विश्वभरका लगानीकर्तालाई लगानी गर्न आह्वान

मुख्य खबर राजनीति समाज

लगानी सम्मेलन शुरु
काठमाडौँ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । राजधानीमा शुक्रबारदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए ।
नववर्ष २०७५ को पहिलो दिन रारा तालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो¥याउन सकिने आशावादी साेंच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताए ।
सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ । शुक्रबारदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकारसमेत गठन भएको उल्लेख गर्दै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनासमेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र बनेको बताए ।
नेपालले नयाँ यात्रा शुरु गरेको भन्दै घरेलु तथा बाह्य लगानीकर्तालाई समेत सहज एवं सरल वातावरण बनेको उनको भनाई छ । सहज करको दर तयार पारिएको, लगानीकर्ताको हितलाई ध्यानमा राखेर हालै मात्र नयाँ कानून तयार गरिएको, चीन र भारतजस्ता ठूला देशको बीचमा रहेका कारण पनि ठूलो बजारको सम्भावना भएको भन्दै उनले लगानी गरी उच्च प्रतिफल हासिल गर्न आग्रह गरे ।
विदेशी लगानीकर्ताले जुन क्षेत्रमा लगानी गर्न चाहन्छन् सोही क्षेत्र उपलब्ध गराउन आफू तयार रहेको भन्दै अर्थमन्त्री डा खतिवडाले स्थायी सरकार, नीतिगत तथा संरचनागत सुधार गरी लगानीकर्तालाई सहज वातावरण बनाइएका कारण नेपाल लगानीका लागि योग्य रहको बताए ।
एशियाली विकास बैंकका उपाध्यक्ष क्षसिजिन चेनले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताए ।
विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताए ।
सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिक सम्बन्धीमन्त्री यू थाउङ टुनले दक्षिण एशियामा पछिल्लो समयमा आर्थिक वृद्धि दर उल्लेख्य रुपमा बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सफलता हासिल गर्दै आएको बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा रामशरण महतले विसं २०४६ को परिवर्तनपछि नेपालमा निजी क्षेत्रलाई लगानीका लागि अभिप्रेरित गरिएको तथ्य पेश गर्दै पछिल्लो दिनमा निजी क्षेत्रले हवाई, दुरसञ्चार तथा ऊर्जा क्षेत्रमा ठूलो सफलता हासिल गरेको बताए ।
नेपालले विगतका दुई दशकमा राजनीतिक अस्थिरता, भूकम्पजस्ता ठूलो समस्या भोगेको उल्लेख गर्दै ती समस्याबाट बाहिर निस्केर नेपाल अहिले नयाँ स्थानमा आइपुगेको उल्लेख गरे ।
आज शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै संघीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’समेत संशोधन गरिसकेको छ ।
सम्मेलनमा ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन् । मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ ।
त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ । बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूची तयार गरिएको छ । सम्मेलनमा नेपाल सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, लगानीकर्ता, गैरआवासीय नेपाली, निजी क्षेत्रलगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *