घोराही, ९ पुस । शहिद कृष्णसेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयले शोकसभा गरेको छ । शिक्षालयमा वन विज्ञान विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई बोटानी र जुयोलोजी विषयको अवलोकन गरेर दाङ फर्किने बेला भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरुलाईे श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभाको आयोजना गरिएको हो । भ्रमणका लागि सल्यान जिल्लाको कपुरकोट र मुलपानी अध्ययन अवलोकन गरी फर्किने क्रममा दाङको राम्री भीरबाट गाडी दुर्घटना भई कलेजमा अध्ययनरत दुईजना प्रशिक्षक र १९ जना विद्यार्थीहरुको निधन भएको थियो । सवारी दुर्घटनामा घाइते भई उपचार भईरहेको विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै थप उपचारका लागि आवश्यक सम्पूर्ण प्रक्रिया मिलाउनका लागि नेपाल सरकार तथा सिटिइभिटिसँग शिक्षालय माग गरेको थियो ।
शिक्षालयका प्रमुख यादव सुवेदीको अध्यक्षतामा शोकसभा भएको थियो । शोकसभामा सहभागीहरुले सवारी दुर्घटना न्यूनीकरण गर्नतर्फ लाग्नुपर्ने बताए थिए । उनीहरुले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइते परिवारलाई उपचारको व्यवस्था मिलाउनु पर्ने बताएका थिए । शोकसभामा शिक्षालयका प्रमुख सुवेदीले सवारी दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि अस्पताल पु¥याउन सहयोग गर्ने सम्पूर्ण सरकारी निकायहरुप्रति धन्यवाद व्यक्त गरेका थिए । साथै घटनास्थलबाट मृतकहरुको सब तथा जीवित घाइतेहरुलाई उद्धार गर्न सहयोग गर्ने निजी तथा संघसंस्थाहरुलाई आभार व्यक्त गरेका थिए । शोकसभामा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेल, नेकपामा हेमराज शर्मा, नेपाली काँग्रेसका जिल्ला सचिव शंंकरप्रसाद डाँगी, महेन्द्र बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजाल, प्याब्सन दाङका अध्यक्ष यादव गिरी, विद्यार्थी सन्तोष आचार्यलगायतले श्रद्धाञ्जली मन्तवय व्यक्त गरेका थिए । शोकसभाको सहजीकरण केशरमान बिसीले गरेका थिए ।