शैक्षिक गुणस्तर सुधार गर्न अभियान्

फिचर मुख्य खबर समाज

सल्यान, २२ भदौ । दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा सूक्ष्म अनुगमन अभियानलाई सम्पूर्ण विद्यालयहरुमा पुगेर शिक्षक, अभिभावक तथा विद्यार्थीहरुबीच अन्तक्र्रियात्मक कार्यक्रम गरिरहेको छ ।
सोही कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं.२ स्थित श्री बाल कल्याण माध्यमिक विद्यालय भुवन टाकुरीमा कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै विद्यालयकी छात्रा कल्पना हमालले विद्यालयमा शिक्षकहरुले नियमित कक्षा नलिएको गुनासो गरिन् ।
विद्यालयमा नियमित कक्षा नहुँदा पठनपाठन प्रभावित भएको उनको भनाई छ । त्यसैगरी पाठ्यक्रममा कम्प्युटर विषय भए पनि हालसम्म कम्प्युटर खोल्न र बन्द गर्नसमेत आफूहरुले नजानेको हमालले बताइन् । विद्यार्थीहरुसमेत अनुशासनमा नरहेको भन्दै उनले भनिन् ‘हामी आफै पनि अनुशासित छैनौँ, यसमा शिक्षक अनि अभिभावकले समेत ध्यान दिनुपर्छ ।’
कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा चन्दले समेत विद्यालयमा राम्रो पढाइ हुन नसकेको बताइन् । विद्यार्थीहरुले नजानेको कुरा सिक्नका लागि अतिरिक्त कक्षा माग गर्दासमेत त्यसको व्यवस्था हुन नसकेको उनले बताइन् ।
होमवर्क दिएर पनि शिक्षकहरुले चेक नगर्ने गरेको उनको गुनासो थियो । विद्यालयकी अभिभावक चन्द्रकला केसी रोकायले विद्यालयमा हुने अनावश्यक राजनीतिले विद्यार्थीहरुको पढाइ प्रभावित हुने गरेको धारणा राखिन् ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकको बैठकमा समेत शैक्षिक विषयवस्तुबारे छलफल नहुनुले विद्यालयभित्र हुने गरेको राजनीति प्रष्ट भएको उनले बताइन् ।
अर्का अभिभावक महेशकुमार विकले शैक्षिक मुद्दामा समेत सबै एकजुट नभएकोमा दुःख व्यक्त गरे । विद्यालयमा हुने राजनीतिले विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले एकले अर्कालाई आरोप लगाउनुभन्दा पनि सकारात्मक पक्षबाट समस्या समाधानतर्फ लाग्न आग्रह गरे ।
शिक्षामा लगानी अनुसारको शैक्षिक उपलब्धि नदेखिएको भन्दै प्रमुख पाण्डेले शिक्षक, विद्यार्थी, अभिभावकको समन्वयमा मात्र सिकाइ उपलब्धिमा सुधार ल्याउन सकिने बताए । समस्या सँगसँगै समाधान पनि आउने बताउँदै उनले शिक्षक, कर्मचारी सबैले दिइएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा समिति संयोजक एवं गाउँपालिका अध्यक्ष निमबहादुर केसीले एकैपटक माथिल्लो तहमा शैक्षिक गुणस्तर सुधारको अपेक्षाभन्दा पनि जगदेखि नै विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनुपर्ने धारणा राखे ।
शिक्षामा राज्यको ठुलो लगानी हुँदा पनि नतिजा लाजमर्दो भएको उनको भनाई थियो । समस्या देखाएर पन्छिन कसैलाई छुट नभएको भन्दै अध्यक्ष केसीले नीति निर्माणदेखि पूर्वाधार विकास एवं स्रोतसाधन सम्पन्न बनाई शैक्षिक गुणस्तर कायम गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए ।
विद्यालयमा कुनै पनि खालको राजनीति सैह्य नहुने बताउँदै उनले विद्यालयका मुद्दाहरुमा राजनीति नगर्न र समुदायबीच आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गरे । विद्यार्थीहरुले निःशुल्क पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।
अभिभावकहरुले मदिरापान गर्दा बालबालिकाहरुलाई प्रत्यक्ष असर गरेको भन्दै सहभागीहरुले मदिरा निषेधित क्षेत्र बनाउनसमेत सुझाव दिएका थिए । गाउँपालिका अध्यक्ष केसीले सहभागीहरुलाई मदिरा नखाने र अरु कसैलाई खानसमेत नदिने प्रतिबद्धता गराएका थिए ।
पूर्वाधार अभावका कारण एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता भएको विद्यालयका प्रधानाध्यापक कविकुमार चन्दले बताए । उनले विद्यालयको वार्षिक प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।
शौचालय अभाव, निजी स्रोतका शिक्षकहरुले न्यून पारिश्रमिकमा पढाउनु परेको, अतिरिक्त क्रियाकलाप नहुनेजस्ता विभिन्न सवालहरुसमेत सहभागीहरुले उठाएका थिए ।
कार्यक्रममा गाउँपालिका स्तरीय अनुगमन समितिका सदस्य अनन्त प्रसाद शर्माले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र सिकाइ उपलब्धि प्राप्त हुने धारणा राखे ।
विद्यार्थीको नतिजा उत्कृष्ट ल्याउन विद्यालय मात्र नभएर घर तथा समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको उनको भनाई थियो । कार्यक्रम वडा शिक्षा समितिका संयोजक तथा वडा अध्यक्ष डिल्लीबहादुर केसीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सञ्चालन शैक्षिक संस्था पुनर्संरचना कार्यदलका सदस्य तुल्सी शर्माले गरेकी थिइन् । गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुमा पुगी त्यहाँ देखिएका समस्या तथा आएका सुझावहरुका आधारमा शैक्षिक गुणस्तर सुधारको प्रयास थालेको हो ।
हाल गाउँपालिकामा ५ वटा मावि, १० वटा निमाविसहित जम्मा ३४ वटा विद्यालय रहेका छन् । साथै भूगोल तथा विद्यार्थी सङ्ख्याका आधारमा समायोजन गर्नका लागि कार्यदल बनाई मर्जको तयारीसमेत भएको गाउँपालिकाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *