवेदनमा राजनीतिः प्रधानमन्त्री

फिचर मुख्य खबर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा …
दाङ, ६ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छानबिनका लागि गठन भएको समितिले पेश गरेको प्रतिवेदनमा राजनीतिकरण देखिएको बताएका छन् । कुलपति एवं प्रधानमन्त्री ओलीले प्रतिवेदनमा प्रष्टरुपमा राजनीति देखिएको बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैलीलाई लिएर तीब्र असन्तुष्टिसमेत जनाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले प्रतिवेदन बुझाउनु अघि नै मिडियामा सार्वजनिक गरेर समितिले राजनीति गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले समितिमाथि असन्तुष्टी जनाए । प्रधानमन्त्री ओलीले समितिको कार्यशैली उपयुक्त नभएको टिप्पणी गरे ।
प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले गत जेठ ३० गते समिति गठन गरेको थियो । समितिको हवाला दिदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीलाई कारबाही गर्न सिफारिससहितको प्रतिवेदन तयार भएको सार्वजनिक भएको थियो ।
उपकुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन पहिले नै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशन प्रशारण भए पनि प्रधानमन्त्री प्रतिवेदन र समितिप्रति तिव्र असन्तुष्ट देखिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनुपर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको र यसले प्रष्टरुपमा राजनीति गरिएको बताए ।
‘समितिले प्रतिवेदन सबैभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो, तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाइएछ, प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा रहेका सदस्यहरु छानबिन गर्न जानुभएको हो की, राजनीति गर्न जानुभएको ?’ जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नुपर्दछ । यहाँ त्यस्तो देखिएन ।
प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनीयतामा प्रश्न उठेको बताए । ‘प्रतिवेदन कुलपतिलाई बुझाउनुभन्दा पहिला अन्यत्र बुझाएर दबाब सिर्जना गर्न खोजिएको छ, तर त्यस्तो दबाबमा पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु, प्रधानमन्त्री ओलीले भने । छानबिन समितिको यस्तो प्रतिवेदनको कुनै औचित्य नरहेको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए । सरकार कसैको दबाब र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराए ।
प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न पनि सचेत गराए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार हुनुहँुदैन । सेवालाई स्वइच्छाभावले अघि बढाउनुपर्छ उनले भने । यति दोषी देखिएर त्यस्ता केही पुष्टि भएका कोहीलाई पनि नछोड्ने समेत बताए ।

बालुवाटारमा सिनेट

प्रतिष्ठानको तेस्रो सभा प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा गरिएको छ । दाङमै गरिनुपर्ने सभा कुलपतिको सहजताका लागि काठमाडौँमा सिनेट गरिएको उपकुलपति प्राडा संगीता भण्डारीले बताइन् ।
जिल्लामै गर्ने प्रस्ताव गरिएका भए पनि कुलपतिको स्वास्थ्यलगायतका कारण बालुवाटारमा सिनेट गर्नुपरेको बताइन । ऐनमै कुलपतिले तोकेको मिति र स्थानमा सिनेट हुने कुरा उल्लेख भएकाले कुलपतिको सहज पनि हेरिने गरिएको उनले बताइन् ।
उपकुलपति भण्डारीले सिनेटले तीनवटा विषयमा निर्णय गरेको बताइन् । बजेट पारित, प्रतिष्ठानको गुरुयोजना निर्माण र अस्पताल निर्माणको लागि बजेट सुनिश्चित गर्ने र शैक्षिक प्राज्ञीक समिति गठन गर्ने निर्णय गरेको बताइन् ।
प्रतिष्ठानभित्रकै चिकित्सक र पदाधिकारी सहभागी रहेका समिति गठनका लागि प्रस्ताव भएको उनले जानकारी दिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि अनुदान १२ करोड र आन्तरिक स्रोतको गरेर २६ करोड बराबरको बजेट पास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *