तुलसीपुर, ७ असोज । विजय गुप्ता कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । उनी अहिले एसईईको तयारीमा लागिरहेका छन् । बोल्न र सुन्न नसक्ने विजय अहिले दोभासेको सहारामा आफ्नो पढाइलाई निरन्तरता दिदै आएका छन् ।
परीक्षाको तयारीमा जुटिरहेका विजय आफूमात्र नभई अन्य साथीहरु पनि दोभासेकै सहारामा पढ्दै आएको बताए । गुरुजजुर नमुना मावि कक्षा १० मा अध्ययन गर्दै आएका बहिरा विद्यार्थीहरु समावेशी शिक्षाको नाममा आफूहरुलाई सरकारले अन्याय रहेको बताउने गरेका छन् । सुन्ने र नसुन्ने सबै विद्यार्थीहरुलाई एउटै कक्षाकोठामा राखेर पढाउँदै गर्दा आफूहरुको सिकाइमा समेत समस्या भइरहेको उनीहरुको गुनासो छ ।
हामी कक्षा १० मा पढ्ने विद्यार्थी हौँ । आगामी वर्षको एसईईको तयारीमा हामी अहिलेदेखि नै जुटिरहेका छौँ । न त हामी सुन्न नै सक्छौँ, न त हामी बोल्न नै सक्छौँ, भालुवाङका कमल थापाले भने, ‘हामी अनुकूलको शिक्षा नहुँदा समस्या भइरहेको छ ।
घरपरिवार, समाज र गाउँभित्र रहेको पीडालाई जसोतसो सामना गरेर अध्ययन गर्दै आएका बहिरा बालबालिकाहरुलाई सरकारले पनि बेवास्ता गरेको गुनासो छ । आफूले बोलेका कुरालाई घरपरिवारले पनि नबुझ्ने हुँदा अत्यावश्यक कुराहरुबाट पनि आफूहरु बञ्चित हुनुपरेको गुनासो गरे ।
विद्यालयमा सुस्तश्रवण तथा बहिरा विद्यार्थीहरुका लागि पढ्ने कक्षाकोठा छुट्टै नहुँदा पढ्नु र नपढ्नु एउटै भएको उनको भनाइ छ । आउँदै गरेको एसईई परीक्षाको तयारी कसरी गर्ने ? भन्ने विषयमा शिक्षक र विद्यार्थीको दूरीसमेत नजिक हुन नसकेको उनको अनुभव छ ।
कक्षाकोठामा सबै प्रकारका विद्यार्थीहरु बसेर पढ्ने गरेका छौँ’ उनले भने ‘सुन्नेका लागी शिक्षकले पढाउनु हुन्छ, हामी नसुन्नेका लागि शिक्षकसँगको दूरी झन–झन टाढिदै गएको छ । कक्षा १० सम्म पढ्दै गर्दा अहिलेसम्म आफूले जानेर नभई अरुले लेखेको सारेरै पास हुने गरेको उनले बताए ।
कक्षा ८ मा पढ्दै आएकी निर्मला केसीले पनि स–साना कुराहरु पनि लेखेर बताउनुपर्ने समस्या रहेको बताइन् । आफ्नो साथमा दोभासेहरु नहँुदा घरपरिवारदेखि गाउँ समाज सबैबाट एक्लिएर बस्नुपर्ने बाध्यता रहेको निर्मलाले बताईन् ।
सल्यान घर भई हाल तुलसीपुरमै कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी निर्मला गाउँ समाजले लाटी भनेर बोलाउँदै निकै दुःख लाग्ने बताउँछिन् । ‘हामी हाम्रो भाषामा बुझ्न खोज्छौँ, अरु प्राकृतिक भाषामा बुझ्न खोज्छन् त्यसैले निकै समस्या पर्छ’ उनले भनिन् ‘अरु त त्यस्तै हो शिक्षकहरु समेत अलमलमा पर्नुहुन्छ ।’
दोभासेकै समस्याका कारण सम्मानजनक तरिकाले हिडडूल गर्न र बजारमा गएर आफै सामान किन्न निकै गाह्रो पर्ने गरेको उनीहरुको भनाइ छ । गाउँघरमा अपाङ्ग भएकै कारण पिटाईसमेत सहेर बस्नु परेको पीडा पनि बालबालिकामा छ ।
सरकारले सुन्ने र नसुन्ने विद्यार्थीहरुका लागि छुट्टै कक्षाको व्यवस्था गरी सहज तरिकारले पढ्न पाउने व्यवस्था गरिदिनु पर्ने उनीहरुको माग छ । विशेषगरी रजस्वलाको समयमा छात्राहरु बोल्न र सुन्न नसक्दा सेनेटरी प्याडको प्रयोग र आवश्यक पर्ने अन्य सामग्री तथा समस्याहरुलाई बुझ्न र बुझाउन कठिन हुने गरेको अन्य बहिरा विद्यार्थीहरुको भोगाइ छ ।
आफ्ना छोराछोरीले सुन्न र बोल्न नसक्दा परिवारमा निकै समस्या पर्ने गरेको अभिभावकहरुको गुनासो छ । आफ्ना सन्तानले प्रयोग गर्ने सांकेतिक भाषाको ज्ञान आफूहरुलाई नहुँदा उनीहरु घरमा दिनभर एक्लै बसिरहने गरेको अभिभावक हैसरा गुरुङले बताइन् ।
तीन सन्तानमध्ये दुई सन्तान नै बहिरा भएको बताउँदै उनले सरकारले बहिरा बालबालिकाहरुको हेरचाहको लागि भएपनि आमाबुवाहरुलाई सांकेतिक भाषाको शिक्षा दिन अत्यावश्यक माग राखिन् ।
भाषा दिवसमा अन्तरक्रिया कार्यक्रम
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका अवसरमा तुलसीपुरमा बहिरा अपाङ्गता भएका व्यक्तिहरुको समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । सोमबार सबैका लागि सांकेतिक भाषाको अधिकार, सांकेतिक भाषा सिकौँ, बहिरा व्यक्तिको साथी बनौँ भन्ने मुल नाराका साथ उक्त अन्तरक्रिया कार्यक्रम मनाइएको हो ।
राप्ती बहिरा संघको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था, राजनैतिक पहुँचको अवस्था, दोभासेको उपलव्धतामा भएको कमीले आउने समस्या, सार्वजनिक सेवा सुविधाका भएका समस्या, रोजगारी, आर्थिक सशक्तिकरण लगायतका विभिन्न क्षेत्रमा भएका समस्याका बोरमा छलफल गरिएको थियो ।
कार्यक्रम तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास महाशाखा प्रमुख माया श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सरकारले विशेष नीति तथा नियमहरु निर्माण गर्न आवश्यक रहेको बताईन् ।
यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं ५ का अध्यक्ष देविदत्त आचार्यले समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रतिको सोच, मानसिकता र धारणा अझै संकुचन भएको बताए ।
बहिरा व्यक्तिहरुले पनि समाजका केहि गर्न सक्छन् भनि उनीहरुलाई प्रेरणा दिनुको सट्टा मनोबल घटाउने काम भईरहेको भन्दै यस्तो नगर्न उनले सबैलाई अनुरोधसमेत गरे । बहिरा संघकी उपाध्यक्ष रीता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण देवा डाँगीले गरेकी थिइन् ।