वीरेन्द्र चोकमा बढी वायु प्रदूषण

मुख्य खबर समाज

तुलसीपुर, ६ भदौ । तुलसीपुर उपमहानगरपालिकामा वायु प्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा.मिलोस र नेपाली नागरिक डा.चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिक स्थलहरुमा विशेष प्रविधिको प्रयोग गरेर प्रदूषण मापन गरिएको समूहका सदस्य चिरञ्जीवि खड्काले जानकारी दिए ।
उनले वायु प्रदूषणको प्रारम्भिक अध्ययन त्यति आशालाग्दो नभएको बताउँदै विस्तृत अध्ययनको पूर्ण प्रतिवेदन केही समयपछि ल्यावमा परिक्षण गरेर सार्वजनिक गरिने बताए । अध्येता मिलोसले धुलो, धुवाँ र घरबाट निस्कने फोहरका आधारमा वायु प्रदूषण मापन हुने बताए । तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययन अनुसार वीरेन्द्र चोकमा वायु प्रदूषणको प्रभाव सबैभन्दा बढी देखिएको छ । पुराना गाडीबाट निस्कने धुवाँले धेरैजसो वायु प्रदूषण भइरहेको छ, अब पुराना गाडीहरु विस्थापनका लागि सोच्नुपर्दछ, मिलोसले भने, वायु प्रदूषण घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्नमा ध्यान दिनुपर्ने हुन्छ । विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरुले घरको छतमा विरुवा लगाउने गरेको बताउँदै मिलोसले नेपालमा बिरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको कुरा बताए । वायु प्रदूषणका दृष्टीले नेपाल खतरायुक्त देश भएको बताउँदै प्राध्यापक पावेलले जनतामा यसका बारेमा चेतना जागृत गर्नु आवश्यक रहेको बताए । विश्वमा प्रति क्युविक ५० माइक्रो मिटरसम्मलाई सामान्य अवस्था मान्ने गरेकोमा तुलसीपुरमा तीनसय माइक्रोमिटरसम्म वायु प्रदूषणको अवस्था रहेको देखिएको छ । ‘बाटो र घर सफा हुँदैमा वायु प्रदूषणको अवस्था राम्रो छ, भन्ने हुँदैन’ प्राध्यापक पावेलले भने । यसैबीच तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा वायु प्रदूषणको अवस्थामा बारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ । उनीहरुले वायु प्रदूषण विकराल बन्दै गएकाले न्यूनीकरणका लागि सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहलकदमी लिने बताए । उनले तुलसीपुर नगरलाई वायु प्रदूषणमुक्त बनाउनका लागि नगरका विभिन्न गल्लीहरुमा विरुवा लगाउने कामलाई निरन्तरता दिएको बताए । हामीले गरेको फोहरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरामा बारेमा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन, नगर प्रमुख पाण्डेले भने । कार्यक्रममा बोल्दै सोनापुर सिमेन्टका प्रबन्धक रेमन्त ढकालले उद्योग वरपर वायु प्रदूषण नहुनका लागि उद्योगले विभिन्न यन्त्रको प्रयोग गरेको जानकारी दिए । हामीले प्रदूषण विज्ञ राखेर प्रदूषण न्यूनीकरणको लागि काम गरिरहेका छौँ । कृषि कलेजका प्रमुख सहदेव शाहले वायु प्रदूषण मानव स्वास्थ्यका लागि संवेदनशील भएकाले यसको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *