तुलसीपुर, २४ असार । शिव सेना नेपाल दाङ शाखाले पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औँ जन्मोत्सव मनाइएको छ । जन्मोत्सवको अवसरमा सोमबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोसत्व मनाइएको शिवसेना नेपाल दाङका युवा बरिष्ठ उपाध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।
शिव सेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले हिन्दू राष्ट्र बचाउन राजाको खाँचो रहेको बताए । पञ्चायतकालमा राजाको जन्मोत्सव मनाउँदा बाजागाजासहित विभिन्न कार्यक्रम गरि मनाइन्थ्यो तर अहिले एउटा बन्द कोठामा मनाउन बाध्य छौँ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका जिल्ला सदस्य ललित बहादुर वलीले भने ।
यस्तै कार्यक्रममा बोल्दै शिव सेना नेपाल दाङका वरिष्ठ उपाध्यक्ष असिताभ लामिछाने, युवा अध्यक्ष दामोदर सुवेदी, युवा वरिष्ठ उपाध्यक्ष प्रमोद अधिकारीले शिव सेना नेपालले अहिले देशैभर राजा बचाउ सम्बन्धी कार्यक्रमहरु गरिरहेको बताए । जनताले अझैपनि राजाको अपेक्षा गरेका छन्, हामीले देश बचाउन राजा ल्याउनै पर्छ, उनले भने ।
उक्त अवसरमा शिव सेना नेपालका केन्द्रीय सदस्य मेघराज रेग्मी, रुद्रमधु डिसी, बेदादेवी धिताल, समाजसेवी गोपाल धिताललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिव सेना नेपालका सदस्य बलिराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बासुदेव भुसालले गरेका थिए ।
