शिखरको साधारण सभा

मुख्य खबर

तुलसीपुर, ११ पुस । सहकारी संस्थाहरु समुदायमैत्री बन्न आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । श्री शिखर बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभाका अवसरमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । समुदायमा भएका तथा हुने गरेका विभन्न किसिमका आर्थिक क्रियाकलापहरु माथि अनुगमन गर्नुपर्ने बताए । व्यवसायीक आर्थिक क्रियाकलाप सञ्चालन तथा स्थापना गर्नमा सहकारीले अगुवाईको भूमिका निभाउन आवश्यक भएको उनीहरुले बताएका हुन् ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि एवं दाङ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष अन्जन कुमार पौडेलले सहकारीहरुले संस्थाका सदस्यहरुलाई ऋण प्रदान गर्ने समयमा व्यवसायीक श्रोतका भरमा नभई इमान्दारिताको पहिचान गरी ऋण प्रदान गर्न आवश्यक भएको बताए । एउटै व्यक्ति विभिन्न बचत तथा ऋण सहकारी संस्थामा आवद्ध हुन नपाउने समेत उनले जानकारी दिए । यसर्थ एउटा विश्वासिलो सहकारी संस्थालाई चुनेर एउटैमा सम्पूर्ण कारोवार गर्न उनले सबैलाई आग्रहसमेत गरे । सामाजिक, आर्थिक र साँस्कृतिक आवश्यकता पूरा गर्नका लागि सहकारीहरु मुख्य पहरेदारको रुपमा स्थापित हुनुपर्ने उनको भनाइ छ । यस्तै कार्यक्रमका अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं बसन्त बचत तथा ऋण सहकारी संस्था कोहलपुरका अध्यक्ष घनबहादुर चन्दले सहकारी संस्थाहरु सदस्यमैत्री बन्न आवश्यक भएको बताए छन् । उनले हरेक सहकारीहरु सदस्यमैत्री बन्नसकेमा सहकारीको आकार बढ्दै जानुको साथै जनविश्वासीसमेत बन्न सक्ने बताए ।
यस्तै सहकारी संस्थाका सञ्चालक यमनारायण रजौरेले सहकारी एउटा टेबुलमाथी सिमीत नभई बहुआयामी बन्न आवश्यक भएको बताए । सहकारी जनसम्पन्न, नारी सम्पन्नताको बाटो मात्र नभई आर्थिक समृद्धिको कारक र उत्प्रेरक समेत बन्नु आजको आवश्यकता भएको औँल्याए । सहकारी आफैमा बलियो संस्था भएकाले यसले संस्थाका सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । सहकारी संस्थाका अध्यक्ष पवन कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सदस्य सूर्यनारायण आचार्यले गरेका थिए । कार्यक्रमका सचिव श्रीमण देवकोटाले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाकी सदस्य कमला सुवेदीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *