व्यवसायीलाई कर शिक्षा तथा अन्तरक्रिया

मुख्य खबर

घोराही, ४ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
व्यवसायीहरूलाई व्यवसाय गर्दा सञ्चालन गर्दा अपनाउनुपर्ने प्रक्रिया, लेखा राख्दा ध्यान दिनुपर्ने कुरा, जरिवाना पर्ने अवस्था, कर नीतिलगायतका विषयमा जानकारी दिएको थियो । कार्यक्रममा कर अधिकृत भोजप्रसाद खनालले जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय तुलसीपुरका निमित्त प्रमुख लक्ष्मण सिंह श्रेष्ठले करदाता र कर प्रशासनबीच सुमधुर सम्बन्ध रहनुपर्ने बताए । दुबै पक्षहरूको सुमधुर सम्वन्धले मात्र राजस्व संकलन गर्न सहज हुने उनको भनाइ रहेको छ ।
विना दर्ता सञ्चालन भएका व्यवसायीहरूलाई सबै मिलेर दर्ता प्रक्रियामा ल्याउनुपर्ने उनको भनाइ रहेको छ । व्यवसायीहरूलाई आइपर्ने समस्या समाधानका लागि आफूहरू तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)ले राज्यले कर रहरले तिर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । यसका लागि करमैत्री वातावरण बनाउनु पर्ने उनको भनाइ रहेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले मजदुरहरूले प्यान नम्वर बनाउन नमान्दा समस्या भएको व्यवसायीहरूले गुनासो गरेका थिए । यसले गर्दा आफूहरू समस्यामा परेको बताएका थिए ।
कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *