Friday, March 29, 2024
Homeफिचरव्यवस्थित भयो तरकारी मण्डी

व्यवस्थित भयो तरकारी मण्डी

- Advertisement -spot_img

तुलसीपुर, २३ मंसिर । तुलसीपुरमा व्यवस्थित तरकारी तथा फलफुल कृषि बजार सञ्चालनमा आएको छ । बजारक्षेत्रमा छरिएर रहेका कृषि उपजलाई एकीकृत गर्नका लागि तरकारी बजार केन्द्र निर्माण भएपछि तरकारी व्यवसाय व्यवस्थित भएको हो ।
नगर नजिकै सञ्चालन हुँदै आएका मण्डी अहिले आधुनिक तथा व्यवस्थित रूपमा तुलसीपुर सेन्टर माविको जग्गामा सञ्चालन भएको हो । अहिले सुविधा सम्पन्न भौतिक पुर्वाधार सम्पन्न अवस्थामा व्यवसाय सञ्चालन गर्न पाउँदा तरकारी तथा फलफुल व्यवसायीहरू समेत खुशी भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका र तरकारी तथा फलफुल व्यवसायीहरूको रू १ करोड ८० लाख लागतमा आधुनिक तरकारी तथा फलफलु कृषि बजार केन्द्र निर्माण भएको हो ।
सुविधा सम्पन्न भौतिक संरचना, फराकिलो ठाउँ, सडक तथा यातायातको सहजता, सुरक्षालगायतका सुविधासहितको भवनमा व्यवसाय गर्न पाउँदा लामो समयदेखि टहरामा व्यवसाय गर्दै आएका तरकारी व्यवसायीहरू खुशी भएका हुन् ।

गत मंसिर ८ गतेदेखि नयाँ भवनमा तरकारी व्यवसाय सुरू गरेका तरकारी तथा फलफुल व्यवसायी संघ तुलसीपुरका अध्यक्ष झुपलाल खड्काले अहिले व्यवसाय सञ्चालनका लागि सबैभन्दा उपयुक्त ठाउँ उपलव्ध भएको बताए ।
‘साना र साँघुरा टहरामा व्यवसाय गर्दा हामीलाई एकदमै अप्ठ्यारो भएको थियो’ उनले भने– ‘अहिले यहाँ आएपछि सजिलो भएको छ, यसमा हामी सबै खुशी भएको छौँ ।’
उनले सञ्चालनमा आएको बजार केन्द्रले यहाँको बजार व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । विगत लामो समयदेखि साँघुरो सडक छेउमा रहेर व्यवसाय गर्दा तरकारी बिक्री वितरण, यातायात व्यवस्थापन, तरकारी ओसारपसारमा समेत समस्या झेल्नु परेको उनको अनुभव छ ।
तरकारी व्यवस्थापन र भण्डारका लागि समस्या झेल्दै आएका व्यवसायीहरू अहिले बजार केन्द्र स्थापना भएपछि आफूहरूलाई व्यवसाय गर्न सहज भएको बताउँछन् ।
व्यवसायी प्रकाश सापकोटाले अहिलेको तरकारी बजारले बजारीकरणमा कुनै समस्या नपारेको बताउँछन् । तरकारी व्यवस्थापनमा कुनै समस्या नभएको बताउँदै उनले बजारमा छरिएर रहेका सबै व्यवसायीहरूलाई एकीकृत गर्न सके एकदमै राम्रो हुने उनको भनाइ छ ।
विद्यालयको करिब १० कठ्ठा जमिनमा उक्त बजार केन्द्र निर्माण हुँदा आफूहरूलाई समेत सहज भएको उपभोक्ताहरूको भनाइ छ । पुरानो तरकारी बजारमा किनमेल गर्न जाँदा झेल्नु परेको समस्या अहिले हटेर गएको उपभोक्ता तुलसीपुर–१२ निवासी जम्बु चौधरीले बताइन् ।


एकीकृत गर्न चुनौती

सम्पूर्ण व्यवसायीहरूलाई लक्षित गर्दै कृषि बजार केन्द्र स्थापना गरिएको भएपनि बजार क्षेत्रका सम्पूर्ण व्यवसायीहरूलाई एकीकृत गर्न चुनौती देखिएको छ । सबै क्षेत्रका किसानहरूको व्यापार, व्यवसायमा समेत सहजता ल्याउनका करिब डेढ कठ्ठा जमिनमा ओपन हाउस निर्माण गरिएको छ ।
तर खुला रूपमा व्यवसाय गर्दै आएका कृषि व्यवसायीहरू चोक तथा सडकमै बसेर फलफुल तथा तरकारी बिक्री वितरण गर्दा आफूहरूलाई यसको व्यवस्थापनमा समस्या आएको खड्काले उनले बताए ।
उपमहानगरको समन्वयमा पटक–पटक खुला व्यवसाय नगर्न आग्रह गरेको भएपनि अहिलेसम्म त्यस्ता व्यवसायीहरूलाई एकीकृत गर्न समस्या हुँदै आएको उनले बताए । ‘ठाउँ–ठाउँमा बसेर तरकारी तथा फलफुल बेच्नुभन्दा यहाँ आएर तरकारी बेचे उनीहरूलाई पनि फाइदा हुन्थ्यो’ उनले भने–
‘यो बजार केन्द्र सबै किसानहरूका लागि हो, हामी सटरमा व्यवसाय गर्नेहरूका लागि मात्र होइन् ।’ गाउँ घरबाट ल्याईएका तरकारीहरू जुनसुकै समयमा पनि ल्याएर खाली स्थानमा राखेर बिक्री गर्न सकिने उनी बताउँछन् ।
जसले गर्दा किसान, तरकारी व्यवसायी र उपभोक्तालाई मात्र नभई सिङ्गो उपमहानगरबासीहरूलाई समेत फाइदा पुग्ने उनको भनाइ छ ।
खुला स्थानमा बसेर तरकारी तथा फलफुल बिक्री वितरण नगर्न आग्रह गर्दै उनले बजार व्यवस्थापनमा सबैले उपमहानगरलाई सहयोग गर्न जरूरी रहेको बताए ।
केही दिन पहिलेदेखि सञ्चालनमा आएको उक्त तरकारी तथा फलफुल बजार केन्द्रले कुनै पनि व्यवसायीहरूको बजारीकरणमा नकारात्मक प्रभाव नपार्ने व्यवसायीहरूको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here