तुलसीपुर, २३ चैत । संस्कृत शिक्षा प्रचारको आवश्यकता रहेको संस्कृत शिक्षाका अध्ययताहरुले बताएका छन् । संस्कृत शिक्षामा अध्ययताहरुले संस्कृत भाषाको प्रचार हुन नसकेको भन्दै यसको प्रचार अहिलेको आवश्यकता रहेको बताएका हुन् । जनता विद्यापीठ विजौरीमा अध्ययनरत पूर्व विद्यार्थीहरुको मिलन समारोहमा सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहले संस्कृत भाषा अहिले विश्वमा चर्चा हुने गरेको भए पनि त्यसको प्रचारप्रसार कम भएको बताएका थिए । उनीहरुले नेपालमा मात्र नभएर विश्वमा संस्कृत शिक्षाको ज्ञान आवश्यकता महसुस गराउन सक्नुपर्ने बताए ।
उनीहरुले त्यसको प्रचारप्रसारका लागि सबै पूर्व विद्यार्थीहरुको सक्रियता आवश्यक रहेको उल्लेख गरेका थिए । जनता विद्यापीठ विजौरी दाङमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको मिलन समारोह गरिएको छ । शुक्रबार र शनिबार मिलन समारोह कार्यक्रम गरिएको छ । पूर्व विद्यार्थीहरु बीचको आत्मीयता, सद्भाव र एकता कायम गर्ने बर्षेनी समारोहको आयोजना गरिएको पूर्व विद्यार्थी परिषद्का सञ्चार संयोजक भिललाल मरासिनीले जानकारी दिए ।
जनता विद्यालयको रुपमा स्थापना भएको जनता विद्यापीठ अहिले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आङ्गीक क्याम्पसको रुपमा रहेको छ । संस्कृतको महङ्खव बुझाउनु पनि समारोहको मुख्य उद्देश्य रहेको छ ।
पूर्व विद्यार्थी परिषद्मा अध्यक्ष विष्णुप्रसाद आचार्यको सभापतित्व तथा नेपाल संस्कृत विश्वविद्यालय सेवा आगोग अध्यक्ष वेणीमाधव ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सहसचिव बाबुराम पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पूर्व विद्यार्थीको मिलन अत्यन्त आवश्यक भएको भन्दै अब सामाजिक कार्यमा लाग्नुपर्ने बताए ।
यही उदेश्यले अघि बढ्न सके राम्रो हुने बताए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, पूर्व सांसद रामकुमार ज्ञवाली, पूर्व प्राचार्य स्थानेशवर गौतम, सेवा आयोग सदस्य श्रीधर मजगैयाँ, प्राचार्य माधव अधिकारी, भोलानाथ योगी, नदन शर्मा, देवि पोख्रेल, जैमणि नगरपालिकाका बाग्लुङका नगरप्रमुख इन्द्रराज पौडेललगायतले बोलेका थिए ।
कार्यक्रममा डा चिन्तामणि योगीले संस्कृत भाषाको उपयोगिताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका सञ्चालन सुमन पोख्रेलले गरेका थिए । उक्त अवसरमा पूर्व प्राचार्य स्थानेश्वर गौतम र २०१३ का विद्यार्थीलाई सम्मान गरिएको थियो ।