सबैलाई एकतावद्ध गर्नुपर्नेमा जोड

फिचर मुख्य खबर

६२औं राष्ट्रिय सहकारी दिवस
तुलसीपुर, २१ चैत । दाङको तुलसीपुरमा ६२औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ ६२औँ सहकारी दिवस मनाईएको हो । जिल्ला सहकारी संघको आयोजना तथा तुलसीपुर उमहानगरपालिकाको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाभित्र भएका सहकारी संस्थाले ६२औँ राष्ट्रिय सहकारी दिवस मनाएका हुन् ।
दिवसको अवसरमा बोल्ने सहभागीले सहकारी संस्थाले आर्थिक समृद्धिका लागि सबैलाई एकतावद्ध गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा तुलसीपुर उमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आर्थिक समृद्धिको प्रमुख आधार सहकारी भएको बताए ।
सानो पुँजीमा पनि सहकार्यमार्फत समृद्धि प्राप्त गर्न सकिने भन्दै सहकारीले नगरका सबै नागरिकलाई समेट्नुपर्नेमा जोड दिए । नगरमा करिब २ लाख नागरिक भएको भन्दै उनले सहकारीमा १५ हजार नागरिक मात्रै समेटिएको बताए । सहकारीले अब विस्तारै ग्रामीणस्तरका नागरिकलाई समेट्नुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगी, तुलसीपुरका सहकारी समिति संयोजक टोपबहादुर केसी, तुलसीपुर उमहानगरपालिका सहकारी शाखा प्रमुख गिरिराज मिश्र, वडा नम्बर १६ का अध्यक्ष भूपबहादुर केसी, सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव रमा आचार्य, लेखा सुपरीवेक्षण समितिका संयोजक हेमराज गौतम, राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त योगी लगायतले सहकारी बलियो हुन वित्तीय पहुँचलाई सुनिश्चित गर्नुपर्नेमो जोड दिए ।
जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम हुनुपूर्व तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
यसैबीच ¥याली सहभागी हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट भएको छ ।
त्यसैगरी राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था द्वितीय, पिपल चौतारी कृषि सहकारी संस्था तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीयलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
यस्तै साताव्यापी कार्यक्रममा भएको वक्तृत्वकला प्रतियोगिताका विजेतालाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुपबहादुर खत्रीले गरेका थिए ।

मुलुकलाई समृद्वि बनाउन सहकारीको भूमिका

प्रिया स्मृती गजमेर
देउखुरी, २१ चैत । मुलुकलाई आर्थिक रुपले समृद्वि गर्न सहकारी संस्थाको महङ्खवपूर्ण भूमिका रहेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताएका छन् । लमही नगरपालिकाले आयोजना गरेको ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा लमही नगरपालिका नगर प्रमुख केसीले यस्तो यस्तो बताएका हुन्  ।
नगर प्रमुख केसीले सहकारी संस्था रहरले नभई सहकारीसम्बन्धी अध्ययन गरेर सञ्चालन गर्नुपर्ने भन्दै, सहकारी नेतृत्व गर्ने व्यक्तिबाट मात्रै सहकारीको विकास हुने बताएका हुन् ।
त्यस्तै लमही नगरपालिका उपप्रमुख देवका बेल्वासेले सबै सहकारीहरु मिलि सहकारीकै विकास गर्न सकिने भन्दै जनताको पैसाले चलाएको सहकारीलाई योजनावद्वबाट व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने बताइन् । सहकारी नाफामुखी नभई सेवामुखी बनेर जनतालाई सेवा उपलब्ध गराउनुपर्ने उपप्रमुख बेल्वासेको भनाई छ ।
यस्तै लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लमही नगरपालिकाले सहकारी ऐन २०७५ पास गरेको र उक्त ऐनलाई आधार मानेर सहकारीका गतिविधिलाई अगाडि बढाएको बताएका छन् ।
कार्यक्रममा जिल्ला सहकारी महासंघका सदस्य मिनराज घिमिरे, बचत तथा ऋणतर्फबाट फणाधर ढकाल, कान्तिपुर कृषि सहकारी संस्थाका अध्यक्ष तुलसी अधिकारी, जिल्ला कृषि संघका उपाध्यक्ष तेजमणि ज्ञवालीलगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुबाट कर्मचारी, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका योजना शाखाका कर्मचारी पुष्पराज अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *