शिक्षामा नयाँ सर्वे

सम्पादकीय

तुलसीपुर उपमहानगरपालिकाले शिक्षामा नयाँ प्रयास थालेको छ । सार्वजनिक शिक्षा सुधार गर्ने र त्यहि अनुसार नगरस्तरीय योजना बनाउने उद्देश्यले विद्यालयमा पहिलो पटक प्रत्येक विद्यार्थी सर्वे थालिएको छ ।
सर्वेले वास्तविक शिक्षाको अवस्था, अभिभावक, विद्यालय, शिक्षक र विद्यार्थीको पारिवारिक अवस्थाको बारेमा समेत अध्ययन गरेर अवस्था अभिलेखिकरण गर्ने छ ।
नगरले नेपालमै पहिलो पटक थालेको यो अभ्यास महत्वपूर्ण मानिएको छ । वार्षिक रुपमा गर्ने गरी थालिएको यो सर्वेले नगरका विद्यालयको शैक्षिकस्तरमा समेत सुधार गर्ने अपेक्षा निकायको रहेको देखिन्छ ।
सार्वजनिक शिक्षामा शैक्षिक गुणस्तरको अवस्था कमजोर भइरहेको तथ्याङ्कलाई पनि यो सर्वेले यथार्थता बुझ्ने जसले भावीयोजना र कर्मलाई आधार बनाउने छ । शिक्षामा देखिएको वास्तविकता र यथार्थतालाई नगरले योजनाको रुपमा विकास गर्ने उपयुक्त हुन्छ ।
विभिन्न प्रयोजन, उद्देश्यले धेरै नै सर्वे हुने गर्दछन् । शिक्षामा हुने सर्वे पनि नमुनाको रुपमा गरिदै आइएको छ । एकसय जना विद्यार्थी भएका १० जनामा नमुना सर्वे गरेर सय जनाकै अवस्था आँकलन गर्ने गरिराखिएकै देखिन्छ ।
तर प्रत्येक विद्यार्थी र व्यक्तिको अवस्था बुझ्न सबैको सर्वे अपरिहार्य हुन्छ । त्यो तुलसीपुर उपमहानगरपालिकाले बुझेको देखिएको छ । विश्वमा सफल भएको सर्वे ‘वार्षिक शैक्षिक अवस्था सर्वे’ नाम दिएर सुरु भएको सर्वेले तुलसीपुरको शिक्षाको अवस्थालाई यथार्थता बनाउने छ ।
कक्षा १ देखि ८ सम्मका प्रत्येक विद्यार्थीको पूर्ण अवस्थाको सिकाइलगायतका विषयको वास्तविक अवस्थाका बारेमा सर्वे गरिएको छ । विश्वमा मान्यता प्राप्त ‘असर टेष्ट’ दाङमा पनि सुरु हुने शिक्षाको स्तर बढाउने अपेक्षा हुन स्वभाविक नै छ ।
त्यो स्वभाविकतालाई स्थानीय सरकारले प्रमाणित गरिदिनु पर्छ । तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत रहेका एक सय ३९ विद्यालयका ३४ हजार विद्यार्थीहरुमा असर टेष्ट गरिदैछ ।
७० सामुदायिक विद्यालय र ६९ निजी विद्यालयमा यो काम हुँदैछ । जसका लागि एक सय ५० जना स्वयम्सेवक परिचालन भएका छन् । ३४ हजार विद्यार्थीमा सर्वे गर्दैछ ।
शिक्षा सुधार अनिवार्य छ । स्थानीय सरकारले शिक्षा व्यवस्थापनका लागि त्यति धेरै प्रयास भएका पनि देखिदैनन् । केहि स्थानीय तहले शिक्षा सुधारका केहि प्रयासहरु गरेका देखिन्छ । त्यसमध्येको तुलसीपुर उपमहानगरपालिका पनि हो ।
विद्यालय मर्जदेखि गुणस्तरका लागि प्रधानाध्यापकहरुलाई करार सम्झौता गराउनेसम्मका काम तुलसीपुरमा भएका छन् । अहिले असर टेष्ट पनि तुलसीपुरमा नयाँ नै हो । यसले निरन्तरता पायो भने शिक्षा सुधारमा धेरै महत्वपूर्ण कार्य हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *