शिक्षक लाइसेन्स परीक्षा अब विषयगत

मुख्य खबर

काठमाडौँ, ११ पुस । यस वर्षदेखि शिक्षक लाइसेन्सको परीक्षा विषयगत हुने भएको छ । शिक्षक सेवा आयोगले आगामी चैत महिनामा विषयगत लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेको जनाएको छ । पहिला जनरल लाइसेन्स दिने गरिएकोमा अब भने विषयगत रुपमा नै लाइसेन्स दिइने छ ।
पहिला नै लाइसेन्स लिइसकेकाले पुनः लिनु नपर्ने भएपनि अब जुन विषय पढेको हो सोही विषयको मात्रै लाइसेन्स दिइने ब्यवस्था गरिन थालेको हो । आयोगका सूचना अधिकारी रामराज खकुरेलले अबको लाइसेन्स परीक्षा सामान्य नभएर विषयगत हुने जानकारी दिए । उनले विषयगत नै गर्ने भएर त्यही अनुसारको कोर्ष तयार पारेर वेवसाइटमा समेत राखिसकिएको बताए । यसअघि सबै विषयका लागि एकै प्रकारको प्रश्नपत्र हुने गरेको थियो । आयोगले अब हुने लाइसेन्स परीक्षामा विषयगत शिक्षकको लागि फाराम भर्न लगाउने र सोही अनुसार डिजाइन भएको प्रश्नपत्र अनुसार जाँच लिने तयारी रहेको बताए । उनले कोर्ष स्वीकृत भएको तीन महिना पछिमात्रै त्यसको जाँच दिन पाइने बताउँदै सबै प्रकृया पूरा गरेर विज्ञापन निकाल्ने तयारीमा रहेको बताए । यसै वर्षको अन्त्यमा विज्ञापन निकालिने छ । सूचना अधिकारी खकुरेलले भने पहिले शिक्षकलाई प्रदान गर्ने लाइसेन्स विषयगत थिएन । नेपाली, गणितलगायत सबै विषयका लागि एकैखाले प्रश्नपत्र हुने गथ्र्याे । शिक्षा ऐनको २०५९ सालमा भएको सातौ संशोधनपछि शिक्षक लाइसेन्सको परीक्षा लागू भएको हो । सूचना अधिकारी खकुरेलले लाइसेन्स पनि विभिन्न प्रकारका रहेको बताउँदै भने, ‘स्थायी, अस्थायी र विशेष प्रकारको लाइसेन्सको व्यवस्था रहेको छ ।’ उनले हालसम्ममा पाँच लाखभन्दा बढी शिक्षकले लाइसेन्स लिएको जानकारी दिए । आयोगले विषयगत लाइसेन्स परीक्षाले उत्तीर्ण प्रतिशत बढाउने अनुमान गरेको छ । सूचना अधिकारी खकुरेलका अनुसार यसअघिको माविको लाइसेन्स परीक्षामा ५ प्रतिशत र निमाविमा १५ प्रतिशतको मात्रै राम्रो नतिजा आउने गरेकोमा आफूले पढेको विषयमा राम्रो पकड हुने भएकोले अब लाइसेन्स परीक्षामा पास हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *