शान्तिनगर, ३ असार । दाङमा एक युवाले व्यक्तिगत लगानीमा खेल मैदान निर्माण गरेका छन । बबई गाउँपालिका वडा नं ७ कालितराका टिकाराज वलीले करिब दुई लाख रुपैयाँको लगानीमा फुटबल खेल मैदान निर्माण गरेका हुन् ।
गाउँमा उचित खेल मैदान नहुँदा युवा खेलाडीहरुलाई खेल खेल्न समस्या भएकाले आफ्नै लगानीमा खेल मैदानको निर्माण गरेको उनले बताए । उनले पुरानो फुटबल खेल मैदान बाढी पहिरोका कारण बिग्रिएको भएपनि लामो समयसम्म कसैले वास्ता नदेखाएपछि व्यक्तिगत लगानीमा आफूले खेल मैदान निर्माण गरेको बताए ।
‘हाम्रो वडामा गतिलो खेल मैदान छैन, खेलप्रति चासो राख्ने युवाहरू खेल मैदानको अभावमा पछाडि पर्ने अवस्था छ’, वलीले भने ‘सम्बन्धित निकाय, जनप्रतिनिधिहरुले कुनै चासो नदिएकाले आफूले युवाहरुलाई खेलमा अगाडि बढाउन यस्तो काम गरेको हुँ ।’
पटक–पटक फुटबल खेल मैदान निर्माण गर्न युवाहरुले माग गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले आफ्नो गाउँ ठाउँका भाइ भतिज युवाहरुको खेलप्रति हौसला बढाउन सक्दो प्रयास गरेको उनको भनाई छ ।
फुटबल खेल मैदान एक सय मिटर लम्बाई र साठी मिटर चौडाई बनाइएको छ । यस मैदानमा स्थानीय खेल मात्र नभएर प्रतिस्पर्धात्मक ठूलो खेल राख्न पनि सकिने वलीले बताए ।
आफू पनि पूर्व खेलाडी भएकाले आफ्नो गाउँ ठाउँका युवाहरुले खेलमा राम्रो प्रगति गरेको हेर्न मन वलीलाई रहेको छ । गाउँमा राम्रो फुटबल खेल मैदान निर्माण भएपछि अहिले स्थानीय युवाहरू खुशी भएका छन् ।
खेल खेल्नका लागि मैदानको अभाव खेप्दै आएका युवाहरु अब ढुक्कसँग खेल खेल्न पाउने भएका छन् । युवाहरुलाई मध्यनजर गर्दै बाढी पहिरोले बिगारेको खेल मैदान पुनः फुटबल खेल्न लायक बनाईदिएको भन्दै स्थानीय माधव खड्काले खुशी व्यक्त गरे । युवाहरुमा खेलप्रति अझ हौसला बढेको उनको भनाई छ ।
