शुद्ध पानी कहिले पाउँछौं ?

फिचर मुख्य खबर समाज

तुलसीपुर, २४ चैत । खानेपानीको मुहानमा सिमेन्ट उद्योग र सडक डिभिजनको चरम लापरवाहीका कारण आफूहरुले धमिलो पानी पिउन बाध्य भएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपभोक्ताले गुनासो गरेका छन् ।
पानीको मुहानलाई ख्यालै नगरी सडक डिभिजनले सडक निर्माण गरेको र सोनापुर सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन्मा चरम लापरवाही गरेका कारण आफूहरु मारमा परेको खानेपानीका उपभोक्ता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का टोपेन्द्र केसीले बताए ।
‘धारामा धमिलो पानी आउँछ, म त कुवाको पानी प्रयोग गर्दै आएको छु’ उनले भने ‘मुहानलाई संरक्षण गर्ने भएका सहमति नहुँदा वर्षौदेखि धमिलो पानी खान बाध्य छौँ, कहिले होला शुद्ध पानी पाउने ?’
सोनापुर सिमेन्ट उद्योगले उत्खनन् गर्दा खानेपानीको मुहानमा धमिलो पानी हुने गरेको भन्दै तत्काल शुद्ध पानी वितरणमा ध्यान दिन उपभोक्ताले अनुरोध गरेका छन् । उपभोक्ताले मुहानदेखि मुखसम्म शुद्ध पानीका लागि गम्भीर बन्न सम्बन्धित निकायलाई आग्र्रह समेत गरेका छन् ।
उद्योग उत्खनन् गरेको ठाउँबाट हिलो बगेर खानेपानी संस्थाको मुहान रहेको ठाउँमा आउने गरेको र पानी धमिलो आउने गरेको संस्थाका अध्यक्ष प्रदीप गौतमले जानकारी दिए । धारामा धमिलो पानी आएको उपभोक्ताको अत्याधिक गुनासो आएपछि शुक्रबार तुलसीपुर उपमहानगरका शुक्रबार खानेपानीको मुहानको अनुगमन गरिएको छ ।
संस्थाका अध्यक्ष गौतमसहित तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, सडक डिभिजन कार्यालयका प्रतिनिधि, खानेपानी डिभिजन कार्यालयका प्रतिनिधि, खानेपानी संस्थाका उपभोक्ता, पत्रकारसहितको टोलीले सिमेन्ट उद्योगको उत्खनन् स्थल रोल्पाको रुण्टीगढी गाउँपालिकाका–६ गोदे चाँदेमा पुगेर सिमेन्ट उद्योगका प्रवन्धक निर्देशक हरि पाठकलाई भेटी शुद्ध खानेपानी समाधानका लागि खानेपानीको मुहान भएको ठाउँ तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १९ सुंगुरखोला रहेको मुहानमा तत्काल मुहान संरक्षण र समस्या समाधान गर्ने सहमति भएको छ ।
छलफलमा मुहान संरक्षणका लागि तत्काल डिपिआर स्टिमेट तयार पार्ने तत्काल वर्षाको समय नहुँदै समस्या समाधान गर्ने सहमति भएको छ । अनुगमनपछि नगरप्रमुख पाण्डेले सिमेन्ट उद्योगले जनतालाई खुशी बनाएर मात्रै उद्योगले काम गर्नुपर्ने बताए । ‘खानेपानीको मुहान संरक्षण गरेर तत्काल जनताले शुद्ध पानी पाउनुपर्छ, दश÷पन्ध्र दिनभित्र खानेपानी डिभिजनले डिपिआर स्टिमेट तयार पार्ने छ र वर्षा अगावै खानेपानीको समस्या समाधान गर्नुस्’ उनले भने ।
नगरप्रमुख पाण्डेले उद्योगले चुनढुंगा उत्खनन् आई र इआईमा गरेका प्रतिवद्धता पूरा गर्न निर्देशनसमेत दिएका छन् । उनले उद्योगले गरेका प्रतिवद्धता पूरा नगरे उद्योग बन्द गर्ने अधिकारसमेत आफूहरुको भएको भन्दै उद्योगले जनतालाई खुशी बनाएर मात्रै आफ्नो व्यवसाय गर्नुपर्ने बताए ।
छलफलको क्रममा उद्योगका प्रबन्ध निर्देशक हरि पाठकले मुहान संरक्षणमा सबैले गर्नुपर्ने बताए । ‘सकेसम्म कसैलाई पनि मर्कामा पार्ने पक्षमा हामी छैनौँ, अब काम गर्ने क्रममा सानातिना गल्ती हुन्छन्, यहाँहरुले खबरदारी गर्नुभयो भने हामीले सकेसम्म समाधान गर्ने छौँ’ उनले भने ‘खानेपानीले डिपिआर स्टिमेटपछि आफूहरुले तत्काल कामलाई अगाडि बढाउने छौँ र यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्ने छौँ ।’
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अहिले तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६, १७, १८ र १९ खानेपानी वितरण गर्दै आएको छ ।
संस्थाबाट हालसम्म करिब सामुदायिक र निजी गरे एक हजार दुई सय वितरण भएको अध्यक्ष गौतमले जानकारी दिए । ३२ सय घरधुरीलाई पानी पु¥याउँदै आएको संस्थाबाट दैनिक चार लाख लिटर पानी खपत हुने गरेको छ ।
विसं २०३४ सालमा स्थापना भएको संस्थामा पछिल्लो समय खानेपानीको माग अनुसार पानी पु¥याउन नसकिएको अध्यक्ष गौतमको भनाइ छ । बढ्दै गएको पानीको माग र चुनढुंगा उत्खनन्का कारण पानीका मुहान पनि सुक्दै जान थालेकाले पानीको अभाव बढ्दै गएको छ उनले भने– अझ त्यसैमा मुहानमाथि चुन ढुंगा उत्खनन् र सडक निर्माणका कारण उपभोक्ताले वर्षा भएपछि धमिलो पानी खान बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *