शिक्षकको सिठी जुलुस

फिचर मुख्य खबर समाज

घोराही, १० भदौ । दाङका शिक्षकहरुले घोराहीमा सिठी जुलुस गरेका छन् । विभिन्न बेथितिको विरोधमा शिक्षकहरु सडकमा आएका हुन । शुक्रबार सिठी जुलुस गरेर घोराही बजार परिक्रमा गरिएको छ । यसअघि शिक्षक महासंघको आह्वानमा पहिलो चरणमा भदौ ३ देखि ७ गतेसम्म विद्यालयको गेटमा लालटिन बाली, हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध गरेका शिक्षकहरुले शुक्रबार घोराहीमा सिठी जुलुससहित प्रदर्शन गरेका हुन् । दोस्रो चरणको कार्यक्रमअन्तर्गत शुक्रबार जिल्ला शिक्षा समन्वय समितिको कार्यालय घोराहीको प्राङ्गणबाट सुरु भएको सिठी जुलुस घोराही बजारको परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभा गरिएको थियो । कार्यक्रममा जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत विभिन्न घटकमा आवद्ध शिक्षक महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमर बहादुर खड्काको नेतृत्वमा आन्दोलन भइरहेको छ । कार्यक्रममा शिक्षक महासंघका केन्द्रीय सदस्य उद्व न्यौपाने, नेपाल शिक्षक संघ ५ नम्बर प्रदेश अध्यक्ष अर्जुन योगी, लालबहादुर भण्डारीलगायतले सहभागिता जनाउँदै आन्दोलनको बारेमा सम्बोधनसमेत गरेका थिए । दुई तिहाइको सरकारले अस्थिर सरकारको बहाना गर्नुपर्ने परिस्थिति नरहेको सहज परिस्थितिमा समग्र शैक्षिक उपलब्धिका लागि विभिन्न खालका ज्ञापनपत्रलगायतका जानकारी दिदा पनि कुनै सम्बोधन हुन नसकेको भन्दै आफूहरु सांकेतिक आन्दोलन गर्न बाध्य भएको अध्यक्ष खडकाले बताए । उनीहरुले सम्पूर्ण शिक्षक तथा शिक्षा क्षेत्रमा रहेका समस्याहरुलाई समयमै समाधान नगर्दा यस क्षेत्रमा सकारात्मक गति लिन नसकेको बताए । पहिलो र दोस्रो चरणको कार्यक्रम नरम देखिए पनि तेस्रो चरणमा आफ्नो आन्दोलन कडाइका साथ जाने उनीहरुले संकेत गरेका थिए । महासंघले संघीय शिक्षक आयोग गठन गरिनुपर्ने, शिक्षकको आवधिक बढुवा हुनुपर्ने, वित्तीय व्यवस्थापनको जिम्मेवारी संघलाई दिनुपर्ने, शिक्षक काउन्सिलको व्यवस्था हुनुपर्ने, विद्यालयमा कर्मचारी दरबन्दी व्यवस्था गरिनुपर्ने, गोल्डेन ह्याण्ड चेक यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, राहतलाई दरबन्दीमा रुपान्तरण गरिनुपर्ने, सहयोगी कार्यकर्तालाई न्यूनतम पारिश्रमिक निर्धारण गरिनुपर्ने र सामुदायिक विद्यालयमा आवश्यक दरबन्दीको व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेका छन् । कार्यक्रमको सहजीकरण महासंघका सचिव भागवत पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *