- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसक्षम व्यक्तिको आवश्यकता

सक्षम व्यक्तिको आवश्यकता

- Advertisement -spot_img

दाङसहित देशभर अहिले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह गरेर जनप्रतिनिधिको ५० पद रिक्त छ  । दाङमा क्षेत्र नम्बर ३ (२) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्षको पद गरी दुई पद रिक्तमा उपनिर्वाचन हुदैछ ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको मितिसमेत तय गरिसकेको छ । मिति तोकिएसँगै दुई ठूला दल नेकपा र नेपाली कांग्रेसले चुनावी गतिविधि बढाउन थालेका छन् । दलहरुले उमेरदवारको छनोटको लागि आन्तरिक तयारीमा जुटेका छन् ।
दलभित्र पनि विभिन्न आफूलाई योग्य ठान्ने उमेरदवारहरु दलभित्र लविङ थालिसकेका छन् । दलहरु पनि चुनाव जित्न सक्ने उमेदवार छनौटमा लागेका छन् । दलभित्र विभिन्न तहका नेताहरु आकांक्षी देखिए पनि दक्ष र जनताको काम गर्ने उमेदवार छनौट गर्न दलहरु आन्तरिक तयारीमा जुटेका हुन् ।
खासगरी आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा दलका नेतृत्वले हाम्रोभन्दा पनि राम्रो उमेदवार छनौट गर्नुपर्ने कार्यकर्ताले अपेक्षा गरेका छन् । दाङमा दुई पदका लागि हुने उपनिर्वाचनमा दलहरुले कस्ता उमेदवार छनौट गर्नुपर्ला ?
राम्रोभन्दा पनि हाम्रो मान्छेलाई काखी च्याप्ने विगतको परम्परा अन्त्य होला यसपटकको उपनिर्वाचनमा ? चुनावी गतिविधिलाई दलहरुले कसरी लैजादै छन् कार्यकर्तामाझ ? जस्ता कुराकानीमा आधारित आजको राउण्ड टेवल सारसंक्षेप प्रस्तुत गरेका छौं । 


नेतृत्वमा सक्षम उमेदवार

शंकरप्रसाद डाँगी
सचिव
नेपाली कांग्रेस दाङ

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उमेदवार छनौट गरिसकेको छैन् । पार्टीभित्र हामीहरु आन्तरिक तयारी थालेका छौँ । अहिले नै घोषणा गर्न नमिले पनि हामीले नागरिकलाई सक्षम नेतृत्व दिनेछौँ ।
पार्टीमा प्रायजसो गरी सबैजना दक्ष र सक्षम व्यक्तित्वहरु नै अहिले आकांक्षी देखिनुभएको छ । खासगरी पार्टी नेतृत्वले जे निर्णय गर्छ हामीले त्यहि कुरा मान्छौँ । नीति र विधि अनुसार नै अबको उपनिर्वाचनमा उमेदवार छनौट हुन्छ । पक्कै पनि जनताले दिएको अमूल्य मत खेर नजाने नेतृत्व नै नेपाली कांग्रेसको उमेदवार हुनेछ ।
चुनावको मिति घोषणा गरेसँगै पार्टीभित्र विचार वहस चल्ने गरेको छ । हामीले चुनावी गतिविधि सक्रिय बनाउँदै उमेदवार छनौटको कामलाई निरन्तरता दिएका छौँ ।
पार्टीभित्र सक्षम नेतृत्व आकांक्षी धेरैजनाको भएपनि जेष्ठता, सिनियरको आधार पार्टीले एउटा निर्णय गर्ला भन्ने लाग्छ । जनताको मन जितेको नेतृत्व नै हुनुहुुन्छ । हामीले नेतृत्व हाम्रोभन्दा पनि राम्रो कसरी छनौट गर्न सकिन्छ ?
भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । कोहि कसैपनि भ्रममा नपर्न आग्रह गछौँ । हाम्रो पार्टीभित्र उमेदवार निष्पक्ष रुपमा नेतृत्व छनौट हुनेछ । पार्टी नेतृत्वले गरेका निर्णयहरु मान्दै आएका छौँ । नेतृत्वले गरेका निर्णय हामीलाई मान्य हुन्छ ।
नेतृत्वले यो कुरामा आफै बुझेको छ । चुनावी मत परिणाम हाम्रो पक्षमा पार्नुमात्र उद्देश्य नभएर जनताका समस्यालाई कसरी सुक्ष्म रुपले समाधान गर्न सकिन्छ भन्नेमा हामी चनाखो बन्नुपर्छ । चुनावमा गरेका प्रतिवद्धतासँगै नयाँ रचनात्मक काम कसरी गर्न सकिन्छ ?
भन्ने नेतृत्व छनौट नेपाली कांग्रेसले गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु म यहाँलाई । अहिलेसम्म पार्टीले निष्पक्ष ढंगले नै टिकट दिने गरेको छ र उहाँहरुले जनताका समस्या समाधान गरेका विभिन्न थुप्रै उदाहरणहरु पनि छन् ।
अर्को कुरा तपाईलाई भनिहालौँ । पार्टीमा विगतमा जे देखियो । अब आगामी दिनमा ति कुरा हुनेछैन् । उमेदवार आफूलाई छनौट नगरेपछि पार्टीको निर्णय विपरीत केही साथीहरु जानुभयो ।
जसले गर्दा पनि पार्टीले विभिन्न ठाउँमा पराजय भोग्नुपर्ने स्थिति आएको थियो । अब अहिले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा यस्तो कदापि हुनेछैन् । पार्टीभित्र गुुट, उपगुटको अन्त्य भइसकेको छ ।
यदि कोहि पनि जिम्मेवार नेतृत्वले त्यसो गर्नुभयो भनेपनि पार्टीले कडाभन्दा कडा कारवाही गर्नेछ । अहिलेको उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर छनौट हुने उमेदवारलाई जिताउन सिङ्गो पार्टीका नेता तथा कार्यकर्ता लाग्ने छौँ ।
पार्टीभित्र देखिएका तिक्तता पार्टीभित्रै छलफल र बहसको माध्यमबाट समाधान गरिनेछ । हुनसक्छ काम गर्ने क्रममा पार्टीभित्र पनि केही असन्तुष्टि देखिन सक्छ तर हामीले त्यसलाई छलफल र सल्लाह बमोजिम अघि बढ्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु । पार्टीले छनौट गरेका उमेदवारलाई नेता तथा कार्यकर्ता एक भएर मत आफ्नो पक्षमा पार्ने अभियानमा सबै लाग्नेछौैँ ।

जनताका समस्या बुझ्न सक्ने व्यक्ति

तुलसीराम पुन (सुवास)
सचिवः नेकपा दाङ

हाम्रो पार्टीले खासगरी उमेदवार छनौटका लागि आन्तरिक रुपमा बहस र छलफल हुने गरेपनि अहिले नै टुङ्गोमा पुगेका छैनौँ । पार्टीले निर्णय गर्ने प्रक्रियामै छ ।
अहिले दाङका दुई स्थानहरु घोराही उपमहानगरपालिका–१६ मा वडा अध्यक्ष र क्षेत्र नम्बर ३ (२) मा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ । दुईवटै क्षेत्रमा नेकपाका निकै कर्मठ, बुद्धिजीवि नेतृत्व रहनुभएको थियो ।
घोराहीमा लक्षिन बुढा र पश्चिम दाङमा उत्तरकुमार ओलीलाई गुमाएपछि पार्टी नेकपाले अहिले पनि उहाँहरु जस्तै कर्तव्य निष्ठावान नेतृत्व छनौट गर्नेछ । उहाँहरुका अधूरा कामहरु अबको नयाँ नेतृत्वले पूरा गर्नुपर्ने जिम्मेवारी छ ।
उपनिर्वाचनको मिति घोषणासँगै हाम्रो पार्टीभित्र पनि विभिन्न व्यक्तिहरु उमेदवारका लागि आकांक्षी देखिनुपनि भएको छ होला त्यो स्वभाविक पनि हो । किनभने जनताका लागि राजनीतिमा होमिनुुभएका नेतृत्वहरु चुनावमा उठ्न आकांक्षी देखिनु स्वभाविक हो ।
अहिले पार्टीले संगठन विस्तारलाई जोड दिएको छ । अझै चुनावी प्रचार प्रसारको कार्यतालिका बनाइएको छैन् तर अब केहि समयपछि लगत्तै हामी चुनावी गतिविधिलाई पनि सक्रिय बनाउँदै छौँ ।
मलाई के लाग्छ भने हामीले अहिले पनि सक्षम नेतृत्व छनौट गर्नेछौँ, म तपाईहरुको पत्रिकाबाट नै के आग्रह गर्न चाहन्छु भने सक्षम नेतृत्व छनौटमा आम नागरिक एक भएर जान आवश्यक छ,
मैले मेरै पार्टीको भन्दा पनि जनताका समस्यालाई चिन्न सक्ने नेतृत्वले जित्नुपर्छ । अब अहिले खासगरी जो स्वर्गीय हुनुभएको छ, उहाँहरुको धर्मपत्नीलाई पनि उमेदवार बनाउने सामान्य छलफल भएपनि आधिकारिक निर्णय गरिसकेका छैनौँ ।
सामान्य रुपमा के हुन्छ भने अन्य ठाउँमा भएका अभ्यासलाई हेर्दाखेरी जुन ठाउँमा पद रिक्त छ उहाँहरुको आफन्तलाई उमेदवार बनाएको देखिन्छ तर नेकपामा अहिले नै यहि हुन्छ त भन्ने छैन् ।
जनप्रतिनिधिविहीन हुँदा जनताले व्यहोर्नु परेको सास्ती अर्थात् अभिभावकविहीन बनेका नागरिकलाई सक्षम नेतृत्व पाउने निश्चित देखिएपछि अहिले नागरिकमा पनि उत्साह थपिएको छ ।

जनताको मन जित्ने

घनश्याम ढकाल
का.बा.सभापति
नेपाली कांग्रेस क्षेत्र नं. ५
क्षेत्र नम्बर ३ को (२) नेपाली कांग्रेस

सरकारले आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहोल तातिन थालेको छ । आफूलाई सक्षम मान्ने नेतृत्वहरु उमेदवारको टिकट पाउन पार्टीभित्र लाग्नुभएको छ भने कार्यकर्ताहरु आफ्नो दलका चुनावी एजेन्डा लिएर गाउँमा जान थालिसकेका छन् ।
रिक्त स्थानमा उपनिर्वाचन हुने भएपछि फेरी नागरिकले पनि आफ्नो अमुल्य मत दिनका लागि कुन पार्टी र कुन उमेदवार छान्ने भन्नेमा चिया पसलदेखि सहर बजारसम्म चर्चा चलिसकेको छ ।
दाङ क्षेत्र नम्बर ३ (२) मा खासगरी प्रदेश सभा सदस्य उत्तरकुमार ओलीलाई हामीहरुले गुमाइसकेपछि नेतृत्वविहीन बनेको यो क्षेत्रमा फेरि निर्वाचन हुन लागेकोमा जनतामा एउटा छुट्टै आशा र अपेक्षा पलाएको छ ।
अब अहिले हाम्रो पार्टीभित्र पनि कसलाई उमेदवार छनौट गर्ने भन्ने बहस र चर्चा चलिसकेको छ । यसको बारेमा नेतृत्वले सही निर्णय गर्ला भन्नेमा आशावादी देखिएका छौँ । आकांक्षी देखिनुभएका सबैका विचार सम्बोधन हुने गरी साझा उमेदवार छनौट हुनेछ ।
पार्टीले छानेको साझा उमेदवारलाई सबै मिलेर मत परिणाम आफ्नो पक्षमा पार्ने सँगसँगै यो क्षेत्रको परिवर्तनका लागि उहाँलाई सक्रिय बनाउन हामी सबै लाग्नुपर्ने देखिन्छ । खासगरी चुनाव जित्नुमात्र ठूलो कुरा होइन् ।
भोलि चुनाव जितिसकेपछि जनताका समस्या निष्पक्ष ढंगले समाधान गर्ने नै सक्षम नेतृत्व हो । लोकतान्त्रिक प्रक्रियामा चुनाव हुनु स्वभाविक प्रक्रिया हो तर चुनावमा जित हार त हुन्छ । चुनावी मत परिणामा आफ्नो पक्षमा पारिसेपछि विपक्ष दलमा भोट हाल्ने जनताका माग पनि समाधान गर्न सक्नु नै एउटा असल नेतृत्व हो ।
त्यस्ता उमेदवारको पर्खाइमा छ हाम्रो क्षेत्र । विशेषगरी म सम्वद्ध पार्टीले पनि यस्ता कुरामा विशेष ध्यान पु¥याउनुपर्छ । हामीले पार्टीभित्र राख्दै आएको कुरा पनि हो । उमेदवार छनौटमै विवाद नहोस् ।
‘भाइ फुटे गवाँर लुटे’ भन्ने भनेजस्तै पार्टीभित्र देखिएको असमझदारीले तेस्रो पक्षले फाइदा लुट्ने निश्चित देखिन्छ । त्यसैले पार्टीले उमेदवार छनौट गर्दा बडो गम्भीर र सुक्ष्म ढंगले छनौट गर्नुपर्छ र पार्टीभित्र देखिएका समस्यालाई छताछुल्ल अवस्थामा ल्याउन दिनुहुँदैन् ।
विगतको अभ्यासबाट पनि पार्टीले पाठ सिक्नुपर्छ । जे जस्तो भएपनि हाम्रो क्षेत्रले सक्षम र असल नेतृत्व पाउने छौँ भन्ने पूर्ण आशामा हामीहरु छौँ । देखिएका तिक्ततालाई पार्टीभित्रै छलफल र समाधान गर्नुपर्छ र जनताको मन जित्ने उमेदवार छनौट हुनुपर्छ ।

उपयुक्त व्यक्ति छनौट

चूर्णबहादुर वली
संयोजक
नेकपा क्षेत्र नं. ३ (२) दाङ

आगामी मंसिर १४ गते हुने उपनिर्वाचन नेकपा दाङले केही सामान्य रुपमा छलफल गरेपनि अहिले नै उमेदवार छनौटको काम गरिसकेको छैन् । पश्चिम दाङमा खासगरी हाम्रो क्षेत्रमा प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएपछि अभिभावकविहीन बनेका नागरिकलाई हामीले दक्ष, सक्षम उमेदवार दिनेछौँ । पार्टीले नै यसबारे निर्णय गर्ला ।
किनभने पार्टीमा लामो समय योगदान दिनुभएका धेरैजना आकांक्षी देखिनु पनि भएको छ । पार्टीले उहाँका विचारलाई सम्मान गर्दै अगाडी बढ्नुपर्छ । अहिले स्वर्गीय उत्तरकुमार ओलीकी धर्मपत्नी विमला ओलीलाई दिनुपर्छ भन्ने कहिँकतै सामाजिक सञ्जाल तथा चिया पसलमा कुरा चर्चा चलेपनि मलाई त के लाग्छ भने उहाँलाई उमेदवार नै भन्दा पनि अरु कुनैबाट पनि सहयोग गर्नुपर्छ जस्तो लाग्छ ।
मैले भन्न खोजेको उहाँ अयोग्य भन्न खोजेको होइन् तर सक्षम नेतृत्वमा उहाँले कत्तिको सहज भूमिका निर्वाह गर्नुहुन्छ भन्ने नै छ । पार्टीले पनि यसबारेमा केहि धारणा बनाएको होला पक्कै पनि । सायद अबको केही दिनमै उमेदवार छनौटको काम पनि हुन्छ ।
पार्टीले योग्य व्यक्तिलाई नै टिकट दिन्छ भन्नेमा हामी पूर्ण विश्वासमा छौँ । पार्टीभित्र आन्तरिक छलफल पनि भइरहेको छ । दुई ठूला पार्टीको एकीकरणपछि जनतामा आएको आशालाई पूरा गर्ने दायित्व हामीमाझमा छ । त्यो जिम्मेवारीलाई पूरा गर्न नेतृत्व छनौटमा पनि पनि निष्पक्षता, इमान्दार, जनताप्रेमी भन्ने जस्ता कुराहरुलाई ध्यान दिनुपर्ने देखिन्छ ।
पार्टीभित्र अहिले कुनै विमति छैन् र हुनु पनि हुँदैन् । काम गर्दै जाँदा देखिएका बिमतिलाई समाधान गर्दै जानुपर्छ । समस्या नआउने भन्ने नै हुँदैन् तर समस्या आएपनि त्यसको सहजरुपमा समाधान गर्नुपर्छ भन्ने हो ।
लोकन्त्रकोे एउटा राम्रो पक्ष नै फेरि के हो भने सबैसँग छलफलका माध्यमबाट कुरोबाट चुरोमा पुग्न सक्छौँ । हाम्रो भनाई भनेको के हो भने दक्ष, इमान्दार, सक्षम व्यक्ति छनौटमा कुनै कन्जुस गर्ने छैन् पार्टीले ।

हाम्रो हैन, राम्रो उमेदवार

खिमप्रसाद खराल
महासमिति सदस्यः नेपाली कांग्रेस

देश संघीय संरचनामा गएसँगै तीन तहका सरकार गठन भएका छन् । दाङ अहिले उपनिर्वाचनको चटारोमा छ । देशभर रिक्त रहेका ५० पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
नेपाली जनताले फेरी आफ्नो अमुल्य मत प्रदान गरेर आफूले चाहेको जनप्रतिनिधि छनौट गर्ने अवसर दाङमा पनि आएको छ । यद्यपि एउटा जनप्रतिको दुखद् घटनाले यो समय आएको छ ।
दलका नेताहरु उमेदवार छनौट, चुनावी प्रचारप्रसारका लागि आन्तरिक तयारीमा जुटिसकेका छन् । सबै दलहरु नै चुनावी मत परिणाम आफ्नो पक्षमा पार्नका लागि गृहकार्यमा जुटेका छन् । उनीहरुले खासगरी अहिले आफ्ना चुनावी अभियान ग्रामीणस्तरमा सक्रिय बनाउन थालिसकेका छन् भने उमेदवार छनौटका लागि पनि पार्टीभित्र छलफल र बहस शुरु भइ रहेकै छ ।
पार्टीभित्र आफूलाई सक्षमको रुपमा चिनाउनु भएका व्यक्तिहरु उमेदवारका आकांक्षी देखिनु स्वभाविक पनि हो । आकांक्षीहरु उमेदवारको टिकट कसरी प्राप्त गर्न सकिन्छ भन्ने आन्तरिक लविङमा लागिसकेको अवस्था पनि छ ।
आन्तरिक रुपमा पार्टीले अझैपनि उमेदवार छनौट गरि नसकेको अवस्थामा दक्ष, सक्षम र जनताले सजिलै आफ्नो अमुल्य मत दिने उमेदवार दलहरुले छनौट गर्नुपर्छ ।
विगतको अभ्यासलाई हेर्दाखेरी कतिपय अवस्थामा राम्रो भन्दा पनि हाम्रो उमेदवार छनौट गर्ने गरेको अवस्था पनि छ । जसले गर्दा पार्टीभित्र फुट र गुटको स्थिति सिर्जना भएका उदाहरण पनि थुप्रै भेटिन्छन् ।
मलाई के लाग्छ भने दलहरुले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा आफ्नो उमेदवारलाई जनताका समस्यालाई आफ्नै समस्याका रुपमा लिने उमेदवार छनौट गर्न सक्नुपर्छ । पार्टीभित्र आकांक्षी देखिनु स्वभाविक पनि हो । किनभने सबैको लगानीले नै पार्टी उचाईमा पुगेको हुन्छ तर पार्टीको जो पनि जस्तो पनि उमेदवार छनौट ग¥यो भने आफ्नै पार्टीभित्र पनि समस्या सिर्जना गरिदिन्छ यसमा नेतृत्वले ध्यान दिनु पर्छ ।
कतिपय अवस्थामा जेष्ठता र वरिष्ठताका आधारमा पनि पार्टी नेतृत्वले टिकट दिनुपर्छ जस्तो लाग्छ । नेतृत्व सुविधा भोगीभन्दा पनि जनताका समस्यालाई सहीरुपमा समाधान गर्ने हुनुपर्छ ।
नागरिकले अहिले पनि सही नेतृत्व पाउन नसक्दा हैरानी खेप्नुपरेको छ । चुनावमा मत दियो तर पछि उसैले चिन्न नसक्ने परिस्थिति पनि आएको छ । अझ सक्षम नेतृत्व आफ्ना कार्यकर्ताभन्दा पनि समग्र जनताका समस्या समाधान गर्न सक्नुपर्छ ।
पार्टीभित्र आकांक्षी देखिनु अपराध होइन्, विभिन्न तह र तप्काका नेतृत्वहरुको टिकट पाउने अपेक्षा हुन्छ तर सबैलाई टिकट दिन पनि असम्भव छ । पार्टीले समयमै सही नेतृत्व छनौट गर्नका लागि पार्टीभित्रै पनि व्यापक छलफल र वहस गर्नुपर्ने देखिन्छ ।
म पनि काग्रेस पार्टीको तर्फबाट आकाक्षी छु । तर पार्टीले मैलाई नै उमेदवार छनौट गर्नुपर्छ भन्ने चाहिँ छैन् । पार्टीले जसलाई टिकट दिन्छ मेरो समर्थन हुन्छ तर यत्ति होकी पराजित हुने होइन जित्ने उमेदवार छनौट गर्नुपर्छ ।

ओलीका अपूरा काम पूरा गर्ने

विमला ओली
श्रीमती (स्व. उत्तरकुमार वली)

आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति तय गरेसँगै चुनावको तयारीमा दलहरुले अहिले उमेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । दाङको क्षेत्र नम्बर ३ (२) मा खासगरी प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि अभिभावकविहीन भएका छन् नागरिक ।
अभिभावक गुमाएका पश्चिम दाङका नागरिकलाई अबको उपनिर्वाचनले सक्षम, दक्ष र उहाँजस्तै जनताको मन जित्ने उमेदवार दिनुपर्छ  । अहिले खासगरी नेकपा र नेपाली कांग्रेसले उमेदवार छनौट प्रक्रियामा आन्तरिक छलफल गरिरहेका छन् । नेकपामा पनि उमेदवार छनौटका लागि सामान्य रुपमा छलफल हुने गरेको छ ।
अहिले ठ्याक्कै यहि भन्न सकिने अवस्था छैन् । जेहोस् दलहरुले उमेदवार छनौटमा राम्रो, उत्तरकुमार ओलीका सपनालाई पूरा गर्नसक्ने नेतृत्वलाई छनौट गर्नुहुनेछ भन्ने लागेको छ ।
अब आउने नयाँ नेतृत्वले स्वर्गीय उत्तरकुमार ओलीले गरेका अपूरा कामलाई पूर्णता दिनुका साथै नयाँ उदाहरणीय कामहरु गर्न आवश्यक छ । पश्चिम दाङमा अपेक्षाकृत विकास हुन सकिरहेको छैन् ।
उत्तरकुमार ओलीलाई जनताले ठूलो आशा र अपेक्षा राखेर आफ्नो अमूल्य मत दिनुभएको थियो तर नियतिले आज उहाँ नरहे पनि उहाँले थालेका कामलाई पूरा गर्न ममा पनि दायित्व आएको छ ।
मैले पनि यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको छ । नेकपा खास गरी दुई ठूला दल एक भइसकेको अवस्थामा तल्लो तहसम्म पनि पार्टी एकीकरण भइसकेपछि अहिले जनतामा फेरी अर्को आशा पलाएको छ ।
नागरिकले चाहेका अपेक्षा र देखेका सपना पूरा गर्न अर्को नेतृत्वमा आइपरेको छ । जनताका थुप्रै आशालाई पूरा गर्नुछ त्यसैले पार्टी नेतृत्वले उमेदवार छनौटमा दक्ष र सक्षम उमेदवार छनौट गर्नुपर्छ भन्ने मेरो भनाई हो ।
म पनि खासै राजनीतिमा लागेको छैन् तर पनि जनताले मलाई तपाईको श्रीमानका सपना पूरा गर्नुपर्छ भनेर साथ र हौसला प्रदान गर्नुभएको छ ।
राजनैतिक आस्थाका रुपमा फरक व्यवहार गर्ने नेतृत्व भन्दा पनि सबैलाई समान दृष्टिले कामहरु सम्पन्न गरिदिने नेतृत्व गर्नु नै आजको आवश्यकता छ ।
पार्टीभित्र पनि आकांक्षा धेरैको हुनसक्छ तर सबैका विचारलाई सम्बोधन गर्नेगरी नेतृत्व आउनुपर्छ । पार्टीभित्र देखिएका सानातिना समस्यालाई पार्टीभित्रै छलफल र बहसबाट समाधान गर्न सक्यो भने पनि राम्रो सन्देश जान्छ ।
अहिलेसम्म पार्टीभित्र कुनै मत भिन्नता पनि देखिएको छैन् । म त भन्छु नेतृत्व जोसुकै आएपनि जनतालाई महशुस हुने गरी काम गर्नुपर्छ । जनताका समस्यालाई आफ्नै ठानेर जतिसक्दो छिटो समाधान गर्ने नेतृत्वलाई जनताले सहजै मत दिन तयार छन् । जनताका सपनालाई पूरा गर्ने कुरामा मेरो पनि पूर्णतया समर्थन रहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here