शैक्षिक गुणस्तरमा सहकार्य आवश्यक

मुख्य खबर समाज

दाङ, ७ भदौ । सामुदायिक विद्यालयहरुको शैशिक गुणस्तर र सिकाई उपलब्धिका लागि सबैको सहकार्य र समन्वय आवश्यक हुनुपर्ने शिक्षा सरोकारवालाले बताएका छन् ।
सबैको सहकार्य र सहयोग भएका विद्यालयहरुको शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको र सहकार्य नभएका विद्यालयको सिकाइ कमजोर रहेको सरोकारवालाहरुले बताएका छन् ।
राप्ती राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजीआरपी) जिल्ला समन्वय समितिको नियमित बैठक अन्तर्गत राप्ती गाउँपालिकामा भएको बैठकमा सहभागी शिक्षा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
समितिको घुम्ती बैठकअन्तर्गत राप्ती गाउँपालिकामा गरिएको थियो । बैठकमा समितिका सदस्य इजिआरपीका प्रतिनिधि, गाउँपालिकाका जनप्रनिधि तथा समुदाय परिचालनको सहकार्य गरेका गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले शिक्षाको सुधारका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।
शिक्षा सुधारका लागि शिक्षक विद्यार्थी मात्रै भन्दा पनि अभिभावक, विद्यार्थी, शिक्षक, नियमन गर्ने निकाय र जिम्मेवार सरोकारवालाहरुले पनि चासो दिनुपर्ने बताए ।
उनले गाउँपालिकाले शिक्षा सुधारका लागि प्रयास गरेको बताए । उपाध्यक्ष जगदम्बा चौधरी र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले इजिआरपी कार्यक्रम प्रभावकारी भएको बताए । गाउँपालिकाका विद्यालयमा यो कार्यक्रम प्रभावकारी भएको उनीहरुले बताए ।
बेसका कार्यकारी निर्देशक चूर्ण बहादुर चौधरी, शिक्षक महासंघका अध्यक्ष अमरबहादुर खड्का, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भाष्कारराज गौतमले सबै पक्ष जिम्मेवार भएमा र आ–आफनो कर्तब्य पूरा गरेमा शिक्षामा पूर्णरुपमा सुधार ल्याउन सकिने बताए ।
शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख रामलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा इजिआरपीमा फोकल पर्सन देवमणि चौधरी, राप्ती गाउँपालिकाका वडा अध्यक्षहरु तारा बहादुर डिसी, विश्वनाथ चौधरी लगायतले बोलेका थिए ।
इजिआरपीको बारेमा इजिआरपीका क्षेत्रीय कार्यक्रम अधिकृत बखत भण्डारी र समुदाय परिचालनको बारेमा बेसका लोकजंग चौधरीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण इजिआरपीका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *