श्रमको सम्मान गरौं

फिचर विचार

हरेक वर्ष मे १ तारिखका दिन विश्व श्रमिक दिवस मनाईन्छ तर वास्तविक श्रमिकलाई श्रमिक दिवसले छुन सकिरहेको छैन् । आज २१औैं शताब्दीमा पनि महिला र पुरुष भनेर श्रममा विभेद हुने गरेको छ । महिला र पुरुषको समान ज्याला कायम हुन सकिरहको छैन् ।
मालिकले कामदारलाई गर्ने व्यवहारमा परिवर्तन आउन सकिरहेको छैन् । श्रमिकको सहयोगले महल ठडिन्छन् तर श्रमिकहरुको जीवन उठ्न सकिरहेको छैन् । श्रमिक दिवस हरेक वर्ष मनाउने गरिन्छ, सरकारले पनि सार्वजनिक बिदा दिएको हुन्छ तर अधिकांश श्रमिकहरु श्रमिक दिवसको दिन एकदिन पनि काम गर्न बाध्य छन् ।
श्रमिकहरुको न्यूनतम ज्याला सरकारले १३ हजार ४ सय ५० कायम गरेको छ तर कार्यान्वयनमा भने आउन सकिरहेको छैन् । रोजगारदाताहरु श्रमिकलाई सन्तुष्ट पार्न सकिरहेका छैनन् ।
विश्व श्रमिक दिवसको इतिहास हेर्ने हो भने करिब १७औँ शताब्दीमा मजदुरहरुको संघर्षले यो अधिकार प्राप्त भएको हो । सन् १८९० देखि मे १ मा यो दिवस मनाउन थालिएको हो । आज विश्व श्रमिक दिवस मनाईरहदा मजदुरको अवस्था र श्रमिकले पाउने पारिश्रमिक के कस्तो छ ? त केही मजदुर नेतासँग गरिएको कुराकानी ।


मानसिकसँगै शारीरिक श्रम

अमरबहादुर खड्का
अध्यक्ष– नेपाल शिक्षक महासंघ दाङ

मे १ तारिख श्रमिकहरुको पर्व हो । खासगरी हामी जो जहाँ भएपनि विभिन्न श्रममा जोडिएका छौँ । फरक त्यत्ति हो कोही मानसिक श्रम गर्छन्, कोही शारीरिक श्रम गर्छन् तर शिक्षकले मानसिकसँगै शारीरिक श्रम गर्न बाध्य छन् ।
बिगतदेखि नै शिक्षक दुबै श्रममा पर्ने गरेका छन् तर पारिश्रमिक भने अहिले पनि सन्तुष्ट बन्ने अवस्था छैन् । अहिले पनि अधिकांश शिक्षक निजी, अनुदानतर्फ न्यूनतम पारिश्रमिकमा पढाउन बाध्य छन् । विद्यालयमा अहिले तहगत रुपमा १७ थरिका शिक्षक छन्  ।
सबैका समस्या विभिन्न किसिमका छन् । शिक्षकको श्रमको मूल्य राज्यले बुझ्न सकिरहेको छैन् । हामीले लामो समयदेखि शिक्षकको हक, हितका लागि लडिरहेका छौँ । तहगत रुपमा सबैको समान ज्याला कायम होस् भन्ने हो तर त्यसो हुन सकिरहेको छैन् ।
विद्यालयमा अधिकांश शिक्षक निजी स्रोतमा पढाइ रहेका छन् । थोरै पारिश्रममिकमा निजी स्रोतका शिक्षकले पढाउँदा पनि राज्यले टुलुटुलु हेरिरहेको छ । शिक्षकलाई खुशी नबनाउँदा शिक्षा गुणस्तर कस्तो होला भन्ने राज्यले समयमा नै सोंच्नु आवश्यक छ ।
शिक्षाको उज्यालो ज्योति छर्ने शिक्षकलाई सरकारले पनि राम्रो व्यवहार गर्न सकिरहेको छैन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदा पनि शिक्षकका समस्या अझै पनि उस्तै छन् ।
राज्य र शिक्षकबीचको दूरी पछिल्लो समय झन्–झन् बढ्दै गएको छ । शिक्षकका समस्या समाधानमा राज्य गम्भीर बन्न सकिरहेको छैन् । शिक्षकलाई तोकिएको पारिश्रमिक लागू हुनुपर्छ भनेर शिक्षकहरु पटक–पटक आन्दोलित हुनुपर्ने अवस्था छ ।
मलाई लाग्छ जबसम्म राज्य शिक्षकका समस्या समाधानमा गम्भीर भएर लाग्दैन् तबसम्म शिक्षाको गुणस्तर पनि राम्रो हुन सक्दैन् । अहिले पनि न्यून शुल्कमा शिक्षकहरुले आफ्नो मानसिक श्रम बेचिरहेका छन् ।
श्रमको सम्मान गर्ने हो भने शिक्षकलाई कम्तिमा पर्याप्त पारिश्रमिकको व्यवस्था होस् तबमात्रै शिक्षाको विकास सोंचेजस्तो हुन्छ । सरकारी दरबन्दी निकै कम छ सामुदायिक विद्यालयमा जसले गर्दा नीजि शिक्षकले न्यून शुल्कमा पढाउन बाध्य छन् ।

सुरक्षित कार्यस्थल र मर्यादित काम

तीर्थ न्यौपाने
अध्यक्ष– ट्रेड युनियन काँग्रेस

नेपाल सहित विश्वभर १३०औँ विश्व श्रमिक दिवस मनाईरहदा नेपालमा श्रमिकको अवस्था पुरानै गतिमा छ । अझै पनि समान कामको समान ज्याला लागू हुन सकिरहेको छैन् । मालिकले कामदारलाई गर्ने व्यवहारमा परिवर्तन आउन सकिरहेको छैन् ।
श्रमिकले मर्यादित रुपमा आफ्नो श्रम बेच्न चाहन्छन् तर काम गर्ने श्रमिकलाई मालिकले गर्ने व्यवहार सुधार हुन सकिरहेको छैन् । हामी ट्रेड युनियन काँग्रेसको उद्देश्य के हो भने सुरक्षित कार्यस्थल र मर्यादित काम हुनुपर्छ भनेका छौँ ।
श्रमिकले काम गर्ने कार्यस्थल सुरक्षित हुुनुपर्छ तर व्यवहारतह त्यस्तो पाईदैन् । श्रम गर्ने श्रमिक नभई विकासको गति कसरी बढ्छ भन्ने कुरा मैले तपाई भनिरहन पर्दैन् ।
श्रमिकको श्रमले नै आज विश्व जगत अघि बढेको छ । त्यसैले श्रमिकलाई मालिकले गर्ने व्यवहार मालिक र कामदारको जस्तो नभई आपसी सद्भाव र मेलमिलापको हुनुपर्छ ।
मलाई त लाग्छ मालिकले श्रम गर्ने श्रमिकलाई जति खुशी राख्न सक्यो मालिक त्यति नै नाफामा जाने हो, किनभने जबसम्म मालिकले श्रम बेच्ने कामदारप्रति राम्रो व्यवहार गर्दैन् तबसम्म कुनै पनि कामको गति लिन सक्दैन् ।
पेशागत सम्मान आजको आवश्यकता हो । सरकारले तोकेको न्यूनतम पारिश्रमिक अझै पनि कार्यान्वयनमा आउन सकिरहेको छैन् ।
हामीले पेशागत हकहितका लागि भन्दै श्रमिकलाई एकतावद्ध गराएका छौँ । संगठनमा नहुनेहरुका लागि हामी छैनौँ भनेको छैन उहाँहरुको लागि झनै हामीले हकहितको पक्षमा छौँ ।
आज पनि महिला पुरुष भनेर ज्यालामा असमानता छ । पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन् तर पुरुषले लिनेजति ज्याला महिलाले पाउन नसकिरहेको अवस्था छ ।
सरकारले समान कामको समान ज्यालाको नीति मात्र बनाएर हुँदैन व्यवहारमा पनि कार्यान्वयन ल्याउनुपर्छ भनेका छौँ । नेपाली श्रमिकहरुका पीडा हिजोको अवस्थामा नै छन् भन्दा फरक नपर्ला ।
श्रम गर्ने मानिसले अझैसम्म पनि उचित ज्याला त कहाँ हो कहाँ ? सम्मानसमेत पाउन सकिरहेका छैनन् । मानसिक श्रम होस् या शारीरिक श्रम गर्नेहरुले अहिले पनि मालिकबाट शोषण भोग्नुपरिरहेको छ ।
विभिन्न परिवर्तनमा श्रमिकहरुको प्रयोग गर्ने गरिन्छ तर पछि उनीहरुको योगदानलाई भुल्ने गरिएको पाईन्छ । अब विश्व श्रमिक दिवस मनाईरहदा श्रम गर्ने श्रमिकलाई मालिकले उचित सम्मान र उचित ज्यालाको ग्यारेण्टी गर्नुपर्छ ।
सरकारले कामदारका लागि ल्याएको पछिल्लो सामाजिक सुरक्षा कोष योजना पनि कागज सीमित रहनुहँुदैन् । रोजगारदाता समयमा नै आफ्ना कामदारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनतिर लाग्नुपर्छ भने श्रमिकहरु पनि अब अरुले होइन आफै आफ्नो पेशागत सुरक्षाको ग्यारेण्टी गर्न सरकारलाई दबाव दिनुपर्छ भन्ने लाग्छ ।

विगतका सम्झौता कार्यान्वयन हुनुपर्छ

भागवत पौडेल
सचिव
नेपाल राष्ट्रिय शिक्षक संगठन
प्रदेश नं. ५, नेपाल

‘आठ घण्टा काम आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने मुल नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन शुरु भएको हो । विश्वका मजदुरहरुको यो महान् चाड हो ।
विश्व मजदुर आन्दोलनले, १३०औँ बसन्त पार गर्दा विश्वमा ठूलो उपलब्धि हासिल गरेको छ । मजदुर अधिकारको क्षेत्रमा निकै क्रान्ति आएको छ । तर अझै पनि नेपाललगायत कतिपय देशमा मजदुरको अवस्था नाजुक छ ।
नीतिगत रुपमा केही राम्रो देखिए पनि कार्यान्वयन तहमा मजदुरहरु चर्को शोषणमा बाच्न बाध्य छन् । अन्य क्षेत्रका अतिरिक्त नेपाली विद्यालय सेवाकर्मीहरु अझै पनि ठूलो विभेद, चर्को श्रमशोषण, वृत्ति विकासको अभाव, न्यून पारिश्रमिक, स्थायीको अवसरबाट बञ्चित सामाजिक असुरक्षाजस्ता समस्याबाट पीडित छन् ।
खासगरी अधिकांश निजी लगानीमा सञ्चालित विद्यालयहरुमा अझ शोषणको अवस्था विकराल छ । निजी क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीहरु अत्यन्त न्यून तलबमा बौद्धिक श्रम बेच्न बाध्य छन् ।
उनीहरुलाई नियुक्तिपत्र समेत दिइदैन । कुनै पनि बेला हायर र फायर गरिन्छ । अतिरिक्त समय काम लगाइन्छ । सरकारी क्षेत्रमा कार्यरत सका, कर्मचारी, निजीस्रोतमा कार्यरत शिक्षकहरु पनि श्रम कानुनले तोकेको न्यूनतम पारिश्रमिकभन्दा पनि अत्यन्त न्यून तलब सुविधामा काम गर्न बाध्य छन् ।
असल, चरित्रवान दक्ष नागरिक उत्पादन गर्नेजस्तो महङ्खवपूर्ण जिम्मेवारीमा रहेका शिक्षकहरु आफै अभाव अनिश्चितता शोषणमा पर्नु विडम्वना हो । यसमा राज्यको गम्भीर ध्यान जानुपर्दछ ।
यस्तो विभेद र शोषणको अन्त्य हुनुपर्दछ । समयानुकूल पारिश्रमिक वृत्ति विकासको अवसर, स्थायी हुने अवसर, सामाजिक सुरक्षा आदिको प्रत्याभूत हुनुपर्दछ ।
जसको लागि राज्यले शिक्षक समुदायसँग गरेका विगतका सम्झौताहरुमा भएको कुराहरु नीतिगत व्यवस्था गरी तत्काल कार्यान्वयन गरिनुपर्दछ ।

अनुहारमा मुस्कान ल्याउनुपर्छ

सुशील बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति

मजदुर भन्नाले श्रम गरी खाने वर्ग वा ब्यक्ति÷समूहलाई भन्ने गरिन्छ । शाब्दिक अर्थमा उल्लेख गर्दा काम गर्ने वा श्रम गर्ने व्यक्तिलाई मजदुर भनिन्छ । यस अर्थमा मजदुर नै संसारका सबैभन्दा ठूलो वर्गभित्र पर्छन् ।
मजदुरको पहिलो कर्तव्य मजदुरी हो । मालिक लगानीकर्ता र मजदुर श्रमकर्ता हुन् । लगानीबिना मजदुरी असम्भव छ । मजदुर, श्रमिकबिना उद्योगधन्दा, कलकारखाना, सञ्चारगृह चलाउनु असम्भव छ ।
त्यसैले मजदुर र मालिकबीचको सुमधुर सम्बन्ध हुनुपर्दछ । यी दुईबीचको सम्बन्ध र सहकार्यमा मालिक, श्रमिक र कलकाराखाना, उद्योग सञ्चार गृहको विकासको आधार मजवुत बन्छ ।
त्यसका लागि मजदुरले कर्मथलोमा ईमान्दारिता, मालिक र सञ्चार गृह, उद्योग कलकारखानाले मजदुरको पेटमा गाँस र अनुहारमा मुस्कान देख्ने योजना बनाउनुपर्ने हुन्छ ।
मुख्यगरी मजदुर, श्रमजीविहरुका लागि आफू आवद्ध उद्योग, कलकारखाना वा सञ्चार गृहमा काम गर्ने वातावरण बन्नुपर्छ । त्यसका लागि पहिलो वातावरणका लागि श्रम अनुसारको ज्याला पाउनु श्रमिकको अधिकार हो ।
त्यस्तो ज्याला दिनु मालिकको कर्तव्य पनि हो । तर, नेपालको अवस्था कस्तो छ भने न्यूनतम आवश्यकता पूर्ति गर्ने गरी पनि पारिश्रमिक निर्धारण हुन सकिरहेको छैन ।
मजदुरको हक अधिकारका लागि भएको विद्रोहले सफलता पाएको दिन मे १ लाई दिवसको रुपमा मनाउने गरिन्छ । अमेरिकी मजदुरहरुले १८८६ मा संयुक्त राज्य अमेरिकामा मजदुरहरुले गरेको विद्रोहले सफलता पाएको दिनको सम्झना यो दिवस मनाउने गरिन्छ ।
त्यसपछिका दिनमा मजदूरहरुका सवालमा संसारका हरेकजसो मुलुकले स्पष्ट नीति र नियम नै बनाएका छन् । तर नेपालमा मजुदरको अधिकारका लागि ट्रेड युनियन गठन गरिएका छन् । राजनीतिक दल निकट ती ट्रेड युनियनले मजुदरको भावना,
चाहना र अपेक्षाकृत रुपमा अझै काम गर्न सकेको देखिदैन् । ट्रेड युनियन राजनीतिक प्रभावमा परेको सन्दर्भ पनि समय–समयमा जोड्ने गरिएको छ । जसका कारण श्रमजिवीहरुको अधिकार ‘ललीपप’ नै भएको भन्नेहरुको कमि छैन् ।
राजनीतिक प्रणाली र ब्यवस्थाका विरुद्ध सबैभन्दा बढी संघर्ष गरेको इतिहास छ त सबैभन्दा बढी मजदुरको नै उल्लेख भएको देखिएको छ । कलकारखना, उद्योग मात्र होइन सञ्चार गृहमा आवद्ध श्रमजीविहरुका लागि दैनिक दुई छाक टार्नसमेत निकै सकस छ ।
मजदुर र श्रमिकको अधिकार सुनिश्चिताका बारेमा राजनीतिक नाराको विषय मात्र बन्ने गरेको छ । यसमा राजनीतिक दलहरुले पनि खासै चासो दिएका छैनन् । जबसम्म उनीहरुको स्वार्थ मिल्छ तबसम्म चुपचाप हुने र जब स्वार्थ बाँझिन थाल्छ तब मजदुरलाई हड्तालमा लिने गरेको पाईन्छ ।
वास्तवमा भन्ने हो भने श्रमिकको तलब, पेशागत सुरक्षा, भौतिक सुरक्षा अझै हुन सकेको छैन । श्रमजीविहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन भयो, उसले सिफारिस गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा अझै पनि उद्योग कलकारखाना,
सञ्चार गृहबाट हुन सकेको छैन । न्यूनतम पारिश्रमिक कार्यान्वयनको अनुगमन गर्ने संरचनाले प्रभावकारी रुपमा काम गर्न नसक्दा मालिकहरुका लागि भने राम्रै भएको देखिन्छ ।
कार्यान्वयन गर्नुपर्ने निकायले कार्यान्वयन नगर्ने र नियमन गराउने निकायले प्रभावकारी अनुगमनको खाँचोको टड्कारो आवश्यकता हो । स्वयम् श्रमजीवि मजदुरले अधिकार सुनिश्चिताको माग गर्दा जागरबाट हात धुनुपरेका उदाहरण थुप्रै छन् । नेपालको सन्दर्भमा सबैभन्दा पीडित वर्ग मजदुर श्रमिक नै छन् ।
संवैधानिक ब्यवस्था अनुसार समान कामको समान ज्याला आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा इच्छा अनुरुपका गतिविधि गर्न पाउने ब्यवस्था छ । त्यसैले आजको आवश्यकता भनेको नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको छ ।
किसान, मजदुर, श्रमजीविहरूको लागि बनेका जति पनि संवैधानिक ब्यवस्था वा ऐन, कानुन बनेका छन् ती अक्षरस कार्यान्वयन हुनुपर्छ ।

मजदुरको अधिकार स्थापित

एकराज भण्डारी
सचिव
इम्प्रेशन नेपाल जिल्ला शाखा, दाङ

श्रमजीवी तथा मजदुर वर्गको अधिकार र पेसागत हितको संरक्षण, प्रवद्र्धन र श्रमिकहरूको रोजगारीको ग्यारेन्टी गर्ने संस्थागत अभियानको थालनीको सम्झनामा विश्वभर मे दिवस मनाइन्छ ।
मजदुर आन्दोलन र श्रमजीवी वर्गको हितका लागि विश्व इतिहासका विभिन्न कालखण्डमा ठूला–ठूला आन्दोलन भएका छन् । ‘संसारका मजदुर एक होऔँ’ भन्ने उद्घोषका साथ अघि बढ्दै मजदुर आन्दोलनले संस्थागत विकासको रुप र मान्यता प्राप्त गरेको हो ।
कुनै पनि देशको राजनीतिक आन्दोलन, मुक्ति संघर्ष र परिवर्तनका संवाहकका रूपमा श्रमजीवि मजदुर वर्गको महङ्खवपूर्ण भूमिका रहेको छ ।
उन्नाइसौँ शताब्दीको अन्तिम दशकमा अमेरिकाको सिकागो सहरमा आधारभूत आवश्यकता साथै आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन र दर्जनौं श्रमिकको हत्या गरिएको थियो । त्यसैको सम्झना गर्दै संसारका ८० भन्दा धेरै राष्ट्रहरुमा यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९६३ देखि नै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आएका छौँ ।
नेपालको सन्दर्भमा मजदुरहरुको हक हितमा काम गर्छौं भन्ने विभिन्न ट्रेड युनियनहरु भए पनि मजदुरको पहिलो अधिकार आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन कार्यान्वयन मै सकस भएको छ ।
अझै गर्नुपर्ने धेरै कुराहरु जस्तै जागिरको ग्यरेन्टी, ज्यालामा समानता, महिलाहरुको सहभागितामा बृद्धि, मजदुरहरुमा व्यक्तित्व विकासका कुरा, मजदुरहरुको बिमा कार्यान्वयनलगायतका विषय छन् ।
यी झनै चुनौतिको रुपमा देखापरेका छन् । यसलाई प्रभाव पार्ने विभिन्न कारणहरु छन् । ती मध्ये विशेष कारण राजनीतिक अस्थिरता नै हो । अब भने स्थानीय तहदेखि केन्द्रसम्म स्थिर सरकार बनिसकेको छ ।
अधिकारकर्मीहरु आ–आफ्नो क्षेत्रमा क्रियाशील छौं । स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म मजदुरका मागहरु जोडदार रुपमा उठाउँदै आएका छौँ । हाम्रो मागहरुको राज्यले उचित सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ ।

पेशाको सम्मान

लिला शाह
उपाध्यक्ष
नेपाल पत्रकार महासंघ दाङ

आफूले श्रम गर्ने आफ्नो पेशाको सम्मान गर्न सकाँै र सम्मान गर्न सिकौँ । श्रमको सम्मानले नै हरेकलाई सफल बनाउन सक्छ । श्रमले नै मानिसको सहज जीवनयापनको लागि आधार दिएको हुन्छ ।
श्रमबाटै हरेकलाई जीवन जिउनको लागि आधार मिलेको हुन्छ । श्रमबिनाको जीवन ब्यर्थ हुने र श्रमको मुल्य नपाउँदा पनि गरिएको श्रम ब्यर्थ हुने भएकोले त्यो अवस्थाको अन्त्य होस् भन्न चाहन्छु ।
विश्व श्रमिक दिवसको कुरा गरिरहदा सो सँग समद्ध श्रमजीवि पत्रकारहरुको पेशागत हक हित र ब्यवसायिक सुरक्षा र श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक मुल्य निर्धारण समितिले निर्धारण गरेको पारिश्रमिक कार्यान्वयनको लागि सबैले सहयोग गर्ने वातावरण बन्न आवश्यक छ ।
विश्व श्रमिक दिवस र पत्रकारितामा महिला श्रमिकको अवस्था चुनौति र सम्भावनाको कुरा गर्दा यो बिषय ज्यादै गहन छ भन्ने लाग्छ । २०४७ र त्यसपछि ०६२÷६३ को आन्दोलनको प्राप्त उपलब्धि र त्यसपछि खुलेका सञ्चार माध्यमका कारण पत्रकारितामा महिलाको सहभागिता बढेको हो ।
पत्रकारीतामा महिला सहभागिता बृद्धि भएपनि सोही पेशामा टिक्नका लागि भने महिलालाई निकै चुनौति थपिएको छ । रहरमा गरिएको पत्रकारिता र शुरुमा प्रशिक्षार्थीको रुपमा गरिएको पत्रकारीता अनि परिपक्व भईसकेपछि पत्रकार र मिडिया हाउसबीच पारिश्रमिमको कुरामा तालमेल खान दाङमै लामो समय काम गरिहेका तमाम पत्रकार महिलाहरुले पेशा परिवर्तन गरी वैकल्पिक पेशाको रुपमा पत्रकारितालाई अगाल्न विवश छन् । त्यसो हुनु भनेको श्रम अनुसारको पारिश्रमिक नपाउनु पनि एक कारण हो ।
राम्रो लेख्ने पत्रकारहरुको खोजी पनि उत्तीकै छ । तर सामान्य तया पत्रकारितामा संलग्न भईसकेपछि मिडिया हाउसहरुले पारिश्रमिकदेखि पत्रकार महिलाकोे क्षमता विकासमा ध्यान नदिदा पेशागत रुपमा जोडिएका पत्रकारमहिलाहरुले आफूलाई समस्या भएको बताउँछन् ।
विश्व श्रमिक दिवसको अवसरमा कुरा गर्दा हरेक मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको मुख्य उद्देश्य भनेकै समान कामको समान ज्याला हो । तर त्यो कुरा अझै ब्यवहारिक रुपमा लागू हुन सकेको छैन ।
सम्भावना पछिल्लो समय पत्रकारिताको दायरा फराकिलो बन्दै गएको छ । राम्रो पत्रकार महिलाले एक मिडिया हाउसमा मात्र काम गर्नुपर्ने बाध्यता र अवस्था छैन ।
आफ्नो सीप र क्षमतालाई निर्खान सक्यो भने देश बाहिर पनि काम गर्न सक्ने अवसरहरु छन् । पत्रकारिता चुनौतिसँगै अवसरले भरिएको पेशा भएकोले राम्रो आवाज र राम्रो लेखन भएका पत्रकार महिलाहरुले पत्रकारितामै टिक्न सक्ने वातावरण बन्दै गएको छ । यसका लागि आफ्नो सिप क्षमता र निरनन्तरतालाई अविराम चलाएमान बनाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *