शून्यतामा प्रित

साहित्य

मनोज दृश्यम्

रातको समयमा मेरो कोठाको भित्तामा टाँगिएका तस्बिरहरु एक–एक गरी नियाल्दै थिए । बत्तीको उज्यालोमा तस्बिरहरु फरक भएपनि खै मलाई उनकै तस्बिर टाँगिए झै लागिरहेको थियो । म हरेक तस्बिरमा उनलाई नै देखिरहेको थिए । मलाई सहनै गाह्रो भयो । यथार्थमा हाम्रो सम्बन्ध ओझेल परिसकेको भए पनि खै किन आज हरेक कुनाबाट उनले मलाई चिहाई रहेकी थिइन । म निस्सासिन थाले अनि एक्कासी मेरो नजरलाई झ्यालबाट बाहिर अँध्यारोतिर मोडे ।
त्यही नयन, त्यही रुप, त्यही मुस्कान र त्यही जिउडाल ठिङ्ग उभिएकी देखे । मेरो मनमा चिसो पस्यो । खै किन आएकी उनी यहाँ । उनलाई त थाहा छ नि हामीलाई समाजले एक हुन दिदैन । जति समानताका भाषण छाटे पनि यथार्थमा स्विकारिदैन अन्तर्जातीय सम्बन्धलाई । म आफूलाई जसोतसो सम्हाल्दै थिए, फेरि मेरो मन बिचलित पार्न किन आयौँ तिमी ? हो, थाहा छ, तिमी पनि मलाई असीम माया गछ्र्याै म पनि तिमीलाई असीम माया गर्छु । तर पनि के फेरि पनि अब हामी एक भएको स्विकार्छन् त कोही ? तिमी जाऊ, जाऊ तिमी । एकटक हेरिराख्दा उनको नयनको डिलबाट बेगले आँसु चुहिन खोजेको देखे । फेरि सम्झिए त्यो बाचा, ‘तिम्रो नयनबाट कहिल्यै आँसु बग्न दिने छैन ।’ अनि अत्तालिदै समाज, संस्कृति, नाता, सम्बन्ध सबै भुलेर, उनलाई सम्हाल्न जोडले दौडिएर बाहिर आईपुगे । तर त्यहाँ कोही थिएन । चारैतिर कोही थिएन । उनी उभिएको ठाउँमा त फगत मेरो कोठाबाट निक्लिएको उज्यालो बत्तीको सेतो प्रकाश मात्र थियो, जो देखे जस्तो लागेपनि महसुस मात्र गर्न सकिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *