शान्त तलाउको २००औं श्रृङ्खला

फिचर मुख्य खबर

तुलसीपुर, १४ भदौ । विगत १७ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रेडियो कार्यक्रम शान्त तलाउको समीक्षा गरिएको छ । कार्यक्रम प्रशारणको २००औँ श्रृङ्खलाको अवसर पारेर शुक्रबार उक्त रेडियो कार्यक्रमको समीक्षा गरिएको छ । सञ्चारकर्मी तुफानबाबु श्रेष्ठले विगत १७ वर्षदेखि सञ्चालन गर्दै आएको रेडियो कार्यक्रम शान्त तलाउको समीक्षात्मक कार्यक्रम भएको छ ।
रिपोर्टर्स क्लव तुलसीपुरका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले समाज रुपान्तरणको मुद्दामा शान्त तलाउ कार्यक्रम निकै केन्द्रित रहेको बताए । उनले समाजलाई सही मार्गमा लैजानका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने कुरामा जोड दिए ।
‘हामीले चलाएको कार्यक्रमबाट समाजले केही न केही नयाँपन महसुस गर्नैपर्दछ उनले भने ‘यसका लागि शान्त तलाउजस्ता कार्यक्रमहरु सञ्चालन हुन जरुरी छ ।’
कार्यक्रम अवसरमा बोल्दै विशिष्ट अतिथि एवम् सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले रेडियोको क्रेज घटेको छ भन्नेहरुका लागि शान्त तलाउको निरन्तरता जवाफ भएको बताए ।
उनले गुणस्तरिय कार्यक्रम उत्पादन गर्नसके श्रोताको कहिल्यै पनि कमी नहुने कुरामा जोड दिए । पछिल्लो समय रेडियोकर्मीहरुले गुणात्मक कार्यक्रम उत्पादन गर्न नसकेको भन्दै उनले त्यसलाई सुधार्नका लागि सामुदायिक रेडियो प्रसारक संघले ध्यान दिने बताए । शान्त तलाउजस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको कुरामा उनले जोड दिएका थिए ।
यसैगरी रेडियो सञ्जिवनीका वरिष्ठ कार्यक्रम उत्पादक धु्रवराज न्यौपानेले रेडियो कार्यक्रमको व्रान्डिङ्ग हुनु निकै खुसीको कुरा भएको बताए । उनले शान्त तलाउ श्रोताको माझमा निकै लोकप्रिय कार्यक्रमका रुपमा रहेको भन्दै आगामी दिनमा पनि निरन्तर प्रशारण हुनु पर्ने बताए ।
मान्छेमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शान्त तलाउका प्रस्तोता श्रेष्ठले बताए । श्रेष्ठले रेडियोबाट पनि मान्छेलाई प्रेरणा दिन सकिन्छ भन्ने सोच अनुसार कार्यक्रम निर्माण गरिएको बताए ।
रेडियो प्रकृति एफ.एमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार वसन्त आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *