तुलसीपुर, २१ असार । दाङका प्रतिष्ठित व्यवसायी डिल्लीबहादुर बस्नेतले आफ्नो जीवन संघर्षमा आधारित संघर्षका योद्धा नामक पुस्तक सार्वजनिक गरेका छन्। तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत रहेका बस्नेतको पुस्तक संघकै आयोजनामा शनिबार लोकार्पण गरिएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो ।
पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि रिजालले आफूले प्राप्त गर्न खोजेको सफलता लागि हरेक व्यक्तिले संघर्ष गर्नुपर्ने बताए । उनले कुनै पनि व्यक्ति आत्म केन्द्रित नभई समाज केन्द्रित भएर काम गर्नुपर्ने उदाहरण पुस्तकले दिएको बताए ।
उनले संघर्षका योद्धा नामक पुस्तकले समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि प्रेरणाको भूमिका खेल्ने बताए ।
उक्त पुस्तकको लेखन डिल्ली बस्नेत संगीतले गरेका छन् । कार्यक्रममा बोल्दै पुस्तक प्रकाशक देवकुमारी बस्नेतले बजार क्षेत्र, नगर, उद्योग वाणिज्य संघ र उर्जाशील समाज निर्माणको सहयोगार्थका लागि पुस्तकको प्रकाशन गरिएको बताईन् ।
कार्यक्रममा नेकपाका नेता शोभाराम बस्नेत, नेपाली कांग्रेसका नेता सुरेन्द्र खड्का, राप्ती साहित्य परिषद दाङका अध्यक्ष पुरुषोत्तम खनाल, पत्रकार प्रताप रेग्मी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति नारायण आचार्य, अधिकारकर्मी निर्मल नेपाली, शुष्मा गिरीलगायतल बोलेका थिए । सुशील बस्नेतले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद विश्व बस्नेतले दिएका थिए ।
