शिशु स्वास्थ्यमा पोषण महत्वपूर्णः चौधरी

मुख्य खबर समाज

तुलसीपुर, ४ असार । प्रदेश नम्बर ५ का सार्वजनिक लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले बालबालिककाको स्वास्थ्य सुरक्षाका लागि पोषण अपरिहार्य भएको बताएका छन् ।
उनले शिशु स्वास्थ्यमा पोषणलाई महत्व दिन सकेमा मात्रै मानव विकास सहज हुने बताए । शिशुको सुरक्षा र स्वस्थताका लागि पेटदेखि एक हजार दिनसम्मको अवस्थामा विशेष ध्यान दिनुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११को आयोजना तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालन भएको दुईदिने मातृ नवजात स्वास्थ्य तथा बाल स्वास्थ्य अभिमुखीकरण कार्यक्रममा सभापति चौधरीले त्यस्तो बताएका हुन् ।
उनले समाजमा देखिएको लिङ्ग विभेदलाई समेत तोड्नु पर्ने बताए । स्थानीय सरोकारवाताहरु सहभागी कार्यक्रममा चौधरीले किसानहरुको खेतीपातीको समय सुरु हुँदा पनि रासायनिक मलको समस्या यथावत रहेको भन्दै सरकारले किसानहरुका लागि मलको सहज आपूर्ति गर्नुपर्ने बताए ।
‘तीन तहकै सरकारले मललाई सहज बनाउन लाग्नुपर्छ’ उनले भने ‘अनुदानको नाममा मल अभाव हुनुहुँदैन । किसानलाई कि सहज रुपमा मलको व्यवस्था गरिदिनु पर्छ हैन भने मल ल्याउन भारतीय सिमाना खुला गर्नुपर्छ’ उनले भने,
‘बहानामा किसान समस्यामा नपरुन् ।’ उनले मलको सहज आपूर्तिका लागि संसदमा समेत कुरा उठाउने बताए । पूर्वमन्त्रीसमेत रहेका चौधरीले जिल्लाको विकासका लागि आफू सधै सक्रिय भएको भन्दै यस वर्ष पनि विकासका कटिबद्ध रहेको बताए ।
वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा तथा सार्जजनिक लेखा सभापति चौधरीको प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा उपसंयोजक बसन्तकुमार आचार्यको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा सदस्य सुवास डिसी, घनश्याम गौतम, वडा सचिव भुवनेश्वर अधिकारी स्थानीय अगुवा नेत्रमणि शर्मा, लिलाध्वज बस्नेत, शरण कुमार चौधरी, बोदीलाल भण्डारी, प्रेम वडलगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन वडा कर्मचारी लक्ष्मी चौधरीले गरेकी थिइन । अभिमुखीकरणको प्रशिक्षकमा बसन्तकुमार आचार्य र आनन्द कर्ण रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *