तुलसीपुर, ४ चैत । नेपाल नेत्रज्योति संघ दाङले सभामुख कृष्णबहादुर महरासँग राप्ती आँखा अस्पतालको भौतिक निर्माणको लागि पहल गरिदिन आग्रह गरेको छ ।
संघका पदाधिकारीहरुले सभामुख महरालाई भेट गरी अस्पतालले तयार पारेको गुरुयोजना तथा निर्माण सुरु गरेको ओपीडी भवनका लागि आवश्यक बजेटको बारेमा जानकारी गराएको संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।
गिरीले उक्त अवसरमा विगत ३० बर्षदेखि साविक राप्ती अञ्चलमा आँखा स्वास्थ्य सेवा प्रदान गदै आइरहेको अस्पतालमा हाल बिरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएको र भौतिक संरचना नहुँदा सेवा पर्याप्त नदेखिएको हुँदा आवश्यक सहयोगको लागि सभामुखलाई आग्रह गरेका थिए ।
सभामुख समक्ष संघले अस्पतालको भौतिक निर्माणका लागि तयार पारेको गुरुयोजना र ओपीडी भवनको लागत अनुमानित बजेट विनियोजनका लागि सम्बन्धित कार्यालयमा सहयोग गरिदिन अनुरोध गरेको संघका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उक्त अवसरमा सभामुख कृष्णबहादुर महराले अस्पतालको भौतिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले अस्पतालले तयार पारेको गुरुयोजना र भौतिक निर्माणका लागि आवश्यक बजेट विनियोजन गराउन सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने बताएका थिए ।
‘अस्पतालको विकासका लागि मेरो तर्फबाट हुने सबै सहयोग हुनेछ, तपाईहरुले तयार पारेको गुरुयोजना, आवश्यक बजेटका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस मेरो तर्फबाट हुन्छ’ सभामुख महराले भने । संघका सभापति कृष्णकुमार गिरी, सचिव सुरेन्द्रबहादुर खड्का, कोषाध्यक्ष श्यामप्रकाश आचार्य सहितको टोलीले भेट गरेको थियो ।
