व्यवहारिक शिक्षा नीति

सम्पादकीय

समग्ररुपमा शिक्षाको विकास हुन सकेमात्रै समृद्धिका आशा पूरा हुन्छन् अर्थात नागरिक शिक्षित भए भने मात्रै अन्य विकासका लागि सम्भावनाका अवसर खुल्दै जान्छन् । देशका सबै नागरिक शिक्षित हुनुपर्दछ । त्यतिमात्र नभई उनीहरुले व्यवहारिक शिक्षा पाउनुपर्छ ।
नेपालमा अहिले व्यवहारिक शिक्षाको खाँचो छ तर नेपालको शिक्षा प्रणाली व्यवहारिक नभएको भन्ने पटक—पटक विभिन्न समयमा गुनासाहरु पनि आउने गरेका छन् ।
शिक्षा प्रणाली व्यवहारिक नहुँदा अहिले पनि धेरै युवा काम कुरो एकातिर झोला बोकी ठिमितिर भनेझैं शिक्षाको उद्देश्य नेपालीको दैनिकीसँग जेठा–बुहारीको जस्तो सम्बन्ध छ ।
नेपालमा शिक्षा नीति ठिक नभएको कि, कार्यान्वयन गर्ने पक्षले सहिरुपमा कार्यान्वयन गर्न नसकेको भन्ने प्रश्नहरु पनि छन् तर जेहोस् नेपालमा विगतदेखि नै व्यवहारिक भन्दा पनि सैद्धान्तिक रुपमा शिक्षण सिकाई हुने गरेकाले व्यवहारिक शिक्षाको आवश्यक रहेको शिक्षाका सरोकारवालाले बताउँछन् ।
अझ भनौं नेपालको शिक्षा नीति नेपालकै संस्कृति सुहाउँने खालको नहुँदा शैक्षिक उपलब्धि आउन सकेको छैन् । शिक्षाको सुधारका लागि सरकारी तवरबाट वर्षेनी अरबौं रकम खर्च हुने गरेको छ तर भनेजस्तो शिक्षामा गुणस्तर आउन सकेको छैन् ।
शिक्षाको गुणस्तरियता अर्थात् सुधारका लागि अहिले राष्ट्रिय शिक्षा विधेयक २०७५ छलफलको क्रममा रहेको छ । संसदमा टेवल भएको शिक्षा विधेयक अर्थात् अब आउन लागेको शिक्षा नीति व्यवहारिक, समय सापेक्ष हुन आवश्यक छ ।
आउन लागेका विधेयकले व्यवहारिक रुपमै आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य गर्न सक्नुपर्छ भने निजी लगानीका विद्यालयलाई मुनाफा नलिने सामाजिक संस्था वा कम्पनीका रुपमा रुपान्तरण गर्न सक्ने हुनुपर्दछ ।
कतिपय कुराहरु कागजी पानामा मात्रै पनि सीमित हुने गरेको छ । नीति सही हुँदाहुँदै पनि कार्यान्वयन गर्ने पक्ष फितलो हुने गरेको छ । देश संघीय व्यवस्थामा गएसँगै शैक्षिक सुधार लागि बन्न लागेको नीति तीनवटै सरकारले कार्यान्वयन गर्नुपर्ने देखिन्छ । व्यवहारिक शिक्षा कायम गरेर अबको शिक्षा उपलब्धिमूलक पनि बनाउनुपर्छ ।
शिक्षा नीति कार्यान्वयनका लागि सरकारको मात्रै प्रयासभन्दा पनि सरोकारावाला निकाय गम्भीर बन्न आवश्यक छ । अहिलेकोे अवस्थामा विद्यालयको शैक्षिक सुधारका लागि कुन तहले पहल गर्ने भन्ने अन्यौल कायमै रहेको छ ।
त्यसैले सरकारले संसदमा टेबल गरेको शिक्षासम्बन्धी नयाँ विधेयक कार्यान्वयनमूखी हुनुपर्छ । नेपालमा धेरै नियम कानुन बने तर व्यवहारमा लागू नगर्ने संस्कार छ । कतिपय नीति व्यवहारिक रुपमा पनि चुनौति देखिन्छन् । नीति बनाउने मात्र नभई कार्यान्वयनमा ध्यान दिउँ र व्यवहारिक नीति बनाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *