शिक्षा, स्वास्थ्य र खाद्यको सार्वजनिक सुनुवाई

मुख्य खबर

घोराही, १३ जेठ । घोराही क्षेत्रका शिक्षा स्वास्थ्य तथा खाद्य अधिकार विषयका काम गर्ने कार्यालयहरुको सार्वजनिक सुनवाई गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) क्षेत्रीय कार्यालय नेपालगंजको आयोजनामा सार्वजनिक सुनुवाई भएको हो । कार्यक्रममा सहभागी विभिन्न निगरानीका समूहले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार विषयका सरोकारवालासँग गुनासो गरेका थिए ।
कार्यक्रममा सहभागी विभिन्न सामुदायिक विद्यालयका छात्रछात्राहरुले विद्यालयमा शौचालय नभएको, खेलकुद सामग्री नभएको, पुस्तकालयको व्यवस्थापन नभएको बताएका थिए भने प्रधानाध्यापकहरुले विद्यालयमा शिक्षक दरबन्दीका कारण पठनपाठनमा समस्या भएको, विद्यालयको भौतिक पूर्वाधारमा समस्या भएको गुनासो गरेका थिए ।
त्यसैगरी निगरानी समूहकी अध्यक्ष शान्ता घिमिरे खानेपानीको समस्या भएको बताइन् । चैत महिनादेखि खानेपानीको समस्या भएकाले पानी व्यवस्थित गरिदिन अनुरोध गरेकी थिईन् । उनले कटुवाखोला र बबई खोलाको पानी खान बाध्य भएको बताईन् ।
घोराही उपमहानगरपालिका वडा नं. ३ की निगरानी समूहकी अध्यक्ष खिमा अधिकारीले स्वास्थ्य भवनमा स्वास्थ्य क्लिनिक नहुँदा समस्या भएको बताईन् ।
त्यसैगरी त्यहाँको फोहर व्यवस्थापन नभएकाले व्यवस्थित गर्न सुझाव दिएकी थिईन् । छलफलमा निगरानी समूहको गुनासो सुनिसकेपछि नगर शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले शिक्षाका हरेक गतिविधिलाई समय सापेक्ष बनाउनु पर्ने बताए ।
‘समयमै विद्यार्थीहरु पाठ्यपुुस्तकहरु पुगेका र सुविधा दिएका विद्यालयहरुमा पनि सन्तोषजनक सिकाइ उपलब्धि देखिएन्’ उनले भने ‘प्रयोगात्मक रुपले अगाडि बढ्नुपर्छ ।’
विद्यार्थीको सिकाइ उपलब्धि नहुँदा अभिभावकले शिक्षकलाई र शिक्षकले विद्यार्थीलाई दोषारोपण गर्ने भएकाले यसको सही निकासतर्फ लागेर शैक्षिक उपलब्धिलाई बढाउनु पर्ने बताए ।
घोराही उपमहानगरपालिका कृषि शाखाकी राधा मल्लले साना सिंचाई आयोजना र कृषकहरुको मागको आधारमा एक लाखसम्मको अनुदान कार्यक्रम रहेको बताईन् । कृषि शाखाले कृषकहरुलाई उन्नत जातका बिउहरु वितरण गरिरहेको बताईन् ।
त्यस्तै घोराही उपमहानगरपालिकाका नारायणप्रसाद घर्तीले आर्युवेद चिकित्साको माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । घोराही उपमहानगरपालिकाका वडामा रहेका स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको र ल्यावसहितको सेवा प्रदान गरिरहेको बताए ।
मानव अधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता सिग्देल न्यौपानेले कार्यक्रममा आएका गुनासोहरुलाई सम्बन्धित कार्यालयका प्रमुखहरुले सम्बोधन गर्न अनुरोध गरेकी थिईन् ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, प्रअ बामदेव अधिकारीलगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)का जिल्ला प्रतिनिधि जेएन सागरले गरेका थिए । कार्यक्रममा विभिन्न निगरानी समूहको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *