घोराही, ६ पुस । दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले दाङमा तीन सय कम्मल वितरण गरेको छ । चिसो मौसम सुरु भएपछि प्रत्येक बर्ष झै प्रालिले यस बर्ष पनि दाङका विभिन्न स्थानमा पुगेर कम्मलहरु वितरण गरेको जानकारी दिएको छ ।
कम्पनीले तुलसीपुर उपमहानगरका विभिन्न स्थान, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकालगायतका स्थानहरुमा कम्मल वितरण गरेको छ । बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा संघमा रहेका एकसय सुस्तश्रवण बालबालिकाहरुका लागि कम्मल वितरण गरिएको हो । कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको अध्यक्षता एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले एक सयभन्दा बढी बहिरा बालबालिकालाई उचित ब्यवस्थापन गर्न चुनौति रहेको भन्दै सबैले राप्ती बहिरा संघलाई सहयोग गर्नुपर्ने बताए । उनीहरुले स–साना बालबालिकाहरुलाई संरक्षण र शिक्षा प्रदान गर्नसमेत राप्ती बहिरा संघले ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष रावतले विगतका तिक्ततालाई बिर्सेर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने भन्दै आफूहरु सहयोग र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले राप्ती बहिरा संघलाई सबैले सहयोग गर्नुपर्ने समेत बताए । कार्यक्रममा सगरमाथा सिमेन्टका जनसम्पर्क अधिकारी अमर सुवेदीले यसबर्ष दाङका विभिन्न स्थानहरूमा रहेका विपन्न परिवारलाई घरमै पुगेर जाडोमा आवश्यक पर्ने सामाग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा संघकी निर्देशक प्रतिमा शर्माले होस्टेल र विद्यार्थीहरुलाई ब्यवस्थापन गर्न निकै चुनौति रहेको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा दामोदर भण्डारी, शरद रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कम्पनीले जेष्ठ नागरिक, दृष्टिबिहीन तथा बहिरा बालबालिकाहरुलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी कम्मलहरु वितरण गरिएको कम्पनीका अर्का जनसम्पर्क अधिकारी विकाश शर्माले जानकारी दिए ।