तुलसीपुर, ६ भदौ । तुलसीपुरमा रहेको एक विद्यालयमा बिहीबार शिक्षक–अभिभावक भेला सम्पन्न भएको छ । भेलाले समय–समयमा विद्यालयमा हुने विभिन्न गतिविधिहरूका विषयमा छलफल तथा विद्यालयको नतिजा विश्लेषणसमेत गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयको शिक्षक–अभिभावक तथा नतिजा विश्लेषण कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमले विद्यालयमा भएका समस्याहरूका विषयमा समेत छलफल गरेको थियो ।
उक्त अवसरमा बोल्ने वक्ताहरुले विद्यालयमा पानीको निकै समस्या भएको बताए । उनीहरूले पानीको अत्यन्तै समस्या भएकाले स्वच्छ खानेपानीको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने बताएका थिए । विद्यालय परिसरमा खुल्ला वातावरण भएकाले भौतिक संरचनाको संरक्षण गर्न तारवारको आवश्यकता रहेको औँल्याए ।
कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगर शिक्षा संयोजक देवराज विश्वकर्माले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
विद्यालयका शिक्षक रूपलाल बस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रममा जनप्रतिनिधि पार्वता विक, नेकपा १६ नम्बर वडाका अध्यक्ष चन्द्र बहादुर बस्नेत, नेपाली काँग्रेसका साविक मानपुर गाविसका उपसभापति ज्ञान बहादुर केसी, समाजसेवी अमर खड्का,
शिवानन्द डाँगीलगायतले विद्यालयको शैक्षिक र भौतिक गुणस्तरका लागि सबैले विशेष कदम चाल्नुपर्ने बताएका थिए । विद्यालयका प्रधानाध्यापक प्रकाश खड्काले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सहजीकरण नन्द खड्काले गरेका थिए ।