संघीयताको विरुद्धमा जानु गलतः मुख्यमन्त्री पोख्रेल

Uncategorized

तुलसीपुर, ७ असोज ।
प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोख्रेलले संघीयताको विरुद्धमा जानु गलत भएको बताएका छन् । संघीयताको विरुद्ध सकडमा आएर नारा लगाउँदैमा राजनीति गर्न नसकिने भन्दै पोख्रेलले जनतामा विभिन्न भ्रम फैलाउने काम नगर्न अन्य राजनैतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार तुलसीपुरमा भएको नेपाल हेभी ईक्युपमेन्ट अपरेटर संघ प्रदेश नं. ५ स्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले जनतामा भ्रम फैलाएर राजनीतिमा अगाडि जान खोज्नुको कुनै अर्थ नरहेको बताए ।
‘पछिल्लो समय संघीयताको विरुद्धमा विभिन्न भ्रम फैलाउने काम भईरहेको छ’ उनले भने ‘नेता बन्न जनतालाई निरासा होइन आश र साथ दिनुपर्छ ।’ देश संघीय संरचनामा गएसँगै विकास निर्माणका कार्यहरु तिव्ररुपमा अघि बढेको भन्दै उनले संघीयतालाई असफल बनाउने भ्रामक कुराहरुबाट जनता स्वयम् चनाखो बन्नुपर्ने आवश्यक रहेको बताए ।

‘मुलुक तहगत रुपले सञ्चालन हुँदा प्रशासनिक खर्च भने बढेको छ जहाँ २० हजार बढी कर्मचारीले काम गरिरहेका छन्’ उनले भने ‘तर त्यो रकम जनताकै घरमा पुगेको छ, किनभने जागिर खाने सबै कर्मचारी जनता हुन् ।’ संघीयता जनताको शासन भएको भन्दै तीनै तहका सरकारमा आएका अधिकारहरु प्रयोग गरेर अहिले घरआँगनबाटै सेवा पाउँदा जनता पनि खुसी भएको उनको भनाइ छ । गएको आर्थिक बर्षमा नौसय किलोमिटर सडक कालोपत्रे भएको र यो अहिलेसम्मकै बढी सडक कालोपत्रे भएको समेत उनले बताए ।
जसमा प्रदेश नं. ५ सरकारले दुईसय किलोमिटरभन्दा सडक कालोपत्रे गर्न सफल भएको भन्दै यही अनुपातमा सातवटै सरकारले कालोपत्रे गरे बर्षेनी १४ सय तथा प्रत्येक स्थानीय तहले बर्षमा पाँच किलोमिटर सडक कालोपत्रे गरे ३५ सय किलोमिटर भन्दा बढी कालोपत्रे हुने भन्दै यसरी विकास निर्माणको काम अघि बढिरहेको अवस्थामा संघीयताको गलत प्रचार गर्ने गरिएको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *