विभत्स दुर्घटना

सम्पादकीय

दाङमा विभत्स तथा दर्दनाक दुर्घटना भएको छ । दुर्घटनाले भविष्यमा सपना बोकेका कलिला मुनाहरुलाई बाटोबाटै चुडेको छ । दाङको घोराहीमा रहेकोे कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाउनु परेको छ । सडक सुरक्षा अपनाउन नसक्दा पटक– पटक यस्ता दुर्घटनाहरुले दाङलाई पिरोली रहेको छ । विभिन्न जिल्लाबाट अध्ययनका लागि दाङ आएका २० वर्ष मुनीका विद्यार्थी र शिक्षकहरुले अकालमा ज्यान गुमाउनु परेको छ । राप्ती राजमार्गको तुलसीपुर– सल्यान सडकखण्डको राम्रीमा भएको यो विभत्स दुर्घटनाले दाङ दुई दिनदेखि स्तब्ध छ । यस्ता दर्दनाक र दुःखदायी घटना हुन नदिन सबै आफ्नो क्षेत्रमा सहज हुनसके आगामी दिनमा सवारी दुर्घटनामा सजक हुने अवस्था आउला ।
राप्ती राजमार्गमा विगतदेखि नै ठूला–ठूला दुर्घटना हुँदै आएका छन् । पहाडी, घुमाउरो र साँघुरो बाटोका कारण यो सडकमा पटक–पटक दर्दनाक दुर्घटनाहरु भइनै रहेको देखिन्छ । केही वर्ष पहिले यात्रुबाहक बस दुर्घटनामा ४२ जनाले ज्यान गुमाएका थिए । भने बर्षेनी साना ठूला दुर्घटना हुँदै आएका छन् । यो अवस्थामा फेरी शुक्रबार एउटा विभत्स तथा दर्दनाक दुर्घटना हुन पुगेको छ । एउटा दुखद् मर्मस्पर्शी दुर्घटनाले स्तब्ध मात्रै बनाएको छैन । ठूलो मानवीय क्षति पनि निम्त्याएको छ । नहुनु पर्ने घटना घटी सकेपछि त्यसलाई शक्तिमा बदलेर सहनु शिवाय अब केही बाँकी छैन । यो पीडाको घडीलाई छिचोल्नै पर्छ । दाङका केही दिनदेखि दैनिकजसो सवारी दुर्घटनाहरु भइरहेका छन् । केही दिन अघि मात्रै एउटा विवाहको जीप दुर्घटना हँुदा ६ जनाको ज्यान गएको थियो । अहिले पनि राम्री दुर्घटनाले २३ जनाको ज्यान लिएको छ । १४ जना घाइते अवस्थामा छन् । दाङका ६ जना, जुम्लाका ११ जना, बझाङ बाजुरा, डोल्पा, जाजरकोट, रुकुमलगायतका जिल्लाका ब्यक्तिहरुले अकालमा दुर्घटनामा परी ज्यान गुमाउन पुगेका छन् । घटनाले आफन्त र परिवारको मन विक्षिप्त हुनु स्वभाविक नै हो । पछिल्लो समय बढी नै दुर्घटना भइरहेका छन् । प्रहरीको तथ्यांकले पनि यसलाई पुष्टी गरेको छ । राज्यले यसको नियन्त्रणको लागि नयाँ उपायको पहिचान गरी अवलम्बन गर्न सकेमात्रै पनि दुर्घटनालाई न्यूनीकरण गर्न सकिने र ठूला घटना हुनबाट बचाउन जोगिन सक्ने अवस्था हुन्छ । सडकको सामान्य सुरक्षा अपनाउदा मात्रै पनि ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । राज्यले दुर्घटना न्यूनीकरण गर्न आवश्यक छ । बर्षेनी सवारी दुर्घटनामा सयौको ज्यान जाने गर्दछ । यसलाई राज्यले विशेषरुपमा सोच्नै पर्छ । दुर्घटना न्यूनीकरणको बाटो अबलम्वन गर्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *