लमही, २७ असोज ।
दाङमा कोजाग्रत पूर्णिकाको अवसरका रसाया नाच निकालिएको छ । अर्घाखाँची, प्युठान, गुल्मीबाट दाङ बसाई सरी आएकाहरूको सक्रियतामा दाङमा सराय नाच नाच्न सुरू गरिएको हो । युवाहरू मिलेर २०६८ सालबाट दाङको लमहीमा सुरू गरिएको सराय नाच तथा खड्ग जात्रा अहिलेसम्म निरन्तरता पाएको छ । अहिले पनि यो जात्राले निरन्तरता पाएको छ । बसाईसराई गरेर लोप हुन थालेको सराय नाच फेरि युवाको सक्रियतामा निकालिएको छ ।
दाङको लमही, भालुवाङ, सिसहनियामा हरेक बर्ष दसैँको पूर्णिमाको दिन सराय नाच तथा खड्ग जात्रा निकाल्ने चलन छ । कालिका भगवती मन्दिर लमहीले यस बर्ष सराय नाच निकालिएको छ । नवौं पटक सराय निकालिएको मन्दिर व्यस्थापन समितिका कोषाध्यक्ष थानेश्वर गैरेले बताए । ‘हामी बसराई सरेर यहाँ आएपछि हाम्रो पूर्खाले सुरू गरेको संस्कृति संरक्षणमा हामी लाग्यौं’ उनले भने ‘बसाईसराई गरेर थातथलो छाडेपनि हाम्रो संस्कृति भुलेका छैनौं ।’
महिला, बालबालिका तथा किशोरीहरू पनि सरायमा सहभागी भएका छन् । प्यूठानको लुङ्गमा ठूलो सराय नाच निस्कने गर्छ । दसैँको टिकाको दिन सराय निस्कने गरेको र बसाईसराईले गर्दा सरायमा सहभागी हुन गाह्रो भएको दिपक थापाले बताए । तर, लमहीमा निस्कने सरायले प्यूठानमा निस्कने सरायको भोक भेटाएको अनुभव उनको छ । बसाईसराई गरेर आएको १२ बर्ष भयो । चार÷पाँच बर्ष त नियमित जस्तै पुगियो उनले भने विस्तारै यतै मनाउन थालियो ।
दसैँको बिदाई गर्न र देवी भगवतीलाई खुसी पार्न सराय तथा खड्ग जात्रा निकाल्ने परम्परा छ । पहाडी जिल्लाहरूमा यसको विशेष महत्व छ । तर, बसाईसराईले गर्दा धेरै मानिस तराई झरेपछि आफ्नो पुरानो परम्परा जगाउन उनीहरूले आफ्नै ठाउँमा मन्दिर स्थापना गरेर सराय नाच निकाल्ने गरेका हुन् ।
सराय नाच दसैँका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रूपन्देही, दाङका विभिन्न कोट र शक्तिपीठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ । यो एउटा खेलजस्तो पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकाआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।
