शान्ति स्थापनाका लागि सरकार मौन

फिचर मुख्य खबर

तुलसीपुर, ५ असोज । देशमा दिनप्रतिदिन अशान्ति र हिंसाका घटनाहरु बढ्दै जानुको मुख्य कारण सरकारको नै भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
शान्ति स्थापनाका लागि विभिन्न प्रयासहरु भईरहदा पनि सरकार मौन भएर बस्नु सबैभन्दा गलत भएको उनीहरुको भनाइ छ । शनिबार तुलसीपुरमा भएको मानवअधिकार तथा शान्ति समाजको २१औँ साधारण सभाका अवसरमा उनीहरुले यस्तो बताएका हुन् ।
समाजका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले विश्वमा शान्ति स्थापनाका लागि सचेत भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए । पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने विषयमा सरकार सधैं मौन भएर बसेको बताउँदै उनीहरुले शान्ति प्रक्रिया तार्किकमा पुग्न नसकेको बताएका हुन् ।
उक्त अवसरमा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले विश्वव्यापी मान्यताभन्दा बाहिर गएर शान्ति स्थापना हुन्छ भन्नु गलत भएको बताए । उनले मानवीय अधिकार र शान्तिका विषयमा सरकार सक्रिय हुन नसक्दा समाज दिनप्रतिदिन अशान्तितिर गईरहेको बताए ।
जातजाति, भाषा, क्षेत्र, मौलिकताका आधारमा पाईने अधिकारका कुरालाई नैतिकरुपमा पूर्ण तरिकाले पालना गर्नु सबैको मुख्य दायित्व भएको भन्दै उनले राज्यका कमजोरीहरुलाई आम नागरिकले आलोचना गर्न पाउनुपर्ने बताए । जनताले सरकार र जनप्रतिनिधिलाई आलोचना गर्न पाउनुपर्ने उनले माग राखे ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपालीले पछिल्लो समय राज्यले सञ्चारलाई कुण्ठित गरेकै कारणले पनि समाजमा अशान्ति फैलिदै गएको बताए । सरकारले प्रत्याभूति गरेका नीति, नियमसँगै मानवअधिकारका कुराहरुलाई अनिवार्य रुपमा लागू गर्नुपर्ने बताए । आफ्नो अधिकार पाउन अर्काको अधिकार हनन् गर्ने बानीका कारण अशान्ति फैलिदै गएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी निर्मल नेपाली, सरसफाई अभियान्ता विमल रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, एन प्याव्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकी, नेपाली काँग्रेसका नेता सुरेन्द्र खड्का, रोटरी क्लव तुलसीपुरका अध्यक्ष देवबहादुर केसी, पूर्व प्रहरी संगठनका पूर्व अध्यक्ष बसन्त पाण्डे,
जनप्रतिनिधि सावित्रा गुरुङलगायतले न्यायको पक्षलाई सबैले आत्मसात गर्दै जानुपर्ने बताए । संस्थाले विगत जस्तै आगामी दिनमा पनि शान्ति सुरक्षा, अधिकारका पक्षमा निरन्तर काम गर्दै जानुपर्ने बताए । मानवअधिकारकर्मी स्वतन्त्र भएर काम गर्ने वातावरण निर्माण गर्न अनिवार्य रहेको बताउँदै उनीहरुले नकारात्मक सोचको अन्त्य गर्दै समाजलाई सुशासन, शान्त र सभ्य बनाउन जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *